2026/04/18

प्रधानन्यायाधीशमा विश्वम्भरप्रसाद श्रेष्ठ नियुक्त, भोलि शपथ

Admin

२०८०-०५-०४

496
Shares

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले प्रधानन्यायाधीशमा विश्वम्भरप्रसाद श्रेष्ठलाई नियुक्त गरेका छन् । संवैधानिक परिषद्बाट प्रधानन्यायाधीशमा सिफारिस गरिएका सर्वोच्च अदालतका कायममुकायम प्रधानन्यायाधीश श्रेष्ठलाई संसदीय सुनुवाइ समितिको सोमबारको बैठकले सर्वसम्मत अनुमोदित गरेपछि राष्ट्रपति पौडेलले नियुक्त गरेका हुन् । 

राष्ट्रपति कार्यालयका प्रवक्ता शैलजा रेग्मी भट्टराईका अनुसार राष्ट्रपति पौडेलले श्रेष्ठलाई प्रधानन्यायाधीशमा नियुक्त गरेका हुन् । ‘राष्ट्रपति रामचन्द्र पौडेलले नेपालको संविधानको धारा १२९ को उपधारा ९२० बमोजिम संवैधानिक परिषद्को सिफारिसमा सर्वोच्च अदालतका कायम मुकाम प्रधानन्यायाधीश विश्‍वम्भरप्रसाद श्रेष्ठलाई नेपालको प्रधानन्यायाधीश पदमा नियुक्त गर्नुभएको छ,’ प्रवक्ता भट्टराईले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

प्रधानन्यायाधीश श्रेष्ठको शपथ मंगलबार तय भएको छ । राष्ट्रपति कार्यालय स्रोतका अनुसार प्रधानन्यायाधीशको शपथ दिउँसो १ बजेर ४५ मिनेटमा हुने भएको छ ।

श्रेष्ठले १४ महिना सर्वोच्च अदालतको नेतृत्व गर्नेछन् । ०१६ असोज २० मा डोटीको सिलगढीमा जन्मेका श्रेष्ठ ०३८ सालमा शाखा अधिकृतका रूपमा न्याय सेवामा प्रवेश गरेका थिए ।

त्यसको ६ वर्षमै जिल्ला न्यायाधीश भएका उनी ०६२ मा तत्कालीन पुनरावेदन अदालत बागलुङको न्यायाधीश भए । ०७० मा पुनरावेदन अदालत पोखराको कायममुकायम मुख्य न्यायाधीश भएका उनी ०७१ मा पुनरावेदन अदालत हेटौंडाको मुख्य न्यायाधीश भएको करिब दुई वर्षपछि ०७३ साउन १७ मा सर्वोच्च अदालतमा नियुक्त भएका हुन् ।

उनले ०८१ असोज २० मा ६५ वर्षे उमेर हद्दका कारण अवकाश पाउने छन् । संविधानमा प्रधानन्यायाधीश हुनका लागि सर्वोच्च अदालतमा कम्तीमा तीन वर्ष न्यायाधीश भएको हुनुपर्ने योग्यता तोकिएको छ ।

496
Shares

©News Kunja 2021-2026. All rights reserved.