2026/10/26

बजारमा आरन व्यवसायले चम्किदै तारा

Admin
Admin

२०८०-०५-१०

732
Shares
बजारमा आरन व्यवसायले चम्किदै तारा

भदौ १० , अछाम
एक हातमा हतौडा , अर्को हातमा फलाम । हातैभरी कालो मोसो , अनुहारभरी पसिना । कोइला बनाउनका लागि छेउमै सल्लाका बोक्रा र दाउरा । अनी अर्कोतिर हँसिया , कुटो , कुदालोजस्ता घरायसी औजारको चाङ । यो दृश्य हो  सदरमुकाम मंगलसेन बजारको माथिल्लो क्षेत्रमा पर्ने  एउटा पुरानो घरको  ।  त्यही घरमा  एक वर्षदेखि बस्दै आइरहेका ४५ वर्षीय तारा विक दम्पत्ती बजारमा भएका अन्य व्यवसायभन्दा फरक व्यवसाय गर्दै आइरहेका छन् । उनको यो काममा श्रीमती झुमा विक पनि सहयोगीको भुमिकामा छन् । आरन व्यवसायकै रुपमा दर्ता गरेर बजार क्षेत्रमा काम गर्ने तारा पहिलो व्यक्ति हुन् । 


१३ वर्षको उमेरदेखि नै रोजगारिको सिलसिलामा भारतका विभिन्न सहरमा उर्जाशिल समय बिताएका ताराले आफ्नो पुरख्यौली पेशालाई अंगालेका छन् ।  जीवनको मध्यम उमेरमा आइपुग्दा उनले मंगलसेन नगरपालिका ४ –मा रहेको डुंग्रा टोलमा गर्दै आएको काम मंगलसेन बजारमा सारे । उनी व्यापारको केही नयाँ योजना बनाएर भने मंगलसेनमा आएका होइनन् । घरपरिवारको सामान्य झमेलाबाट मुक्त हुनका लागि बजारमै पर्ने पुरानो झुपडीमा मासिक एक हजार भाडा तिर्ने गरी आएका हुन् । ज्याला मजदुरी गरेर महिनाको एक हजार भाडा र श्रीमान श्रीमतीसहित एक छोराको जीविकोपार्जन गर्न सकिन्छ भन्ने अनुमानका साथ बजारमा बस्न सुरु गरेका तारा अहिले सोचेभन्दा राम्रो कमाइ गरिरहेका छन् ।


‘ठूलै लगानी गरेर बजारमा व्यवसाय गर्ने सोच थिएन । बिहान साँझकै गुजारा चलाउन नसक्ने मैले ठूलो लगानी लगाउन सक्दैन थिएँ’ व्यवसाय सुरु गर्दाका दिन सम्झदै ताराले भने ,‘बजारमा पुरानो घर पाएपछि ४ वटा बाख्रा पनि घरबाट ल्याएर आएका थियौं । जसोतसो गुजारा चलाउनु पर्ला भन्ने सोचेको थिए । मंगलसेन वरिपरी खेतिपाती गर्ने धेरै देखँे । तर आरन चलाउने कोही देखेन । त्यसैले आफूसँग भएका सामानलाई प्रयोग गरेर आरन चलाउन सुरु गरेँ ।’


आरन व्यवसाय सुरु गर्दा बजार क्षेत्रका धेरै मान्छेले अचम्म मानेको उनको अनुभव छ ।  कतिले त उनलाई गाउँबाट बजारमा आएर पनि पुखर््यौली काम छोड्न नसकेको भन्दै होच्याउनेसमेत गरे । तर उनी विचलित भएनन् । ‘ कि त पढेलेखेको भए जागिर पाउँथे , अन्य काम गर्थे । आफूसँग अरु केही सिप छैन । जे सिप थियो त्यही काम सुरु गरेँ’ ताराले भने ,‘विश्वकर्मा समुदायले मात्रै आरान चलाउने परम्परा थियो । त्यो अहिले धेरै गाउ“मा लोप भइसकेको छ ।  यो त हाम्रो पहिचान पनि हो नी । काम गर्नलाई अप्ठ्यारो मान्नु हुँदैन ।’ उनकाअनुसार पहिले घरायासी औजार बनाइ दिएबापत धान, गहँु, कोदो , मकै , दाल जस्ता अन्न लिने चलन थियो । एक विश्वकर्माले कुन कुन परिवारको आरनको काम गर्ने भनेरसमेत छुट्याउने गरिन्थ्यो । त्यसरी सुरु भएर चलेको आरान व्यवसाय अहिले ‘काम गर्ने नगद लिने’ अवस्थामा आइपुगेको छ । ‘ अहिले सानो कुटो , हँसिया , कोदालो कारेको ३० रुपैंया , ठूलो आकारको ५० रुपैया , बञ्चरो , खुडा ,तरबार कारेको एक सय रुपैंया दिने गरेको छु । खुकुरी , हँसिया , खुडा पनि बनाउँछु ’ उनले भने ,‘ मैले सानै उमेरदेखि बुबा र बाजेले काम गरेको देखेर सिकेको हुँ, अहिलेका पुस्ताले सिक्न चाहँदैनन् सिकेर खेर जाँदैन, यसबाट पनि पैसो कमाउन सकिन्छ ।’


 एक दिनमा १५ सयदेखि २ हजार कमाइ गर्दै आएका ताराका ग्राहक मंगलसेनभित्रका मात्रै छैनन् । पंचदेवल बिनायक  , कमलबजार , ढकारी तुर्माखाँदसम्मका मान्छे उनकोमा आउ“छन् । ‘मैले व्यवसाय सुरु गरेको प्रचारप्रसार कहिंकतै गरेको छैन । सुरुमा एक मान्छे आएपछि  उसले घरमा सुनाउने , गाउँमा भन्ने , ओल्लोपल्लो गाउका आफन्त इष्टमीत्रलाई भन्ने गर्दा रहेछन् । त्यसरी नै ग्राहक आउने गरेका छन् ’ उनले भने , ‘पहिले जस्तो हिंडेरै आउनु पर्ने भए त त्यति टाढाबाट कसरी आउँथे । मंगलसेन आउने काम भइरहन्छ । गाडीमा कुटो कोदालो , हसियाजस्ता सामान बोकेर ल्याउँछन् , दिनभरी आफ्नो काम गर्छन् । साँझ लिएर जान्छन् ।’


ताराले  आरान व्यसाय सुरु गरेको थाहा पाएपछि उनकोमा ग्राहक बन्दै आएका कमलबजार नगरपालिका – ६ का दिलबहादुर शाहीले आफूलाई पनि सहज भएको बताए । ‘थोरैको जीवनशैली बदलिए पनि गाउँमा हामीजस्ता धेरै परिवारको मुख्य पेशा अहिले पनि कृषी नै हो । तर गाउँमा खेतबारीका लागि औजार बनाइ दिने मान्छे अहिले पाउँदैनन्’ उनले भने ,‘विश्वकर्मा समुदायका पुराना मान्छेले आरनको काम गर्दै आएका थिए । तर अहिलेको पुस्ताले त्यतातिर चासो दिदैनन् । अन्य समुदायलाई यसबारे ज्ञानै छैन ।’ मंगलसेनमा व्यवसायीक रुपमै आरनको काम गर्दा  धेरै किसानलाई राहत पुगेको उनले बताए ।
 

732
Shares

धेरै हेरिएका

© News Kunja 2021-2026. All rights reserved.

News Kunja