2026/06/06

भलिबल खेलाडीलाई पहिलो पटक मासिक पारिश्रमिक

Admin

२०८०-०५-१९

502
Shares

काठमाडौं । राष्ट्रिय महिला तथा पुरुष भलिबल टोलीमा रहेका खेलाडीहरूले मासिक पारिश्रमिक पाउने भएका छन् । नेपाली खेलकुदको इतिहासमा भलिबल खेलाडीले पहिलो पटक मासिक पारिश्रमिक पाएका हुन् । 

राष्ट्रिय टोलीमा रहेका १२ पुरुष र १२ जना महिला खेलाडीलाई मासिक रुपमा जनही पाँच हजार रुपैयाँका दरले पारिश्रमिक प्रदान गर्न लागिएको जानकारी मंगलबार आयोजित कार्यक्रममा नेपाल भलिबल संघले दियो । 

हाल अमेरिकामा रहेका भलिबका पूर्वखेलाडी, भलिबल प्रेमी र अन्य सहयोगीसँगको सहकार्यमा संघले खेलाडीलाई मासिक पारिश्रमिक उपलब्ध गराउन लागेको हो । यसका लागि हाल अमेरिकामा रहेका नेपाली भलिबल टोलीका पूर्वखेलाडी राम श्रेष्ठले समन्वय गरेको पनि संघले जनाएको छ । 

संघका अनुसार, अमेरिकामा रहेका सहयोगीहरूले भलिबल खेलाडीका लागि पठाएको तीन महिनाको पारिश्रमिक संघको खातामा आइसकेको छ । सोही अनुसार संघले खेलाडीलाई सेप्टेम्बर, अक्टोबर र नोभेम्बर महिनाको पारिश्रमिक एकमुष्ट उपलब्ध गराएको हो । 

संघले आगामी दिनमा खेलाडीको सुविधामा थप वृद्धि गर्दै लैजाने योजना बनाएको पनि संघले जनाएको छ । भलिबल नेपालको राष्ट्रिय खेल पनि हो । हाल नेपालमा क्रिकेट र फुटबलका खेलाडीले मात्र मासिक रुपमा पारिश्रमिक पाउँछन् । 

‘नेपाली भलिबल खेलको इतिहासमा भलिबल टिमका सदस्यहरूले थोरै भए पनि मासिक पारिश्रमिक प्राप्त गरेको यो पहिलो पटक हो । संघको वर्तमान कार्यसमितिले आफ्नो कार्यकालभर खेलाडीलाई यस प्रकारको सुविधा दिलाउन अन्य विभिन्न राष्ट्रमा रहेका भलिबल प्रेमीहरूसँग अझै समन्वयन गर्नेछ । हामीलाई सहयोग गर्ने अमेरिकामा रहेका मनकारी सहयोगी हातहरूलाई नेपाल भलिबल संघ नमन गर्दछ,’ संघका अध्यक्ष जितेन्द्रबहादुर चन्दद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।

 

नेपाल भलिबल संघले यसलाई नेपाली भलिबल इतिहासमै ऐतिहासिक कार्य भएको दाबी गर्दै यसले खेलाडीलाई सहयोग पुग्ने बताएको छ ।

 

502
Shares

©News Kunja 2021-2026. All rights reserved.