2026/04/18

श्रम गन्तव्य मुलुकका राजदूत र कूटनीतिक नियोग प्रमुखसँग छलफल गर्दै प्रधानमन्त्री

Admin

२०८०-०५-२५

469
Shares

काठमाडौं । नेपाली कामदार वैदेशिक रोजगारीमा जाने श्रम गन्तव्य देशमा रहेका नेपाली राजदूत र नियोग प्रमुखलाई सरकारले काठमाडौं बोलाएको छ। 

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको निर्देशनमा विदेशस्थित नेपाली दूतावास तथा कूटनीतिक नियोगका प्रतिनिधिहरूलाई काठमाडौं बोलाइएको हो। प्रधानमन्त्री प्रचण्डले उनीहरूसँग २ दिने बैठक आयोजना गरेका छन्। 

बैठकको अध्यक्षता स्वयं प्रधानमन्त्रीले गर्ने जनाइएको छ। बैठकमा श्रम आप्रवासनका सवालहरू र कूटनीतिक नियोगको भूमिकाका विषयमा छलफल हुने बताइएको छ। 

‘वैदेशिक श्रम स्वीकृतिदेखि कार्यस्थलसम्म नेपाली श्रमिकले भोगेका समस्या र त्यसको समाधानको उपाय निकाल्ने र निष्कर्षलाई निर्णयमा बदल्ने काम बैठकले गर्नेछ,’ प्रधानमन्त्रीको सचिवालय स्रोतले भन्यो। 

बैठकमा विभिन्न माध्यम र रूपमा भइरहेको मानव तस्करीलाई कसरी रोक्ने र श्रम गन्तव्यलाई कसरी सुरक्षित बनाउने भन्नेमा छलफल केन्द्रित हुनेछ।  छलफलमा श्रम तथा रोजगार मन्त्रालय र परराष्ट्र मन्त्रालयको सक्रिय सहभागिता रहने जनाइएको छ।

बैठकले सुरक्षित श्रम गन्तव्यको लागि आवश्यक कानुनी र संरचनात्मक सुधारको बाटो पहिल्याउने बताइएको छ। यस प्रकारको बैठक नेपालमा प्रधानमन्त्रीको पहलमा पहिलो पटक भइरहेको बताइएको छ। बैठक मंगलबार र बुधबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्‌को कार्यालय सिंहदरबारमा चल्नेछ।

469
Shares

©News Kunja 2021-2026. All rights reserved.