काठमाडौं : नेपाल धितोपत्र बोर्डले ब्रोकर कमिसन घटाउने तयारी गरेको छ । यसैबीच, ब्रोकर कमिसनलाई कसरी समायोजन गर्ने भन्ने बारेमा धितोपत्र बोर्डले सरोकारवालासँग छलफल गरिरहेको छ । गएको शुक्रबार बोर्डले ब्रोकर कम्पनीका सञ्चालक, लगानीकर्ता लगायतका सरोकारवाला निकायहरुसँग छलफल गर्यो ।
छलफलमा ब्रोकर कमिसन घटाउनेबारे सहमति भएको छलफलमा सहभागी एक लगानीकर्ताले नेपाली पैसालाई बताए । ‘हामीले ब्रोकर कमिसन घटाउनका लागि विगत लामो समयदेखि माग राख्दै आएका हौं’ उनले भने, ‘अहिले पनि छलफलमा हामीले सकेजति धेरै कमिसन घटाउन माग राखेका छौं ।’
यता, ब्रोकरहरुले भने कमिसन घटाउने हो भने व्यवसायको अन्य क्षेत्रहरु खुला गर्नुपर्ने शर्त राखेको एक ब्रोकरले बताए । उनले फार्टफोलियो म्यानेजमेन्ट गर्न आफूहरुलाई दिनुपर्ने माग राखेको बताए । ‘कमिसन घटाउने भए मार्जिन ट्रेडिङ, पोर्टफोलियो म्यानेजमेन्ट लगायतका सुविधा थप गर्नुपर्छ भन्ने माग राखेका छौं’ उनले भने ।
यता, ब्रोकरहरुले भने कमिसन घटाउने हो भने व्यवसायको अन्य क्षेत्रहरु खुला गर्नुपर्ने शर्त राखेको एक ब्रोकरले बताए । उनले फार्टफोलियो म्यानेजमेन्ट गर्न आफूहरुलाई दिनुपर्ने माग राखेको बताए । ‘कमिसन घटाउने भए मार्जिन ट्रेडिङ, पोर्टफोलियो म्यानेजमेन्ट लगायतका सुविधा थप गर्नुपर्छ भन्ने माग राखेका छौं’ उनले भने ।
कति कमिसन घटाउने तयारी हुँदैछ ?
धितोपत्र बोर्डले ब्रोकर कमिसनको माथिल्लो सीमालाई ०.३० प्रतिशत कायम गर्ने र तल्लो सीमा ०.२५ प्रतिशत कायम गर्ने गरी तयारी गरेको छ । तथापि, यसमा कुनै औपचारिक निर्णय भने भइनसकेको धितोपत्र बोर्ड स्रोतको भनाई छ । अहिले यो छलफलकै क्रममा रहेको छ । अहिले ब्रोकर कमिसनको माथिल्लो सीमा ०.४० प्रतिशत र तल्लो सीमा ०.२७ प्रतिशत रहेको छ ।
अब कहिले घट्ला त ब्रोकर कमिसन ?
धितोपत्र बोर्ड अध्यक्ष हमालले जति सक्दो चाँडो कमिसन समायोजन (घटाउने) गर्ने नेपाली पैसालाई जानकारी दिए । ‘कसरी कमिसनलाई समायोजन गर्न सकिन्छ भनेर हामीले सरोकारवालासँग छलफल गरेका छौं’ उनले भने, ‘उहाँहरुको सुझावलाई सञ्चालक समिति बैठकमा छलफल गर्नेछौं ।’ उनले छलफल गरेर छिट्टै बोर्डले यसमा निर्णय गर्ने बताए ।
पछिल्लो केही वर्षदेखि पुँजी बजार प्रविधिमौत्री बन्दै आएको छ भने अधिकांश काम लगानीकर्ताले आफैं गर्न सक्ने बाताउँदै आएकाले कमिसन घटाउन बोर्डलाई चर्को दबाब छ । त्यतिमात्र होइन, लगानीकर्ताले ब्रोकरबाट पाइरहेको सेवा सुविधा निकै कम छ । त्यसआधारमा अहिले तिर्नु परिरहेको कमिसन दर निकै बढी भएको गुनासो पनि रहँदै आएको छ
यसअघि कहिले घटेको थियो ब्रोकर कमिसन ?
नेपाल धितोपत्र बोर्डले करिब साढे २ वर्षअघि ब्रोकर कमिसन घटाएको थियो । धितोेपत्र बोर्ड २०७७ पुस १२ गतेदेखि लागू हुने गरेर ब्रोकर कमिसन ३३% देखि ६०% सम्मले घटाएको थियो । जसअनुसार लगानीकर्ताले ५० हजार रुपैयाँसम्मको कारोबारमा ०.४०% ब्रोकर कमिसन तिर्दै आएका छन् ।
त्यस्तै, ५० हजार रुपैयाँदेखि ५ लाख रुपैयाँसम्मको कारोबारमा ०.३७% कमिसन बुझाउनुपर्छ । ५ लाख रुपैयाँभन्दा माथि २० लाख रुपैयाँसम्मको कारोबारमा ०.३४% र २० लाख भन्दा माथि १ करोड रुपैयाँसम्मको कारोबारमा ०.३०% कमिसन लगानीकर्ताले तिर्दै आएका छन् ।
त्यस्तै, १ करोड भन्दामाथि जतिसुकै कारोबारमा पनि ०.२७% ब्रोकर कमिसन लाग्दै आएको छ । सरकारी वा संस्थागत ऋणपत्रको खरीद बिक्रीमा पनि ५० हजार रुपैयाँसम्म ०.१०%, ५० लाख रुपैयाँसम्ममा ०.०५% र ५० लाख माथिको कारोबारमा ०.०२% सेवा शुल्क लिन पाइने व्यवस्था छ ।
त्यसअघि लगानीकर्ताले सेयर कारोबार गर्दा ब्रोकरलाई ०.४ देखि ०.६% सम्म कमिसन पर्दथ्यो । जसमा ५० हजारसम्मको कारोबार गर्दा ०.६% र ५० हजारदेखि ५ लाखसम्म ०.५५%, ५ लाखदेखि २० लाखसम्म ०.५%, २० लाखदेखि १ करोडसम्म ०.४५% र १ करोड माथिको कारोबारमा ०.४% कमिसन तिर्नुपर्दथ्यो ।
अहिलेको ब्रोकर कमिसन महँगो भएको लगानीकर्ताको भनाई रहेको छ । कमिसन घटेमा लगानीकर्ताहरु आकर्षित हुने र यसले समग्र सेयर बजारको सुधार र विस्तारमा सहयोग पुग्ने उनीहरुको दाबी छ ।