प्रधानमन्त्री पुष्पकमल दाहालले जनयुद्ध कसैले चाहेर पनि दबाउन नसक्ने दाबी गरेका छन् । अहिले विभिन्न टिप्पणी भइरहे पनि जनयुद्ध कसैले चाहेर दबाउन नसक्ने ठोकुवा गरे ।
पूर्व उपराष्ट्रपति नन्दबहादुर पुनको पुस्तक विमोचन कार्यक्रममा बोल्दै दाहालले यस्तो बताएका हुन् ।
फागुन १ गते जनयुद्ध दिवसमा सार्वजनिक विदा दिने सरकारको निर्णयलाई लिएर एमाले अध्यक्ष केपी शर्मा ओलीले सार्वजनिक रुपमै आलोचना गरिरहेको सन्दर्भमा प्रधानमन्त्री प्रचण्डले यस्तो बताएका हुन् ।
प्रधानमन्त्री दाहालले भने, ‘जनयुद्धलाई जति दबाउन खोजिए पनि इतिहासमा पटक पटक त्यो उठिराख्छ । त्यो चिहानबाट फेरि उठ्छ । हजारौं मान्छेहरुले आफूखुशी बलिदान गरेको आन्दोलनलाई कसैले दबाउन सक्दैन । अहिले एकछिन दबाइयो भने पनि फेरि उठ्छ त्यो ।’
सो अवसरमा उनले पृथ्वीनारायण शाहले राज्य एकीकरण गरेपछि अर्को ठूलो जनताको स्तरबाट भएको विद्रोह र पहलकदमी जनयुद्ध भएको पनि दाबी गरे ।
उनले पुस २७ गते पृथ्वी जयन्तीमा आफू प्रधानमन्त्री भएको बेलामा बिदा दिने निर्णय गर्दा खुशी र गर्व लागेको स्पष्ट पारे ।