2026/04/17

देश टाट पल्टिँदा नेताको घर कसरी ठडिन्छ ? : लामिछाने

Admin

२०८०-०८-१०

447
Shares

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आफ्नो पार्टीको सरकार बने राज्य कोष खर्चिएर नेताको उपचार गराउने परम्परा रोक्ने, गरेकाहरूको पनि पैसा फिर्ता गराउने बताएका छन्।

सप्तरीको फत्तेपुरमा आइतबार आयोजित कार्यक्रममा उनले आफूसँग पैसा हुँदा पनि उपचारका नाममा राज्यको ढुकुटीतिर आँखा लगाउने गलत परम्परा रोकिनुपर्ने बताएका हुन्।

‘देश टाट पल्टिँदा नेता टाट नपल्टिने भन्ने हुँदैन, मेरो नेतृत्वमा देश टाट पल्टिएको हो भने मेरो सम्पूर्ण सम्पत्ति सम्पूर्ण राज्यले खोज्नुपर्छ। हरेक नेता, जसले ३४ वर्षमा देशलाई खोक्रो बनाए तिनको एकएक सम्पत्ति राज्यको हो, किनकि, तिनको गलत नीतिका कारण आज देश छाडेर जान बाध्य भएका छन मानिसहरू। हाम्रो सरकार आओस्, आफ्नो सम्पत्ति भइभइ राज्यको सम्पत्तिमा आँखा लगाएर आफ्नो उपचार राज्यको कोषबाट उपचार गराउनको पैसा सबैभन्दा पहिला फिर्ता गराउँछौं। तपाईंलाई उपचार गर्नुपर्‍यो भने र पैसा छैन भने घरखेत बेच्नुपर्छ नि, अनि नेताको चाहिँ घर ठाडो भइरहने, यिनले घरखेत नबेची राज्यको पैसाबाट उपचार गर्न पाउने!,’ उनले भने।

त्यस्तै उनले आगामी निर्वाचनमा रास्वपाका सांसदहरूले जनतासँग सम्झौता गरेरै भोट माग्ने बताए । उनले यो कार्यकालमा आफूले लिएको तलबभत्ताको एकएक हिसाब बुझाउने पनि बताए।

 

‘म र मेरा साथीहरूले आफ्नो हिसाब बुझाउनेछौं। आफूले कति पैसा लियौं, आफूले के–के काम गर्‍यौं, स्कुल पढ्ने केटाकेटीले रिपोर्ट कार्ड आफ्ना अभिभावकलाई बुझाएजस्तो हामी हाम्रो हिसाब तपाईंलाई बुझाउनेछौं। हाम्रो हिसाब चित्त बुझेन भने सांसदकारूपमा लिएको एकएक पैसा ब्याजसहित राज्यलाई फिर्ता गर्न म तयार छु। एकएक रूपैयाँ तिर्न तयार छौं। हाम्रा साथीहरूलाई पनि तिर्न लगाउँछु, छैन भने एकएक पैसा घरघरानाबाट खोजेर भए पनि, बेचेर भए पनि तिर्नलाई बाध्य बनाउँछु,’ उनले भने, ‘आगामी निर्वाचनमा एकएक उम्मेदवारलाई जनतासँग सम्झौता पत्रमा हस्ताक्षर गर्न लगाउने वाचा गर्न चाहन्छु। के काम गर्ने हो, के बोल्ने हो, बोलेको पूरा गरेन भने के गर्ने हो त्यो जनताले लेख्छन्, त्यसमा हस्ताक्षर गरे भोट दिनूस्, नगरे नदिनूस्, पर्दैन।’

उनले देश टाट पल्टिँदा नेताको घर कसरी ठडिन्छ भन्दै प्रश्न गरे।

‘उद्योग धन्दा बन्द हुँदाखेरी, बैंक टाट पल्टिँदा, तपाईंका छोराछोरी विदेशतिर जाँदा नेताको महल ठडिने?,’ उनले प्रश्न गरे।

447
Shares

©News Kunja 2021-2026. All rights reserved.