2026/04/17

बंगलादेश-पोखरा उडानका लागि एयर एस्ट्राको चासो, अघि बढायो प्रक्रिया

Admin

२०८०-१२-१४

455
Shares

काठमाडौं- बंगलादेशी एयरलाइन्स कम्पनी एस्ट्रा एयरवेज लिमिटेडले एयर एस्ट्रामार्फत ढाका-पोखरा-ढाका उडानका लागि इच्छा देखाउँदै अनुमतिको प्रक्रिया अगाडि बढाएको छ। 

बंगलादेशी निजी लगानीको एयरलाइन्स एयर एस्ट्राले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय र नेपाल नागरिक उड्डयन प्राधिकरणमा बंगलादेशदेखि पोखरा सिधा उडानका लागि अनुमति मागेको हो। 

एयर एस्ट्राले पोखरा उडानमा आउनका लागि भ्याटलगायतका सरकारी शुल्कमा विशेष सहुलियत पनि मागेको छ। प्राधिकरणका प्रवक्ता जगन्नाथ निरौलाले एयर एस्ट्राले पोखरा उडानका लागि चासो व्यक्त गरिरहेको र अनुमतिका लागि प्रक्रियाका कामहरू गरिरहेको बताएका छन्। 

एयर एस्ट्राले अहिले ढाका-पोखरा-ढाका रुटका साथै ढाका-काठमाडौं-ढाका रुटमा विभिन्न सम्भाव्यताबारे अध्ययन गरिरहेको जनाएको छ। 

 

बंगलादेशको राजधानी ढाकालाई विभिन्न क्षेत्रसँग जोड्ने काममा महत्वपूर्ण भूमिका निर्वाह गरिरहेको एयर एस्ट्राले अन्तर्राष्ट्रिय उडानमा अघि बढ्दै नयाँ बनेको पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा उडान गर्ने इच्छा देखाएको हो। यसले नेपालका साथै बंगलादेशको पर्यटनको विकासमा पनि योगदान पुग्ने एयर एस्ट्राले जनाएको छ। 

२०७९ पुस १७ गते उद्‍घाटना भएर सञ्चालनमा आएको पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा केही चार्टर्ड उडानबाहेक नियमित अन्तर्राष्ट्रिय उडान हुन सकेको छैन। व्यावसायिक अन्तर्राष्ट्रिय उडान नहुँदा पोखराका पर्यटन व्यवसायीसमेत निराश छन्। 

455
Shares

©News Kunja 2021-2026. All rights reserved.