2026/08/26

स्थानीय तहमा उपनिर्वाचन आगामी मंसिरअघि नै गर्न सकिन्छ: उपप्रधानमन्त्री लामिछाने

Admin
Admin

२०८०-१२-२५

582
Shares
स्थानीय तहमा उपनिर्वाचन आगामी मंसिरअघि नै गर्न सकिन्छ: उपप्रधानमन्त्री लामिछाने

उपप्रधानमन्त्रीसमेत रहेका गृहमन्त्री रवि लामिछानेले आगामी मंसिरअघि नै स्थानीय तहको उपनिर्वाचन गर्न सकिने बताएका छन्।

निर्वाचन आयोगले २०८१ मंसिरमा सो उपनिर्वाचन गर्न सकिने प्रस्ताव गरेकोप्रति लक्षित गर्दै उनले त्यसअघि पनि गर्न सकिने धारणा राखेका हुन्।

निर्वाचन आयोगका पदाधिकारीहरूसँग भेटेपछि आइतबार पत्रकारहरूसँग कुराकानी गर्दै गृहमन्त्री लामिछानेले उपनिर्वाचन मंसिरअघि नै गर्न सकिने पनि बताएका हुन्।

‘स्थानीय तहको उपनिर्वाचनको विषय अलिकति समय लाग्ने कुरा आएको छ। आगामी मंसिरमा गर्न सकिन्छ कि भन्ने प्रस्ताव छ। त्यसलाई हामीले हेर्छौं,’ उनले भने, ‘त्यसै सेरोफेरोमा हामी निर्वाचन गर्न सक्छौं जस्तो लाग्छ। यसअघि नै मंसीरमा जाने भन्ने कुरा भएको रहेछ। त्यसकारणले मैले अध्ययन गर्न खोजेको छु। केही अघि पनि गर्न नसकिने होइन तर जटिलताहरु होलान्, अध्ययन गर्नुपर्छ। तर छिट्टै गर्न सकिन्छ।’

इलाम २ र बझाङ १ को १ मा उपनिर्वाचन आगामी वैशाख १५ गते हुँदैछ। उपप्रधानमन्त्री लामिछानेले स्थानीय तहको उपनिर्वाचन पनि छिट्टै गर्ने पक्षमा आफू रहेको बताएका थिए।

कहाँ-कहाँ गर्नुपर्नेछ उपनिर्वाचन?

स्थानीय तहतर्फ दैलेखको महाबु गाउँपालिकाको अध्यक्ष पद रिक्त छ। महाबु गाउँपालिकाका अध्यक्ष लक्ष्मण गुरूङको ०७९ साल माघ २७ गते निधन भएको थियो।

जाजरकोटको नलगाढ नगरपालिकाको उपप्रमुख पद रिक्त छ। गत कात्तिक १७ गते जाजरकोटको बारेकोटस्थित रामिडाँडा केन्द्र गरी गएको भूकम्पमा नलगाडकी उपप्रमुख सरिता सिंहको निधन भएको थियो।

दोलखाको गौरीशंकर गाउँपालिकामा उपाध्यक्ष पद खाली छ। गत असार ३१ गते गाउँपालिका उपाध्यक्ष श्यामसुन्दर तामाङको हृदयघातका कारण निधन भएको थियो।

बाजुराको स्वामीकार्तिक खापर गाउँपालिकाका पनि उपाध्यक्ष पद रिक्त छ। गत माघ ४ गते उपाध्यक्ष मैना जोशीको ५० वर्षको उमेरमा निधन भएको थियो। उनी लामो समयदेखि क्यान्सरपीडित थिइन्।

कीर्तिपुर नगरपालिका–४, काठमाडौं महानगरपालिका–१६, नुवाकोटकाे ककनी गाउँपालिका–२, मकवानपुरकाे हेटौंडा उपमहानगर–१२, उदयपुरको त्रियुगा नगरपालिका–१२, रौटहटको ईशनाथ नगरपालिका–७ र रौतहटकै राजपुर नगरपालिका वडा नम्बर ६ मा पनि वडाध्यक्ष पद रिक्त छ।

गोरखा नगरपालिका–५, बर्दियाको ठाकुरबाबा नगरपालिका–४ र कालिकोटको तिलागुफा नगरपालिका–४ मा वडाध्यक्ष पद रिक्त छ। 

गाउँपालिकातर्फ सुनसरीको गढी गाउँपालिका–६, जाजरकोटको कुशे गाउँपालिका–७ र दार्चुलाको दुहुँ गाउँपालिका–५, बझाङको सुर्मा गाउँपालिका–४, डोटीको पूर्वीचौकी गाउँपालिका–६ मा वडाध्यक्ष खाली छ। त्यहाँ पनि उपनिर्वाचन गर्नुपर्ने निर्वाचन आयोगले जनाएको छ।

582
Shares

धेरै हेरिएका

© News Kunja 2021-2026. All rights reserved.

News Kunja