धनगढीः कैलालीको चिसापानी–राजकाँडा केबुलकार २ वर्ष भित्र सञ्चालनमा आउने भएको छ। जिल्लाको लम्कीचुहा नगरपालिका–३ चिसापानी र मोहन्याल गाउँपालिका–७ राजकाडाँसम्म २ वर्ष भित्र केबुलकार सञ्चालनमा ल्याउने दाबी गरिएको हो।
कैलालीको प्रमुख पर्यटकीय स्थलका रूपमा रहेको कर्णाली चिसापानी र राजकाँडा जोड्ने केबुलकार निर्माणको काम सुरु गरिएको थियो। कम्पनीले नेपाल सरकारलाई रुखको क्षति बाफतको तीन करोड ५० लाख रुपैयाँ बुझाएको थियो। हाल केबुलकार निर्माणका लागि रुख कटानीको काम सकिएको छ। योजनास्थलमा एक हजार आठ सय ६६ वटा रुख तथा पोलहरू काटिएका छन्। कम्पनीले रुखहरू काटेर काठ तथा दाउरा वन कार्यालयको जिम्मा लगाउने छ।
जाल्पादेवी केवलकार कम्पनीको नाममा रहेको दुई सय ५० रोपनी जग्गामा घेरबारको काम जारी छ। हालसम्म एक दशमलव पाँच किलोमिटर क्षेत्रमा पर्खाल निर्माणको काम पूरा भएको छ। चिसापानीमा १३ बिघा र केबुलकार सञ्चालन हुने क्षेत्रमा थप सात बिघा जग्गा कम्पनीले प्रयोग गर्ने छ। कम्पनीले २० बिघा जग्गा नेपाल सरकारलाई सट्टामा दिएको छ।
कम्पनीले राजकाडाँसम्म जान सडक र राजकाँडामा खानेपानीका लागि काम गर्दै छ। केबुलकार सञ्चालनका लागि तयार पारिएको विस्तृत योजना प्रतिवेदन (डिपीआर) संशोधनको काम अहिले जारी रहेको छ। पाँच तारे होटेलसहितका भौतिक संरचनाहरू निर्माणको काम जारी हरेपनि २ वर्षमा केबुलकार सञ्चालनमा ल्याउने योजनामा कम्पनी रहेको छ। जाल्पादेवी केबुलकार कम्पनीका सञ्चालक सूर्यबहादुर थापाले २ वर्ष भित्रमा चिसापानी–राजकाँडा केवलकार सञ्चालनमा आउने बताए। उनले भने, ‘रुख कटानीको काम सकिएको छ। हाल पर्खाल निर्माण, सडक निर्माण र खानेपानीको काम हुँदैछ। डिपीआर संशोधन गर्दैछौ। २ वर्ष भित्रमा केबुलकार सञ्चालनमा ल्याउने योजना छ। अन्य संरचनाहरू निर्माण हुँदै जान्छन्।’
प्राकृतिक रूपमा निकै सुन्दर राजकाँडा सूर्योदय अवलोकनका लागि प्रसिद्ध रहेको छ। सडक यातायात नपुगेकाले कम्पनीले काम गर्दै छ। कम्पनीले साइकल यात्रीका लागि समेत छुट्टै योजना बनाएको छ। कम्पनीले तीन दशमलव एक किलोमिटरमा केबुलकार सञ्चालनको तयारी गरेको हो। जाल्पा केवलकार कम्पनीले सात अर्ब केबुलकारसहितका एक पाँच तारे होटेल, एक तीन तारे होटेल, एक सेमिनार हल, पाँच वटा पार्टी प्यालेस, स्वीमिङ्ग पुल, पार्कहरू लगायतका संरचनाहरू निर्माणमा खर्च गर्ने योजना बनाएको छ। थापाले भने, ‘राजकाडाँमा क्यासिनोसहितको पाँच तारे होटेल सञ्चालनमा आउने छ। पार्टी प्यालेससहित पार्कहरू निर्माण गर्ने छौ। २५० रोपनी जग्गा छ। चिसापानीमा १३ बिघा जग्गा छ। चिसापानीमा तीन तारे होटेल, पाँच वटा पार्टी प्यालेस, स्वीमिङ्ग पुलहरु निर्माण गर्ने छौ।’