2026/08/25

खच्चड फसेको पुल प्रयोगमा रोक, एक सय बढी विद्यार्थी प्रभावित

Admin
Admin

२०८१-०२-३०

487
Shares
खच्चड फसेको पुल प्रयोगमा रोक, एक सय बढी विद्यार्थी प्रभावित

अछाम — एउटा लट्ठा चुँडिएर कोल्टिँदा खच्चड फसेको घटनापछि कर्णाली नदीमाथिको झोलुंगे पुलमा आउजाउ बन्द गरिएको छ । अछामको पञ्चदेवल विनायक नगरपालिका–९ कालेकाँडा र दैलेखको आठबिस नगरपालिका–४ खिड्कीज्युला जोड्ने उक्त पुलको प्रयोगमा रोक लगाइएपछि झन्डै एक सय विद्यार्थी विद्यालय जानबाट वञ्चित भएका छन् ।

उक्त पुलबाट आवतजावत गर्न जोखिम भएको भन्दै अछाम र दैलेखका जिल्ला प्रशासनको सहकार्यमा बन्द गरिएको हो । आइतबार खाद्यान्न बोकेर जाँदै गरेका १४ खच्चड लट्ठा चुडिँदा उक्त पुलमा फसेका थिए । स्थानीय र सुरक्षाकर्मीले १२ को जीवितै उद्धार गरेका थिए भने दुई खच्चड मरेका थिए ।

पुलमार्फत आवागमन बन्द गरिएपछि दैलेख र अछामका विद्यार्थी बढी मारमा परेका छन् । अछामको पञ्चदेवल विनायकमा रहेको चण्डिका माविमा दैलेखका आठबिस–४, ५ र ६ का ९५ जनाभन्दा बढी विद्यार्थी पढ्न आउँछन् । त्यस्तै आठबिसमा रहेको प्रि–नर्सरी स्कुलमा पढ्न पञ्चदेवल विनायकबाट पनि दर्जनौं विद्यार्थी जाने गर्छन् । तर सयभन्दा बढी विद्यार्थी सोमबारदेखि नै विद्यालय जान पाएका छैनन् । ‘अब कहिले पुल बन्ने हो, कहिले हामी स्कुल गएर पढ्न पाउँछौं भन्ने नै अन्योल भयो, स्कुल जाने अर्को बाटो पनि छैन,’ चण्डिका माविका कक्षा १० का विद्यार्थी खकेन्द्र जैसीले दुखेसो पोखे, ‘अहिले कोर्स एकदम छिटो अघि बढिरहेको थियो । एक दिन पढाइ छुट्दा नै कति गाह्रो हुन्छ । पढाइ चलिरहेकाले आठबिसबाट जाने हामीलाई मात्रै भनेर पछि छुटेको कोर्स फेरि पढाइँदैन होला ।’

पारि दैलेखबाट आउने विद्यार्थी रोकिएपछि भने कम्तीमा २० दिन जति विद्यालय बन्द गर्ने प्रस्ताव राखेको पञ्चदेवल विनायक–९ का वडाध्यक्ष रामप्रसाद जैसीले बताए । ‘मंगलबार नगरपालिकाको विपद् व्यवस्थापन समिति बैठकमा विद्यालय बन्द गर्ने प्रस्ताव राखेको छु । अभिभावक, विद्यालय र स्थानीयको भनाइलाई मैले अघि सारेको हुँ,’ वडाध्यक्ष जैसीले भने, ‘छिमेकी जिल्लाका विद्यार्थीलाई पढाइबाट वञ्चित गर्नु हुँदैन भन्ने सबैको भनाइ छ । शिक्षा समितिबाट प्रस्ताव आएर कार्यपालिकाले छिट्टै निर्णय गर्नेछ ।’ पारिबाट विद्यालय आउन वैकल्पिक बाटोबाट कम्तीमा तीन घण्टा हिँड्नुपर्ने बाध्यता रहेको उनले बताए । जैसीका अनुसार जीर्ण बनेको उक्त पुलबाट करिब २ सय मिटर दूरीमा अर्को पुल द्रुत गतिमा बन्ने क्रममा रहेको छ । ‘निर्माणाधीन पुल छिटो बनाएर विद्यालय सञ्चालन गर्ने, जीर्ण पुल मर्मतका लागि पहल गर्ने निर्णय विपद् व्यवस्थापन समितिको बैठकबाट भएको छ,’ उनले भने ।

निर्माणाधीन पुल छिटो सम्पन्न गर्न र जीर्ण पुलको मर्मतका लागि विभिन्न निकायको सहयोग माग्ने गरी दैलेखबाट पनि छलफल भइरहेको आठबिस–६ का वडाध्यक्ष नवराज शर्माले बताए । ‘पुल आवागमन बन्द हुँदा सबैभन्दा धेरै प्रभावित विद्यार्थी भएका छन्, अछामबाट दैलेख आउने र दैलेखबाट अछाम जाने दुवैतर्फका विद्यार्थीको पढाइलाई लिएर छलफल भइरहेको छ,’ उनले भने, ‘दुवैतर्फका स्थानीय तहहरूबाट गर्न सकिने प्रयासबारे जनप्रतिनिधिहरू निरन्तर संवाद र छलफलमा छौं ।’

आवतजावत बन्द भएपछि दैलेखतर्फ रहेका खेतमा रोपाइँ पनि प्रभावित भएको पञ्चदेवल विनायककी धना जैसीले बताइन् । ‘यताका ३५ परिवारका ठूला खेत दैलेखमा छन् । बिउ सुकिसक्यो, खेतमा जान पाइएको छैन,’ उनले भनिन्, ‘त्यताका खेत रोप्न पाइएन भने अर्को वर्ष भोकमरी लाग्छ ।’ केहीले भने हलगोरु कर्णाली नदीबाट तारेर भए पनि पारिका खेतमा रोपाइँ गरिरहेका छन् । तर धेरैजसो किसान भने खेतमा जान नसकेको धनाले बताइन् । भनिन्, ‘एक पोका तेल चाहिए पनि हाम्रो बजार खिड्किजिउला (दैलेख) हो । अहिले त हामीलाई हातखुट्टा बाँधेर राखेको जस्तो भइरहेको छ ।’

आवतजावत बन्द गर्दा पनि केही लुकीछिपी वारपार गरिरहेको सूचना पाएको भन्दै अछामका प्रमुख जिल्ला अधिकारी शिवप्रसाद लम्सालले भने, ‘दैनिकी चलाउन पनि स्थानीयलाई पुलबाट आवतजावत गर्नुपर्ने बाध्यता त छ । तर ज्यानलाई नै जोखिम पारेर आवतजावत भइरहेको छ, तत्काल पुलको मर्मत नगरे जतिखेर पनि मानवीय क्षतिको जोखिम छ ।’ पुलमा आवतजावत बन्द गरिएको सूचना टाँसेर सामान्य तरिकाले तारले बार लगाइएको छ । ‘गृह मन्त्रालयदेखि विभिन्न निकायमा यहाँको सबै अवस्था उल्लेख गरेर पुल मर्मत गर्न र अर्को बनिरहेको पुल यथाशीघ्र सक्न अनुरोध गर्दै पत्र पठाइसकेका छौं,’ लम्सालले भने, ‘यहाँ उपलब्ध प्राविधिकको टोलीले स्थलगत निरीक्षण पनि गरिसकेको छ । अब माथिल्लो निकायले कसरी काम अगाडि बढाउँछ भनेर कुरिरहेका छौं ।’

 

487
Shares

धेरै हेरिएका

© News Kunja 2021-2026. All rights reserved.

News Kunja