2026/04/17

अछामका रैथाने प्रविधि लोप हुँदै

Admin

२०८१-०३-१३

433
Shares

अछाम– आधुनिक प्रविधितर्फको बढ्दो आकर्षण र सुविधाभोगी प्रवृत्तिका कारण अछामकोे ग्रामीण क्षेत्रको रैथाने प्रविधि लोप हुँदै गएको छ ।

उखु पेलेर खुदो निकाल्ने, अमिलो पेलेर चुक बनाउने र तोरीबाट तेल निकाल्न प्रयोग गरिने परम्परागत घरेलु मेसिन ‘कोल’ गाउँमा नदेखिएको वर्षौं भइसकेको छ । अघिल्लो पुस्तासम्ममा उखु, अमिलो र तोरी पेल्नका लागि गाउँमा निर्विकल्प घरेलु मेसिनका रूपमा रहेको कोल अहिले आएर अछामका ग्रामीण क्षेत्रमा विस्थापित बनिसकेको छ ।
त्यसैगरी धान कुट्नका लागि प्रयोग हुने ढिकी र ओखल पनि विरलै देख्न पाइन्छन् ।

वर्षामा ओढ्ने सेउको ठाउँ अहिले प्लास्टिकले ओगटेको छ । गाउँमा जाँतो प्रयोगकर्ता कोही छैनन् । आधुनिक प्रविधिको विकास हुनुअघि यस क्षेत्रमा दैनिक जीवनयापनका लागि अति आवश्यक एवम् निर्विकल्प परम्परागत साधन तेल पेल्ने कोल, उखु पेल्ने कोल, ढिकी, जाँतो, ओखल र पानीघट्ट लोप हँुदै गइरहेका छन् ।


करिब तीन दशक अगाडिसम्म निकै चलनचल्तीमा रहेका यी घरेलु मेसिनको प्रयोग विस्तारै घट्दै गएपछि लोप हुन थालेका हुन् । विभिन्न आधुनिक घरेलु मेसिनको प्रयोगपछि अछाममा यी घरेलु मेसिन विस्थापनमा परेका सामाजिक अभियन्ता चन्द्रमणी भाटले बताए ।

घरेलु प्रविधिसँगै यहाँको मौलिक संस्कृति पनि धरासायी बन्दै जान थालेको छ । देउडा संस्कृतिमा ख्याति कमाएको अछामका देउडा भाका, पुतला,भैलोनाच पनि लोपोन्मुख अवस्थामा पुगेको गायीकका डिक्रा गाइने बताउँछिन् ।

यस क्षेत्रका बासिन्दाको परम्परागत सभ्यता र मौलिक संस्कृतिको प्रतीक घरेलु मेसिन लोप हँुदै गएपछि मौलिक संस्कृतिसमेत प्रभावित भएको यस क्षेत्रका सांस्कृतिक कलाकारहरू बताउँछन् ।
‘अछामका घरेलु मेसिनहरू हराइसके’, भाटले भने‘हामी को हौँ ? हाम्रो सभ्यता के हो ? भन्ने कुराको बोध गराउने यी चिजहरू नै हराएपछि हाम्रो मौलिक संस्कृति र सभ्यता पनि सङ्कटमा परेको छ ।’
स्थानीय स्रोत, साधन एवम् स्थानीय सीपबाटै निर्माण गरिने घरेलु मेसिनबाट यस क्षेत्रको परम्परागत जनजीवन, कला र सामाजिक अवस्थाका विषयमा समेत अध्ययन गर्न सकिने उनले बताए ।

433
Shares

©News Kunja 2021-2026. All rights reserved.