अछाम - लक्ष्मी बुढा अछामको दुर्गम मानिने साविकको ढुंगाचाल्ना गाविसको मोया गाउँमा २०२६ सालमा जन्मिएकी हुन् ।
अहिले पनि छोरीलाई उच्च शिक्षा दिन आनाकानी गर्ने समाजमा उनी तुर्माखाँद गाउँपालिकाभित्र रहेका १२ माध्यामिक विद्यालयमध्येकी ५५ वर्षीया लक्ष्मी एकमात्र महिला प्रधानाध्यापक हुन् । तुर्माखाँद गाउँपालिका –४ जैसुरमा रहेको विश्वज्योती माध्यामिक विद्यालयमा तीन वर्षदेखि उनी प्रधानाध्यापकको जिम्मेवारीमा छन् । ५ जना दाजुभाइ र ४ जना दिदीबहिनीमध्येकी लक्ष्मी सबैभन्दा कान्छी हुन् । उनका सबै दाजुभाइ पढेलेखेका भएपनि छोरीमध्येमा कक्षा १२ सम्मको अध्ययन गरेकी उनी उनी मात्रै हुन् ।
उनका बुवा गाउँमा प्रधानपञ्च थिए । छोरीलाई पढाउनु पर्छ भन्ने उनका बुवाको सोचाइका कारण लक्ष्मीले पढ्न पाइन् । उनी गाउँकै विद्यालयमा गइरहेका बेला डोटीको सेती परियोजनाले छात्राहरुलाई निःशुल्क पढाउनका लागि छात्रावृत्ति खुलेको उनका बुवाले थाहा पाए । छोरीलाई पढाउने सोच बनाएका उनका बुवाले छात्रवृत्ति छनोट हुने परिक्षामा सहभागि गराउन मंगलसेन लिए । उनी छनोट भइन् ।
६ कक्षादेखि एसएलसीसम्मको उनको पढाइ पद्म पब्लिक मावि शैलेश्वरी डोटीमा भयो । ‘ ५ कक्षासम्म गाउँकै स्कुलमा पढँे । उमेर धेरै भइसकेको थियो । घर नजिकै स्कुल भएपनि छोरीलाई पढाउने चलन थिएन । म पढ्नका लागि डोटी जानु पर्ने भयो’ उनले भनिन् ,‘छोरी पढाउन डोटी पठाउने भनेपछि गाउँका मान्छे सबैले अचम्म मानेका थिए । छोरीलाई त्यति टाढा पढ्न पठाउनु हँुदैन भनेर मेरी आमाले रोक्न खोज्नु भएको थियो । तर बुवाले मान्नु भएन ।’
माध्यामिक तहको पढाइ सकेर उनी अछाम फर्किन् । पुरुष नै पढेलेखेका नभेटिने समयमा उनको एसएलसीसम्मको पढाइ सबैका लागि विषेश थियो । उनी पढेर गाउँ फर्किएपछि सबैले उनलाई पढ्न्यारी (पढेलेखेकेकी छोरी) नाम राखेका थिए । गाउँका जो मान्छे भेटिदा पनि उनलाई सबैले पढ्न्यारी भनेर सम्बोधन गर्थे । त्यसपछि उनलाई लाग्यो , सबैले पढेलेखेकी भन्न थाले अब मैले केही काम गर्नुपर्छ । सुरुमा गाउँकै कर्मचन्द्र आधारभूत विद्यालयमा उनले एक वर्ष पढाइन् । अनि , उनी गाउँकै पहिलो ‘लक्ष्मी मेडम’ बनिन् ।
‘त्यतिबेला सबैभन्दा सम्मानित पेशा भनेकै शिक्षण थियो । गाउ“का धेरै जसोमान्छे भारत हुन्थे । उनीहरुले पठाएका चिठी पढेर सुनाउने , जवाफ लेखेर पठाउने पनि गरिदिन्थे । त्यसपछि मलाई शिक्षक बन्नु पर्छ भन्ने लाग्यो उनले भनिन् ,‘सुरुमा गाउँकै स्कुलमा पढाउन थालेँ । त्यसपछि शिक्षक सेवा आयोगबाट स्थायी शिक्षकका लागि परिक्षा लिइयो । मैले पहिलो चरणमा २०५० जेठ १० गते स्थायी शिक्षको नियुक्ति पाएँ ।’ स्थायी शिक्षकको नियुक्ति लिएर पढाउने उनी गाउँको पहिलो महिला बनिन् । स्थायी नियुक्ति भएपछि ढकारीको जाल्पादेवी माविमा पढाउन सुरु गरिन् ।
त्यसपछि उनले प्रत्येक घरमा गएर छोरी पढाउनु पर्छ भनेर अभिभावकलाई सम्झाउन थालिन् । उनी शिक्षक भइसकेपछि उनको गाउँका थुप्रै महिलाहरु पनि पढ्न आउन थाले ।
‘सबै दिदीहरुले बिहे गरिसकेका थिए । घरको काम धेरै हुन्थ्यो । बिहान ३ बजे उठेर जाँतोमा गहँु पिसेर म जहिल्यै पढाउन जान्थे ’ उनले भनिन् ,‘म कहिल्यै अल्छि भइन । घरभित्र , मेलापातपछि मात्रै म पढाउन जान्थे ।’
स्थायी शिक्षक भएको वर्ष दिनपछि उनको तुर्माखाँद गाउँपालिका– ४ को जैसुरुमा बिहे भयो । सामान्य परिवारमा बिहे गरेकी लक्ष्मी जागिरे भएकाले परिवारको सबै जिम्मेवारी उनीमाथि थपियो । त्यसपछि उनी घर नजिकैको विश्वज्योती माध्यामिक विद्यालयमा पढाउन थालिन् ।
‘श्रीमानको केही जागिर थिएन । पढेलेखेकीलाई बिहे गरेपछि हेप्छन् भनेर श्रीमानलाई पनि सबैले सुनाउथे’ उनले भनिन् ,‘त्यतिबेलाको समाज नै त्यस्तै थियो । अहिले त छोरी पढाउन हिच्किचाउँछन् । त्यतिबेला कोही महिला पढेर शिक्षक बन्ने कुरा धेरैका लागि अचम्मको विषय बन्थ्यो ।’ स्थायी शिक्षकको रुपमा जैसुरुमा भित्रिएपछि श्रीमान र परिवारको साथ पाइन् । उनका २ छोरा र १ छोरी जन्मे । उनी विद्यालयमा जान्थिन् , उनका श्रीमान छोराछोरी हेरेर बस्थे । ‘परिवारको साथ नपाएको भए म जति पढेलेखेको भएपनि काम गर्न सक्थेन । अहिले जुन जिम्मेवारीसम्म आइपुगेकी छु त्यो सबै परिवारको साथको कारण सम्भव भएको छ ।’उनले भनिन् ।
उनी एक्लैको जागिरले छोरीलाई स्टाफ नर्स पढाइन् । जेठो छोरालाई अध्ययनको सिलसिलामा बेलायत पठाएकी छन् । कान्छो छोरा काठमाडौंमा पढिरहेका छन् । ‘यो गाउँ छोरीलाई स्टाफ नर्स पढाउने पहिलो व्यक्ति म हँु । गाउँको पहिलो स्टाफ नर्स पनि मेरो छोरी हुन् ।’ उनले भनिन् ।
उनी प्रधानाध्यापक भएको विश्वज्योती माविमा अहिले ३ सय ६७ जना विद्यार्थी छन्। उनी शिक्षक र विद्यार्थी दुवैलाई अनुशासनको दायरमा राख्नु आफ्नो पहिलो जिम्मेवारी भएको ठान्छिन् । तुर्माखाँद गाउँपालिकाको गाउँ शिक्षा समितिकी सदस्यसमेत रहेकी लक्ष्मी शिक्षकहरुको अगुवाको रुपमा प्रस्तुत हुन्छिन् ।
‘कहिलेकाहीँ कडा तरिकाले पनि प्रस्तुत हुनु पर्ने रहेछ । केही नबोल्दा महिला त हुन् भनेर हेपेको महसुस भयो । अहिले त जता पनि आफ्ना कुरा , पेशाका कुरा र विद्यार्थीका कुरा ढुक्कले राख्छु ’ उनले भनिन् ,‘ मेरो विद्यालयको प्रशासन मैले कडा बनाएको छु र राम्रो गर्नेलाई प्रोत्साहन , गल्ति गर्नेलाई कारबाही पनि गर्छु ।’