2026/08/25

गोर्खा मिडियासहित जीबीका ११ कम्पनीमा डमी ऋणी बनाएर ६३ करोड रुपैयाँ कर्जा लगानीः प्रहरी

Admin
Admin

२०८१-०३-२३

418
Shares
गोर्खा मिडियासहित जीबीका ११ कम्पनीमा डमी ऋणी बनाएर ६३ करोड रुपैयाँ कर्जा लगानीः प्रहरी

काठमाडौं । गोर्खा मिडिया नेटवर्कले डमी ऋणीको रुपमा विभिन्न सहकारीबाट करिब ६३ करोड रुपैयाँ कर्जा लिइएको प्रहरीले जनाएको छ ।

शुक्रबार बसेको सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा संसदीय छानविन विशेष समितिको बैठकमा प्रहरी अधिकारीहरुले दिएको जानकारीका अनुसार गोर्खा मिडिया नेटवर्क र गितेन्द्र बहादुर राई (जीबी) संलग्न रहेका विभिन्न १० कम्पनीले सुप्रिम लगायत अन्य सहकारीबाट ६२ करोड ९९ लाख रुपैयाँ कर्जा प्रवाह भएको हो ।

‘ऋणीहरु नै डमी सृजना गरिएको सुप्रिम सहकारीबाट १० करोड ९९ लाख तथा उसँग आवद्ध रहेको अन्य १० वटा कम्पनीमा ५२ करोड रकम प्रवाह भएको लगायतका कुराहरु पनि उहाँहरुको हालसम्मको अनुसन्धानमा राख्नुभएको छ,’ समितिका सभापति थापाले भने, ‘हामीले अनुसूचि २ मा सुप्रिम, सूर्यदर्शन, सहारा, स्वर्ण लक्ष्मी, सानो पाईलालगायतका सहकारीहरुमा भएको अनुसन्धानको पनि उहाँहरुसँग जानकारी लिएका छौं ।’

शुक्रबार (आज)को बैठकमा प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवर र सिआईबी र अपराध अनुसन्धान विभागका अधिकारीहरु उपस्थित रहेका थिए ।

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा गृहमन्त्री रवि लामिछाने तत्कालीन समयमा गोर्खा मिडिया नेटवर्कमा प्रबन्ध निर्देशक थिए । उनी भएको समयमा नेटवर्कका अध्यक्ष गितेन्द्र बहादुर (जीबी) राईसहित लामिछानेले विभिन्न सहकारीबाट कानूनविपरीत कर्जा लिएका थिए ।

रवि–जिवीले ८ वटा सहकारीबाट बचतकर्ताको २ अर्ब २ करोड १० लाख ९४ हजार ३५४ रुपैयाँ अपचलन गरेका छन् । यसमा कल्याण उपकारको ५८ करोड ७९ लाख ४९ हजार रुपैयाँ र हाम्रो नयाँ कृषि सहकारीको ७ करोड ७७ लाख ९० हजार रुपैयाँ रहेको छ । हाम्रो नयाँ कृषि रास्वपाका उप सभापति तथा श्रम मन्त्री डिपी अर्याल सहकारीमा उपाध्यक्ष रहेका थिए ।

आफ्नो कार्यकाल नसिकिदै अर्यालका साथै रास्वपाका सह महामन्त्री कबिन्द्र बुर्लाकोटीले राईलाई सहकारी बुझाएर हिँडेका थिए । कल्याण उपकार सहकारीमा अहिले लिला बहादुर गुरुङ अध्यक्ष रहेका छन् । उनी हाम्रो नयाँ कृषिमा उपाध्यक्ष रहेका छन् ।

लामिछाने र राई जोडीएका सहारा बचत तथा ऋण, समानता बचत तथा ऋण सहकारी संस्था, सानो पाइला, सुप्रिम, सुर्यदर्शन र स्वर्णलक्ष्मी बचत तथा ऋण सहकारी रहेका छन् । यी सहकारीबाट लामिछाने र राईले बचतकर्ताको २ अर्ब ६ करोड ९८ लाख ७४ हजार रुपैया ठगेका छन् ।

राई सुर्यदर्शन बचत तथा ऋण सहकारी संस्था पोखरा, सहारा बचत तथा ऋण, समाना बचत तथा ऋण, सानो पाइला, सुप्रिम सहकारी, स्वर्णलक्ष्मी बचत तथा ऋण सहकारी, हाम्रो नयाँ कृषि सहकारी संस्था र कल्याण उपकार सेभिङ एण्ड क्रेडिट सहकारीको बचत अपचलनमा परेका छन् ।

यी संस्थाबाट जीबी राई तथा गोर्खा मिडियाका तत्कालिन प्रबन्ध निर्देशक, राष्ट्रिय स्वतन्त्र पार्टीका वर्तमान सभापति र उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने समेत जोडिएका छन् ।

418
Shares

धेरै हेरिएका

© News Kunja 2021-2026. All rights reserved.

News Kunja