फाल्गुन २१, २०८२
प्रदेश सरकारले अस्पताल नबनाएको विरोधमा ओखलढुंगाको एक मतदान केन्द्रमा मतदाताहरूले नो भोट गरेका छन् ।
मानेभञ्ज्याङ गाउँपालिका–७ स्थित टोक्सेल मतदान केन्द्रमा बिहीबार सम्पन्न निर्वाचनमा प्रत्यक्षतर्फ कुनै मत नखसेको प्रमुख जिल्ला अधिकारी मेखबहादुर मंग्रातीले जानकारी दिए । प्रजिअ मंग्रातीका अनुसार मतदान गर्न गएका कर्मचारीले भने समानुपातिकतर्फ मत खसालेका थिए ।
७०१ मतदाता रहेको उक्त केन्द्रमा प्रादेशिक अस्पताल बनाउने काम सुरू नगरेकोमा विरोध गरेर कोही पनि भोट हाल्न नगएको मानेभञ्ज्याङ गाउँपालिका अध्यक्ष ज्ञानेन्द्र रुम्दालीले बताए ।
प्रदेश सरकारले अस्पताल बनाउनका लागि जग्गा व्यवस्थापनको माग गरेपछि स्थानीयले १६५ रोपनी जग्गा उपलब्ध गराएका थिए । तर प्रदेश सरकारले भने वार्षिक २०–२५ लाखको हाराहारीमा मात्रै बजेट पठाएर अस्पताल बनाउने काम सुरू नगरेकाले स्थानीयले मतदान बहिष्कार गरेर विरोध जनाएका हुन् ।
यसअघि स्थानीय राजनैतिक दलहरुले पनि प्रदेश सरकारलाई दबाब दिएर माग पूरा नभए 'नो भोटिङ'मा जाने चेतावनी दिएका थिए । तर स्थानीयको मागलाई बेवास्ता गरेका कारण समस्या उत्पन्न भएको पालिका अध्यक्ष रुम्दालीले बताए ।