प्रधानमन्त्री पुष्पकमल दाहालले उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई हटाउनेबारे आफूले नसोचेको बताएका छन् ।
उनले बाहिर आएको कुरा हल्लामात्रै भएको पनि बताएका छन् । पछिल्लो समय नेपाली कांग्रेसको दबाबमा गृहमन्त्री श्रेष्ठलाई हटाउने समाचार आइरहेपछि प्रधानमन्त्रीको यस्तो स्पष्टीकरण आएको हो ।
पत्रकार ऋषि धमलासँगको कुराकानीका क्रममा प्रधानमन्त्री दाहालले गृहमन्त्री श्रेष्ठले राम्रो काम गरिरहेको बताए ।
भ्रष्टाचारविरुद्ध र सुशासनको पक्षमा आफूहरुले कडाइका साथ कदम चालेको उनले जवाफ दिए ।
‘म गृहमन्त्री परिवर्तन गर्ने पक्षमा छैन । मेरो र उहाँको काम गर्ने केमेष्ट्री मिलेको छ । अहिले सुशासन नेपाली जनताको माग हो । म यो पूरा गरेर छाड्छु । विकास र समृद्धिको यात्रा अब अघि बढ्यो’, उनले भनेका छन् ।
प्रधानमन्त्री दाहालले अहिलेको सत्ता गठबन्धन पाँचै वर्ष टिक्ने पनि दाबी गरे । उनले भने,‘यो गठबन्धन पाँचै वर्ष जान्छ । कांग्रेस सभापति देउवाजीसँग राम्रो सम्बन्ध छ । कांग्रेससँगको सहकार्यको यात्रा टुट्दैन् । अझ सम्बन्ध बलियो भएको छ।’ उनले अब विकास गरेर तिव्र गतिमा देशलाई समृद्ध बनाईने पनि विश्वास दिलाए । उनले भ्रष्टाचारलाई निर्मुल पार्नको लागि आफू निर्मम ढंगले पेश भएको जिकिर गरे । भ्रष्टाचारमा पार्टीभित्र र बाहिरका जो मुछिएको पुष्टि भएपनि कारबाही गरेरै छाड्ने उनको उद्घोष थियो । उनले थपे–‘सुशासन पहिलो शर्त हो । यसमा मेरो कसैसँग पनि सम्झौता हुँदैन । पार्टीभित्र र बाहिर, जो कोही शक्तिशाली मान्छे परेपनि म सम्झौता गर्दिनँ ।’
उनले आफ्नो हालैको भारत भ्रमणको ऐतिहासिक उपलब्धि हाँसिल भइसकेको भन्दै भारत सरकारले हालै नेपालबाट दश वर्षभित्र १० हजार मेगावाट विद्युत किन्ने निर्णय गरेको कुरा स्मरण गराए । उनले अहिलेको सरकारले सवै मित्रराष्ट्रसँग सन्तुलित सम्बन्ध कायम गरेको पनि स्पष्ट पारे ।