2026/06/06

चीन भ्रमण सोचेभन्दा सफल भयो, राष्ट्रपति सीले विशेष प्राथमिकता दिए : प्रधानमन्त्री

Admin

२०८०-०६-१०

582
Shares

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफ्नो चीन भ्रमण सोचेभन्दा पनि बढी सफल भएको आफूले महसुस गरेको बताएका छन् ।

आज चीनको स्वशासित क्षेत्र ल्हासा आइपुगेका प्रधानमन्त्री दाहालले ल्हासामा अवस्थित नेपाली महावाणिज्यदूतावासमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै चीन भ्रमण आफूले सोचेभन्दा फरक र सफल भएको बताएका हुन् ।

'म अमेरिकादेखि नै आएँ र यस पटकको चीन भ्रमण कस्तो होला भन्ने पनि लागिरहेको थियो । तर अहिले मलाई महसुस भएको छ कि भ्रमण मैले, हामीले सोचेभन्दा पनि फरक भएको छ, सफल भएको छ,' उनले भने ।

यस पटकको आफ्नो चीन भ्रमण यसकारण पनि अन्तर्राष्ट्रियरुपमै चासो रहेको आफूले पाएको उनको भनाइ थियो । त्यसैले यो भ्रमणको सफलताका विषयमा सबैतिर चासो रहेको उनले बताए ।

प्रधानमन्त्री दाहालले चिनियाँ राष्ट्रपति सि चिनफिङसँगको भेटवार्ता निकै महत्त्वपूर्ण रहेको उल्लेख गर्दै त्यस भेटवार्ताका क्रममा नेपाललाई सि चिनफिङले निकै नै महत्त्व दिएको आफूले महसुस गरेको बताए ।

प्रधानमन्त्री दाहालले एसियाली खेलकूद प्रतियोगिताको आयोजना गरेको सहर हाङ्चाउमा चिनियाँ राष्ट्रपति सी चिनफिङसँग भेटवार्ता गरेका थिए । त्यस क्रममा उनले एक्लै र नेपाली प्रतिनधिमण्डलले नै भेटेको र आफूहरुलाई एक घन्टा समय दिएका प्रसङ्ग उल्लेख गरे ।

'कुनै पनि देशसँग चीनजस्तो देशका राष्ट्रपतिले एक/एक घन्टा समय दिनु भनेको सामान्य होइन, हामीलाई पनि थाहा छ चीनले अरु देशका राष्ट्रप्रमुख तथा सरकारप्रमुखहरूलाई समय दिएको देखे सुनेका छौँ, त्यसैले मलाई लाग्छ यो एक दुर्लभ घटना पनि हुनसक्छ,' उनले भने ।

भेटका क्रममा सौहार्दपूर्ण कुराकानी भएको र यसबाट नेपाल–चीन सम्बन्धमा सो भेटवार्ता एक महत्त्वपूर्ण सिद्ध हुने बताए ।राम्रो समझ्दारी बनेको र राम्रो परिस्थितिको सुरुआत भएकाले यसले आगामी दिनमा राम्रै परिणाम दिने उनले बताए ।

582
Shares

©News Kunja 2021-2026. All rights reserved.