अछाम — दाताको सहयोगमा सम्पूर्ण सेवा निःशुल्क दिइरहेको बयालपाटा अस्पताल पछिल्लो समय आर्थिक संकटबाट गुज्रिरहेको छ । सहयोग जुटाउन नसक्दा अस्पतालका सेवा प्रभावित हुँदै गएका छन् ।
विदेशी दाताको सहयोगमा निःशुल्क सेवा दिइरहेको अस्पातललाई पछिल्लो समय सहयोग पनि आधाभन्दा धेरै घटेको छ । दाताले सहयोग घटाएपछि सुदूरपश्चिम प्रदेश सरकार र स्थानीय तहको भरमा सहयोगमा सञ्चालन भइरहेको अस्पतालमा यो वर्ष दुवै निकायबाट बजेट उपलब्ध नहुँदा समस्या भएको हो । आर्थिक अवस्थाका कारण वैकल्पिक व्यवस्था गर्न नसक्दा एक सातादेखि शल्यक्रियामार्फत प्रसूति सेवा बन्द गर्नुपरेको अस्पतालका प्रमुख डाक्टर मन्दिप पाठकले बताए । उनका अनुसार शल्यक्रिया गर्ने एमडीजीपी डाक्टर पारिवारिक समस्या देखाउँदै अस्पताल नआएको र अर्का एक जनाले पनि जागिर छाडेपछि सेवा एक सातादेखि बन्द भएको हो
‘अस्पतालसँग अहिले शल्यक्रिया मार्फत प्रसूति गराउने जनशक्ति नै छैन । प्रदेशबाट बजेट आएको भएलगत्तै अर्को जनशक्ति हायर गर्न सकिन्थ्यो । अहिले आर्थिक रूपमा संकट झेलिरहेका छौं,’ उनले भने, ‘अर्को व्यवस्था नहुँदासम्मका लागि जनशक्ति उपलब्ध गराइदिन प्रदेश सरकार र जिल्ला अस्पतालसँग अनुरोध गर्दा पनि कतैबाट सहयोग भएन ।’
अहिले अस्पतालमा प्रसूति हुन आएका जटिल अवस्थाका गर्भवतीलाई रेफर गर्नुपरेको उनले बताए । गत आर्थिक वर्षमा अस्पतालले १ सय २७ जनालाई शल्यक्रियामार्फत प्रसूति सेवा दिएको थियो । अस्पताल व्यवस्थापन समिति अध्यक्ष रहेका साँफेबगर नगरपालिका प्रमुख राजेन्द्र कुँवरले आर्थिक स्रोत जुटाउन नसक्दा अस्पतालको सेवा प्रभावित भइरहेको बताए । उनले नगरपालिकाबाट चालु वर्षमा पनि एक करोड रुपैयाँ विनियोजन गरिएको बताए ।
अस्पताल सञ्चालनका लागि वार्षिक २२ करोड आवश्यक पर्छ । गत वर्ष प्रदेश सरकारले अस्पताललाई ९ करोड रुपैयाँ अन्तिम समयमा आएर उपलब्ध गराएको थियो । चालु आर्थिक वर्ष पनि प्रदेश सरकारले ९ करोड दिने मौखिक जानकारी गराए पनि अहिलेसम्म सम्झौतासम्म भएको छैन । ‘प्रदेश सरकारले बजेट दिने या नदिने भनेर यकिन कुरा गरिरहेको छैन । हामी आर्थिक समस्यामा त छौं नै त्यसैमाथि प्रदेशले पनि अन्योलता सिर्जना गराएको छ,’ उनले भने, ‘अहिले शल्यक्रियामार्फत गरिने प्रसूति सेवा बन्द भयो । कतैबाट सहयोग आएन भने अन्य सेवा पनि प्रभावित हुन सक्ने अवस्था देखिएको छ ।’
अस्पताल प्रमुख डा. पाठकका अनुसार प्रदेश सरकारले अहिलेसम्म ५० लाख रुपैयाँ पुँजीगत खर्चका लागि छुट्याएको जानकारी मात्र आधिकारिक रूपमा गराएको छ । ‘पुँजीगत खर्चका लागि छुट्याएको रकम चालुतर्फ खर्च गर्न मिल्दैन । त्यसअन्तर्गत अस्पतालका लागि अन्य सामग्री खरिद गर्नुपर्छ । त्यो पनि प्रदेश सरकारबाट आफैं खरिद गरेर अस्पतालमा पठाउने कुरा भएको छ,’ उनले भने, ‘आवश्यक सामानको लिस्ट पठाएको तीन हप्ता भयो, सामान आइपुगेको छैन ।’ अस्पताललाई आर्थिक सहयोग गर्नेबारे सरकारका विभिन्न तहमा छलफल भइरहे पनि सकारात्मक कुरा नआएको उनले बताए ।
१६ वर्ष अगाडि न्याय हेल्थ नेपाल र अमेरिकामा रहेको अन्तर्राष्ट्रिय गैरसरकारी संस्था पोसिबलको आर्थिक र प्राविधिक सहयोगमा स्थापना भएको यो अस्पतालले निःशुल्क सेवा दिइरहेको छ । केही समय विदेशी दाताबाट सञ्चालन हुँदै आएको अस्पताललाई अहिले दाताबाट आंशिक सहयोग मात्रै हुँदै आएको छ । अस्पताललले स्थापनाकालदेखि आव ०७९/८० सम्म ११ लाख ५२ हजार बिरामीलाई निःशुल्क सेवा दिइसकेको छ । बयालपाटा अस्पतालमा अछाम, बाजुरा र डोटीका लागि विशेषज्ञ सेवा दिने पहिलो अस्पतालको रूपमा छ भने एक वर्षमा एक लाख बढीले अस्पतालबाट सेवा लिँदै आएका छन् ।