काठमाडौँ — शेख हसिना वाजेदको सत्तासहित देश बहिर्गमनपछि बिहीबारबाट बंगलादेशको शासन सत्ताको बागडोर मोहम्मद युनुसको हातमा पाइपुगेको छ । अन्तरिम सरकारको प्रमुखको रुपमा ८४ वर्षीय युनुसले अब बंगलादेशको राजनीतिक संक्रमणकाललाई पार लगाउने जिम्मेवारी पाएका छन् ।
शेख हसिनाको शासनकालमा पूर्वाग्रहको रुपमा उनीमाथि लगाएका सबै मुद्दाहरूबाट बुधबार सफाइ पाएपछि युनुस अब मुलुक हाँक्ने जिम्मेवारीमा आएका हुन् । उनको बिहीबार शपथपछि औपचारिक कार्यभार सुरु हुँदैछ ।
हसिनाको शासनकालमा भ्रष्टाचार र कानुन उल्लंघनका नाममा दर्जनौैं मुद्दा खेपेका युनुस खासमा बंगलादेशका गरिब नागरिक र अन्तर्राष्ट्रिय समुदायमा समाजिक अभियानहरूका कारण चर्चित र सम्मानित छन् ।
त्यही सम्मानित व्यक्तित्वका कारण मुलुकको राजनीतिक संक्रमणकाललाई पार लगाउने अभिभावकका रूपमा युवापुस्ताले युनुसलाई भरोसाका रूपमा अघि सार्यो । हसिनाको सत्ता ढाल्ने कारक बनेको विद्यार्थी आन्दोलनका अगुवाहरूले सुरूमा युनुसलाई अन्तरिम सरकारको प्रमुखको रूपमा अघि सारेका हुन् । विद्यार्थी आन्दोलनका अगुवाको मागलाई सम्बोधन गर्दै बंगलादेशको सेना र अन्य राजनीतिक दलहरूले पनि युनुसलाई जिम्मेवारी दिन तयार भए । सबैको आग्रहलाई स्वीकार्दै युनुस सरकारको प्रमुख बन्न तयार भएका हुन् ।
युनुस बंगलादेशले हासिल गरेको सामाजिक र आर्थिक समृद्धिको योजनाकार पनि हुन् । उनले ग्रामीण विकास बैंकको स्थापनामार्फत धेरै गरिबहरूको आर्थिक उन्न्नयनका लागि भूमिका खेले । यही कामका कारण उनले नोबेल शान्ति पुरस्कारसमेत प्राप्त गरे । यद्यपि शेख हसिनाले भने उनलाई 'गरिबमारा र सुदखोर'को संज्ञा दिइरहिन् ।
युनुसको जन्म १९४० मा चटगाउँमा भएको थियो । सन् १९६१ मा ढाका विश्वविद्यालयबाट अर्थशास्त्रमा स्नातकोत्तर उत्तीर्ण युनुसले केही समय चटगाउँमा कलेजमा अध्यापन पनि गरे । यसैताका उनले एउटा प्याकेजिङ उद्योग पनि खोल्न भ्याएका थिए । सन् १९६५ मा उनले अमेरिकामा अध्ययन गर्नका लागि फुलब्राइट छात्रवृत्ति पाए र त्यहाँको भ्यान्डरबिल्ट विश्वविद्यालयबाट सन् १९७१ मा पीएचडी गरे ।
अमेरिकामा अध्ययनरत रहँदा उनलाई एउटा विश्वविद्यालयमा असिटेन्ट प्रोफेसरका रूपमा अध्यापन गर्ने अवसर पनि जुट्यो । त्यही बेलामा बंगलादेशमा स्वतन्त्रताको आन्दोलन चर्किएको थियो । अमेरिकामै बसेर उनले स्वतन्त्रता आन्दोलनका पक्षमा जनमत निर्माणको अगुवाइ गरे । बंगलादेश स्वतन्त्र भएपछि उनलाई योजना आयोगमा नियुक्त गरियो । तर, त्यहाँ उनी धेरै समय रमाउन सकेनन् । त्यसलाई छाडेर चटगाउँ विश्वविद्यालयको अर्थशास्त्र विभागको प्रमुख हुन पुगे ।
उनको लघुवित्त अभियानको सुरुवात चटगाउँ विश्वविद्यालय छेउमै रहेको जोब्रा गाउँका अति गरिब ४२ महिलालाई बाँडिएको ३० डलरको लघु कर्जाबाट सुरु भएका थियो । ती महिलाको उद्यम भनेको बाँसका फर्निचर बनाउनु थियो । युनुसको विश्वास र लगनले सन् १९७६ देखि उक्त अभियानले नतिजा दिन थाल्यो । सोही वर्ष जोब्राका महिलाहरूमा प्रवाह गर्नका लागि सरकारी जनता बैंकबाट ऋण लिन सफल भए । उक्त क्रम चलिनै रह्यो ।
सन् १९८२ मा आइपुग्दा विभिन्न बैंकबाट ऋण लिनेहरूसमेत गर्दा युनुसको संस्थासँग करिब २८ हजार सदस्य आबद्ध भएका थिए । बढ्दो सञ्जालबाट उत्साहित युनुसले १ अक्टोबर १९८३ मा गरिबहरूलाई सहज र सरल ऋण उपलब्ध गराउन आफ्नै बैंक खोल्ने निर्णय लिए र स्थापना भयो-ग्रामीण बैंक ।
युनुसको ग्रामीण मोह वित्तीय घेरामा सिमित रहेन । ग्रामीण बैंकको सफलतापछि उनी त्यसैमा रोकिएनन् । एकपछि अर्का नयाँ कार्यक्रमहरू अघि सार्दै गए । सिर्जनाशीलता र नयाँ सोच युनुसका पहिचान हुन् । वार्षिक २ डलरमा पूरै परिवारको स्वास्थ्य बिमा, १० लाख घरधुरीमा सौर्यटुकीजस्ता दर्जनौं अभियान र कार्यक्रमहरू उनको अगुवाइमा सञ्चालन भए । (ग्रामीण मोत्सो -माछापालन), ग्रामीण कृषि, ग्रामीण सफ्टवेयर, ग्रामीण साइबरनेट, ग्रामीण निटवेयर, ग्रामीण टेलिकम आदिको पनि उनले अगुवाइ गरे ।
युनुसको ग्रामीण अभियान विश्वका गरिब मुलुकका लागि मात्र नभई कतिपय धनी मुलुकका लागि मागदर्शक बन्यो । ग्रामीण बैंकले प्रवाह गरेको लघु कर्जामध्ये ९४ प्रतिशत अंश गरिब महिलाहरूमाथि नै प्रवाह भएको थियो । त्यसैले बंगलादेशलाई 'होम अफ माइक्रो क्रेडिट'का रूपमा चिनायो ।
सन् १९७१ मा बंगलादेश स्वतन्त्र भएलगत्तै बंगलादेशमा विकास हुनसक्छ भनेर धेरै पश्चिमाहरूले आशंका व्यक्त गरेका थिए । त्यसताका बंगलादेश आफैंमा स्वतन्त्र राज्यका रूपमा टिक्न सक्छ कि सक्दैन भनेर शंका गरिएको थियो । तर बंगलादेशलाई एउटा देशका रूपमा स्थापित हुन र पश्चिमाहरूका आशंकालाई गलत साबित गराउन युनुस जस्ता व्यक्तिको पनि हात रह्यो । अहिलेको बंगलादेश आर्थिक रूपमा सबल बन्ने बाटोमा छ । दक्षिण एसियामा अब्बल विकास र आर्थिक क्षमता विस्तार गरिरहेको मुलुकका रुपमा बंगलादेश अघि बढेको छ ।
बंगलादेशका महिलाहरू विकासका वास्तविक संवाहक हुन् भन्ने प्रमाणित गरेर देखाउन युनुसको अभियानको पनि हात छ । बंगलादेशको कपडा उद्योगमा कार्यरत अधिकांश मजदुर महिला छन् । आफ्नो अभियानका कारण युनुस बंगलादेशमा त पुज्य थिए नै उनको काम अन्य मुलुकमा पनि विस्तार भयो । त्यसैको चिनारी हो उनले पाएका अन्तर्राष्ट्रिय पुरस्कार र सम्मानको सूची ।
नोबल पुरस्कार, प्रेसिडेन्सिअल मेडल अफ फ्रिडम र कङ्ग्रेसनल गोल्ड मेडल पाउने सातवटा व्यक्तिहरूमध्ये उनी एक हुन् । युनुस र उनको ग्रामीण बैंकले संयुक्त रूपमा २००६ मा नोबल शान्ति पुरस्कार पाएको थियो । नोबल पुरस्कार छनोट कमिटीले युनुसले विश्वबाट गरिबी हटाउने दीर्घकालीन लक्ष्य राखेका कारण उक्त पुरस्कार दिएको जनाएको थियो ।
सन् २००६ मा विश्व प्रसिद्ध टाइम म्यागजिनले बितेको ६० वर्षका एसियन हिरोहरूमध्ये १२ उत्कृष्ट व्यवसायी व्यक्तित्वमा उनलाई चुनेको थियो । युनुस सन् १९८४ मै एसियाको नोबल मानिने म्यागासेसे अवार्डबाट पनि सम्मानि भएका थिए ।
युनुस विश्वभरका विभिन्न विश्वविद्यालयका मानार्थ विद्यावारिधिबाट सम्मानित भइसकेका छन् । २०१२ मा फर्चुन म्यागजिनले युनुसलाई समकालीन महान् १२ उद्यमीमध्ये एक ठहर्याएको थियो । सन् २०१० मा बेलायतको न्यु स्टेट्सम्यान म्यागजिनले उनलाई २०१० का विश्वका ५० प्रभावशाली व्यक्तिमध्ये ४०औं स्थान दिएको थियो । त्यसैगरी २०११ मा उनको जीवनीमा आधारित अर्को वृत्तचित्र बोन्साई पिपल द भिजन अफ युनुसलाई संयुक्त राष्ट्र संघमै प्रिमियर गरिएको थियो । युनुसमाथि 'टु क्याच अ डलर' नामको वृत्तचित्र पनि तयार भइसकेको छ । उनको पुस्तक 'ब्याकंर टु पुअर'ले समेत निकै चर्चित छ ।
सफल मानिसका मित्रभन्दा शत्रु बढी हुन्छन् भन्ने आहान युनुसको हकमा पनि सही ठहरिन्छ । १८ फेब्रुअरी २००७ मा युनुसले नागोरिक शक्ति(नागरिक शक्ति) पार्टी गठनसँगै राजनीतिमा औपचारिक प्रवेश गर्ने घोषणा के गरेका थिए, उनीमाथि चारैतिरबाट प्रहार सुरु भयो । तत्कालीन प्रधानमन्त्री शेख हसिनाले युनुसविरुद्ध जेहाद नै छेडिन् ।
हसिनालगायतका राजनीतिज्ञहरूले युनुसबाट ठूलो खतरा देखेका थिए । नहोस् पनि किन ? ग्रामीण बैंकको सञ्जालमा रहेका करोड बंगलादेशीको साथ पाएको खण्डमा युनुस जुनसुकै राजनीतिक मुकाम हासिल गर्न सक्थे ।
तर, राजनीतिमा प्रवेश गर्नासाथ आफूमाथि आक्रमण सुरु हुन थालेपछि युनुसले राजनीतिक यात्रालाई तत्कालका लागि विश्राम दिने घोषणा गरे । द विरोधीहरूलाई उक्त घोषणाले मात्र आश्वस्त पारेन, उनलाई सामाजिक र आर्थिक रूपमा बदनाम गराउन नयाँनयाँ प्रपञ्च रच्न थालियो । त्यसैको एउटा कडी थियो, ३० नोभेम्बर २०१० मा नर्वेजियन टीभी च्यानललबाट प्रसारण गरियो 'कट इन माइक्रो क्रेडिट' वृत्तचित्र ।
यसैलाई आधार बनाउँदै हसिना नेतृत्वको सरकारले ग्रामीण बैंकका कार्यक्रम र गतिविधिहरूको समीक्षा गर्न आदेश दियो । लगत्तै सरकारले सन् २०११ मा ग्रामीण बैंककै पूर्वकर्मचारी मुजम्मल हकलाई ग्रामीण बैंकको अध्यक्षमा नियुक्त गर्यो । युनुस भने उमेरहदको कारण देखाइँदै प्रबन्ध निर्देशकबाट बर्खास्त गरिए ।उता नर्वे सरकारले गरेको छानबिनमा युनुसमाथि लगाइएका आरोपहरू सबै गलत साबित भए ।
त्यसपछि पनि युनसमाथि थुप्रै आरोपहरू लगाइयो । सन् २०१३ मा उनीमाथि करछलीको आरोपसमेत लागेको थियो । यसै वर्षको जनवरीमा भने उनलाई श्रमसम्बन्धी मुद्दामा ६ महिना जेल सजायसमेत सुनाइएको थियो । अवार्डहरूबाट प्राप्त पैसा, पुस्तकको रोयल्टीलगायतमा युनुसले कर छलेको आरोप सरकारले लगाएको थियो । तर युनुसले भने सबै आरोपहरू निराधार रहेको बताउँदै आएका छन् । बंगलादेशी अन्तरिम सरकारको नेतृत्व सम्हाल्नुअघि युनुसमाथि लगाइएको श्रमसम्बन्धी आरोप त्यहाँको अदालतले बुधबार खारेज गरिदिएको छ ।
राजनीतिमा आउने उनको बाटोमा सुरूमै अवरोध आएपछि युनुसले लघु कर्जा/लघु वित्तमा भन्दा पनि समाज र जनउत्तरदायी कामलाई विश्वव्यापी बनाउने अभियानमा लागे । त्यही अभियान रूपमा उनी धेरै मुलुक पुगे । विदेशमै रहेका बेला बंगलादेशमा आन्दोलनले सत्ता नै फेरबदल गरिदिएपछि उनी संक्रमणकाल पार लगाउने जिम्मेवारी लिएर बिहीबार स्वेदश आइपुगे । स्वेदश फर्किए लगत्तै उनले भनेका छन्- स्वतन्त्रताको लाभ प्रत्येक नागरिकको घरघरमा पुग्नुपर्छ । म त्यो काममा लाग्छु ।'
(एजेन्सीहरूको सहयोगमा)