काठमाडौँ, ११ भदौ
नेपाली राष्टिय क्रिकेट टोलीका सदस्य सन्दीप लामिछाने एसिया कपमा सहभागिता जनाउन आज पाकिस्तान प्रस्थान गरेका छन् । नेपाली टोली गत मङ्गलबार नै पाकिस्तान प्रस्थान गरिसकेको छ ।
राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव टङ्कलाल घिसिङले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमै गएर सन्दीपलाई बिदाइ गरे ।
एसिया कप यही भदौ १३ गतेदेखि पाकिस्तानमा सुरु हुँदैछ । त्यसै दिन नेपालले पाकिस्तानको मुल्तानमा पाकिस्तानसँग समूह चरणको पहिलो खेल खेल्ने छ ।
समूह ‘ए’ मा नेपाल र पाकिस्तानसहित भारत रहेको छ । नेपालले दोस्रो खेल भदौ १८ गते भारतविरुद्ध श्रीलङ्कामा खेल्ने छ । नेपालले पहिलोपटक एसिया कपमा खेल्न लागेको हो ।
त्यस्तै सन्दीपले पछिल्लो समय टिमले राम्रो प्रदर्शन गरेको बताउँदै एसिया कपमा राम्रो खेल प्रदर्शन गर्ने बताए । “एसिया कपमा खेल्न पाउनु सबै नेपालका लागि गर्वको कुरा हो । जित÷हारभन्दा पनि हामीले त्यहाँबाट सिक्न पाउने कुरा पनि महत्त्वपूर्ण हो । एसिया कपमा खेल्न पाउनु खुसीको पर्वजस्तै हो हाम्रा लागि”, उनले भने।