2026/04/17

नेपाल अफगानिस्तानलाई पराजित गर्दै यू-१९ विश्वकप क्रिकेटको 'सुपर सिक्स'मा

Admin

२०८०-१०-१२

510
Shares

आकाश चन्दले करिअरको उत्कृष्ट बलिङ गरेपछि नेपालले अफगानिस्तानलाई पराजित गर्दै आईसीसी यू-१९ विश्वकपको 'सुपर सिक्स'मा प्रवेश गर्न सफल भएको छ।

'सुपर सिक्स'मा पर्नका लागि समूह चरणको जित्नै पर्ने अन्तिम खेलमा नेपालले टस जितेको अफगानिस्तानलाई ४०.१ ओभरमा १४५ रनमा सीमित पार्‍यो।

नेपालले ४४.४ ओभरमा ९ विकेट गुमाउँदै लक्ष्य पूरा गर्‍यो र एक विकेटले खेल जित्यो। 

समूह 'डी' का तीन वटा खेलमा पराजय बेहोरेको अफगानिस्तान 'सुपर सिक्स'बाट बाहिरियो भने न्यूजील्यान्ड, पाकिस्तान र नेपाल यो समूहबाट माथि उक्लिए।

अब नेपालले 'सुपर सिक्स'मा समूह 'ए' का प्रतिद्वन्द्वीसँग खेल्ने छ। 

समूह 'ए' मा भारत, बाङ्ग्लादेश, आयरल्यान्ड र अमेरिका छन्। समूह 'ए' बाट बाहिरिने एउटा टोलीको निर्णय हुन बाँकी छ।

आकाश चम्किए

क्रिकेट

तस्बिर स्रोत, ICC

दक्षिण अफ्रिकाको इस्ट लन्डनस्थित बफेलो पार्कमा खेलिएको खेलमा आकाशले शुक्रवार अभूतपूर्व प्रदर्शन गरे।

पहिलो ओभरको चौथो बलमा नै गुलशन झाले ब्याटर नुमान शाहलाई दिपक डुम्रेबाट क्याच गराए। 

त्यसपछि अफगानिस्तानको इनिङस् ध्वस्त पार्ने काम तीव्र गतिका बलर आकाश चन्दले गरे।

उनले १.३ ओभरमा खालिद तनिवाललाई विकेटकिपर विपिन रावलद्वारा क्याच गराए।

त्यसपछि सातौँ ओभरमा अफगानिस्तानका भरपर्दा ओपनर जम्सिद जाद्रानलाई बोल्ड गरे। 

जाद्रानले एशिया कपको पछिल्लो भेटमा नेपालविरुद्ध शतक बनाएका थिए।

उनको तेस्रो सिकार सोहेल खान भए। आठौँ ओभरमा चार रन बनाएर सङ्घर्ष गरिरहेका सोहेललाई आकाशले देव खनालबाट क्याच आउट गराएका थिए। लगत्तै उनले अलि अहमदलाई एलबीडब्लूको धरापमा पारेका थिए।

आकाशले पाँचौँ विकेटको रूपमा हसन इशाखिललाई आउट गरेका थिए। ३५ बलमा २० रन बनाएर खेलिरहेका हसनलाई दीपेश कँडेलबाट क्याच आउट गराएपछि आकाशले मैदानमा ढोगेका थिए।

आकाश चम्किएपछि अफगानिस्तानको ११.३ ओभरमा ६ विकेट झरेको थियो र टोली ४३ रनको खराब अवस्थामा पुगिसकेको थियो।

क्याच ड्रप

नेपाली क्रिकेट

तस्बिर स्रोत, ICC

बाह्रौँ ओभरमा मोहम्मद घजनफारले खाता नै खोल्न नपाउँदै जीवनदान पाउनु नेपालको लागि महँगो साबित भयो।

आकाशले फ्यालेको बलमा विकेटकिपर विपिन रावलले क्याच फुत्काउन पुगेका थिए। 

त्यसपछि घजनफारले ३ छक्का सहित २० बलमा ३७ रन बनाएर अप्ठ्यारो स्थितिमा पुगिसकेका अफगान खेलाडीहरूको हौसला बढाउने काम गरेका थिए।

एक समय सय भन्दा कम रनमा समेटिने छाँट देखाएको अफगानिस्तानका लागि कप्तान नासिर खान र फरिडोन डवडजाईले महत्त्वपूर्ण इनिङस् खेले।

यी दुईले आठौँ विकेटका लागि ५५ रनको साझेदारी गरेपछि टोली डेढ सयको नजिक पुग्न सफल भयो।

आकाशपछि दीपेश कँडेलले ३ तथा तिलक भण्डारी र सुभाष भण्डारीले १/१ विकेट लिएका थिए।

510
Shares

©News Kunja 2021-2026. All rights reserved.