2026/08/24

एमबाप्पेको कीर्तिमानसँगै स्वीडेनमाथि फ्रान्सको सानदार जित

Admin
Admin

२०८३-०३-१७

152
Shares
एमबाप्पेको कीर्तिमानसँगै स्वीडेनमाथि फ्रान्सको सानदार जित

अमेरिकाको न्यु जर्सीको अत्यधिक गर्मीका बीच भएको विश्वकप २०२६ को अन्तिम ३२को खेलमा किलिएन एमबाप्पेको ऐतिहासिक प्रदर्शनको मद्दतले फ्रान्सले स्वीडेनलाई ३-० ले सहजै पराजित गरेको छ। यो जितसँगै फ्रान्सले अब अन्तिम १६ (प्रि-क्वार्टरफाइनल) मा पराग्वेसँगको भेट पक्का गरेको छ।

यस खेलमा दुई गोल गरेसँगै एमबाप्पे विश्वकपको नकआउट चरणमा सबैभन्दा धेरै गोल गर्ने खेलाडी बनेका छन्। उनले नकआउट चरणमा मात्रै १० गोल पुर्‍याएका छन्। साथै, यस विश्वकपको 'गोल्डेन बुट' को दौडमा उनी अर्जेन्टिनाका लियोनेल मेसीसँगै ६ गोलसहित शीर्ष स्थानमा छन्।

खेलको सुरुवातदेखि नै फ्रान्सले स्वीडेनमाथि दबाब बनाएको थियो। २० औं मिनेटमा एमबाप्पेको गोल अफसाइडका कारण रद्द भयो भने केही समयपछि उनको अर्को प्रहार पोस्टमा लागेर फर्कियो। फ्रान्सका माइकल ओलिसेको उत्कृष्ट 'सिजर किक' पनि पोस्टमा लागेर बाहिरिएको थियो।

पहिलो हाफको ठीक अन्त्यमा ओस्मान डेम्बेलेको पासमा एमबाप्पेले स्वीडेनका डिफेन्डरलाई जिल्याउँदै उत्कृष्ट गोल गरी फ्रान्सलाई १-० को अग्रता दिलाए।

दोस्रो हाफको सुरुवातमै (५३ औं मिनेटमा) माइकल ओलिसेको पासलाई सदुपयोग गर्दै ब्राडली बारकोलाले दोस्रो गोल थपे। ७४ औं मिनेटमा एमबाप्पेले व्यक्तिगत दोस्रो र टोलीका लागि तेस्रो गोल गर्दै फ्रान्सको जित सुनिश्चित गरे।

२७ वर्षकै उमेरमा एमबाप्पे विश्वकप इतिहासमा सबैभन्दा धेरै गोल गर्ने दोस्रो खेलाडी बनेका छन्। उनले १८ खेलमा १८ गोल गरेका छन्, जुन औसतमा प्रति खेल एक गोल हो। अब उनी लियोनेल मेसीको १९ गोलको कीर्तिमानभन्दा मात्र एक गोलले पछि छन्।

विश्वकपमा सबैभन्दा धेरै गोल गर्ने खेलाडीहरू:

१. लियोनेल मेसी – २९ खेलमा १९ गोल
२. किलिएन एमबाप्पे – १८ खेलमा १८ गोल
३. मिरोस्लाभ क्लोस – २४ खेलमा १६ गोल
४. रोनाल्डो (ब्राजिल) – १९ खेलमा १५ गोल

फ्रान्सले अन्तिम १६ अमेरिकाको फिलाडेल्फियामा पराग्वेको सामना गर्नेछ। पराग्वेले सोमबार जर्मनीलाई पेनाल्टी सुटआउटमा हराउँदै अन्तिम १६ मा स्थान बनाएको हो। लगातार तेस्रो पटक विश्वकपको फाइनल पुग्ने लक्ष्यमा रहेको फ्रान्सेली टोली अहिले उच्च लयमा देखिएको छ।

152
Shares

धेरै हेरिएका

© News Kunja 2021-2026. All rights reserved.

News Kunja