2026/08/26

देवललगायत पुरातात्विक सम्पदा ओझेलमा

रायबर अनलाइन
रायबर अनलाइन

२०७९-०१-१३

507
Shares
देवललगायत पुरातात्विक सम्पदा ओझेलमा

तत्कालीन पर्वत राज्यको सदरमुकाम रहेको म्याग्दीका बेनीबजार, पुलाचौर, ढोलठान, डढेकोट ताकम र ज्यामरुककोटमा रहेको ऐतिहासिक देवल र पुरातात्विक सम्पदा संरक्षण र प्रचारप्रसारको अभावमा ओझेलमा परेका छन् ।

यहाँ मल्लकालीन समयका ऐतिहासिक सम्पदा र पुरातात्विक तथा शिखरशैलीका देवल,मठ मन्दिर, कुवा, धारा, ओखल आदि सम्पदा प्रचारप्रसार र संरक्षण नहुँदा ओझेलमा पर्दै गएका हुन् । बडादसैँ, चैतेदसैँ, कृष्णजन्माष्टमी, श्रीपञ्चमीलगायत चाडपर्वमा मानिस जम्मा भएर ती सम्पदाबारे चासो राख्ने गरे पनि अघिपछि वास्तै नगर्दा अमूल्य सम्पदा नष्ट हुँदै गएका छन् । जिल्लाका विभिन्न ठाउँमा ढुङ्गैढुङ्गाले बनेका शिखर शैलीका थुम्का, देवल र मठ छन् । त्यसैगरी पर्वते मल्लराजा डिम्बबम मल्लले निर्माण गर्न लगाएको ओखल र कुवा पनि संरक्षणको अभावमा पुरिँदै जान थालेका स्थानीयवासीले बताएका छन् । विसं १८४२ मा गोरखा र पाल्पाको संयुक्त फौजले पर्वते सेनालाई पराजित गर्नुअघि पर्वत राज्यको राजधानी ढोलठाना र सहराजधानी बेनीमा रहेको इतिहासकार चन्द्रप्रकाश बानियाँले जानकारी दिनुभयो । चौधौँ शताब्दीताका तत्कालीन पर्वत राज्यका एकीकरणकर्ता राजा डिम्बबमद्वारा स्थापित जगन्नाथ मन्दिर धार्मिक एवं पर्यटकीय दृष्टिकोणलेसमेत प्रसिद्ध छ । यो मन्दिर ढोठानदेखि केहीमाथि र डढेकोट दरबारदेखि केही तल केभहिलको नजिकै छ । यहाँ प्रशस्तै ऐतिहासिक सम्पदा रहे पनि संरक्षणको अभावमा ती सम्पदा लोपहुँदै गएका स्थानीयवासी यामबहादुर बानियाँले बताउनुभयो ।

ढोलठान क्षेत्रको शिरमा रहेको केबहिलबाट मनोरम हिमशृङ्खला नजिकैबाट नियाल्न पाइनु यस क्षेत्रको अर्को आकर्षण हो । यहाँबाट धौलागिरि, निलगिरि, अन्नपूर्णलगायत १४ हिमाल, पर्वत, बागलुङ, स्याङ्जा र कास्कीका ३० भन्दा बढी ग्रामीण क्षेत्रका साथै म्याग्दी जिल्लाका साविकका ३६ गाविस देख्न सकिने स्थानीय बासिन्दा शिव बानियाँले बताउनुभयोे । समुद्री सतहदेखि करिब दुई हजार ४०० मिटर उचाइमा रहेको सदरमुकाम बेनी बजारदेखि करिब डेढ÷दुई घण्टाको पैदलयात्रापछि पुग्न सकिने ढोलठान प्राकृतिक सुन्दरता र ऐतिहासिक महत्वको हुनाका साथै धार्मिक दृष्टिकोणले समेत प्रमुख आकर्षणको केन्द्र बन्न सक्ने जगन्नाथ मन्दिर व्यवस्थापन समितिका अध्यक्ष रामबहादुर बानियाँको भनाइ थियो ।उहाँँले भन्नुभयो, “ऐतिहासिक, धार्मिक र पर्यटकीय महत्व रहेको यस स्थलको प्रचारप्रसार हुन सके म्याग्दीको मात्र नभइ गण्डकी प्रदेशकै उत्कृष्ट गन्तव्यस्थल बन्न सक्छ ।” ढोलठानको शिरमा पर्ने केभहिलको नजिकै रहेको धार्मिक दृष्टिले पवित्र मानिएको गाजने गाउँमा मादकपदार्थ र मांसाहार निषेधित गरेर नेपालकै उदाहरणीय गाउँ बनेको छ । त्यसैगरी ज्यामरुककोटमा रहेको पाँच सय वर्ष पुरानो राजकुवा पनि संरक्षणको अभावमा पुरिँदै गएको स्थानीयवासी खिमबहादुर कार्कीले बताउनुभयो ।विसं २०७६ मा स्थानीयवासीको पहलमा पुनः निर्माण भए गरिएकोकुवा जीर्ण बन्दै गएको छ ।

स्थानीय सरकार गठन भइसकेपछि त्यस्ता पुरातात्विक सम्पदालाई सूचीकरण गरी संरक्षण र सम्वद्र्धनका लागि गाउँपालिका लागिपरेको बेनी नगरपालिकाका प्रमुख हरिकुमार श्रेष्ठले जानकारी दिनुभयो । 

507
Shares

धेरै हेरिएका

© News Kunja 2021-2026. All rights reserved.

News Kunja