बाजुरा — बाजुरालाई बाहिरी जिल्लासँग जोड्ने एकमात्र साँफे–मार्तडी सडकखण्ड हरेक वर्ष बर्खामा अस्तव्यस्त हुने गरेको छ । वर्षायाम सुरु हुँदासाथ सेलाघाट, कारागारमुनि, राप्का, वीरे खोला, बार्जुगाड, अम्कोट र बल्देजस्ता जोखिमयुक्त क्षेत्रमा पहिरो खस्ने, सडक भासिने समस्या छ । बर्खामा पटक–पटक यातायात अवरुद्ध हुने समस्याले यात्रु र स्थानीयले सास्ती खेपिरहेका छन् ।
सडक केही घण्टामै खुलाइए पनि जोखिम भने जस्ताको तस्तै रहने भएकाले बर्खाभरी यो सडकमा त्रास बोकेर हिँड्नु परेको छ । यस वर्ष पनि मनसुन सक्रिय भएसँगै साँफे–मार्तडी सडकका विभिन्न खण्डमा पटक–पटक पहिरो जाँदा यातायात प्रभावित भइरहेको छ । सडक डिभिजन र स्थानीय प्रशासनले डोजर परिचालन गरेर केही घण्टाभित्र सडक खुलाउँदै आएका कारण अहिले सडक सञ्चालनमा रहे पनि जोखिमपूर्ण स्थानहरू अझै सुरक्षित बन्न सकेका छैनन् ।
सामान्य वर्षा हुँदा पनि यात्रुहरू कुन ठाउँमा पहिरो खस्छ भन्ने त्रासमै यात्रा गर्न बाध्य हुने गरेको बडीमालिका नगरपालिका—४ तीपाडाका रनी बुढाले बताए । ‘तलपट्टी बूढीगंगा नदी साँघुरो भएर बगेको छ । पानी पर्दासाथ बाटो अवरुद्ध भइहाल्छ । हरेक राति नदी किनाराका हामी डरैडरले घरभित्र बस्न बाध्य छौं,’ उनले भने।
बाजुराका प्रमुख जिल्ला अधिकारी डोरेन्द्र निरौलाका अनुसार यस वर्ष सबैभन्दा बढी समस्या सेलाघाट र कारागार क्षेत्रमा देखिएको छ । ‘यो वर्षामा सेलाघाट र कारागारमुनिको पहिरोले सडक अवरुद्ध गरिरहेको छ । कारागारमुनिको पहिरोले अलि बढी डिस्टर्ब गरिरहेको छ,’ प्रमुख जिल्ला अधिकारी निरौलाले भने,‘बल्देको पहिरोले भने पछिल्ला एक–दुई वर्षदेखि खासै असर गरेको छैन । सडक विभागले पनि त्यहाँ निरन्तर काम गरिरहेको छ ।’
यद्यपि सडक खुलिरहेको भए पनि बाजुराको मुख्य चिन्ता सडक बन्द हुनु मात्र होइन । सडकसँगै जोडिएको अर्को ठूलो जोखिम बल्दे क्षेत्रमा बूढीगंगा नदी थुनिन सक्ने सम्भावना हो । सडक डिभिजन कार्यालय साँफेबगरका अनुसार यो जोखिम सामान्य पहिरोभन्दा धेरै ठूलो प्राकृतिक विपद्को हुन सक्छ ।
२०७६ सालमा बूढीगंगा नदीले बल्दे क्षेत्रमा साँफे–मार्तडी सडकको करिब चार किलोमिटर भाग बगाएपछि वैकल्पिक ट्रयाक निर्माण गरिएको सडक डिभिजन कार्यालय साँफेबगरका प्रमुख बलीराज मल्लले बताए । अहिले सवारीसाधन त्यही ट्रयाकबाट सञ्चालन भइरहे पनि कमजोर भू–बनोट र नदीको निरन्तर कटानका कारण उक्त क्षेत्र अझै उच्च जोखिममा रहेको उनले बताए ।
मल्लका अनुसार बल्दे क्षेत्रमा माथिबाट पहिरो खस्ने र तलबाट बूढीगंगा नदीले कटान गर्ने समस्या अझै रोकिएको छैन । ‘२०७६ सालमै बल्दे क्षेत्रमा करिब चार किलोमिटर सडक बूढीगंगाले बगाएको हो । अहिले वैकल्पिक ट्रयाक सञ्चालनमा छ । सडकको फेदमा बूढीगंगा नदी बगिरहेको छ,’ उनले भने,‘दुवैतर्फबाट पहिरो लागिरहेको र नदी साँघुरो भएर बगेकाले जोखिम अझै उच्च छ ।’ उनका अनुसार गुइघाटबाट आउने पानीको बहावले बल्दे क्षेत्रमा थप दबाब सिर्जना गरिरहेको छ । ‘मार्तडीनजिक सेलाघाटमा बाढीले सडक अवरुद्ध हुने गरेको छ । गुइघाटबाट आउने पानीको बहाव उल्टो हान्ने भएकाले पनि बल्दे क्षेत्रको पहिरोमा थप असर गरिरहेको छ,’ उनले भने ।
उनका अनुसार बल्दे क्षेत्रमा अहिले माथिबाट पहाड चिरिँदै गएको छ भने तल बूढीगंगा नदीले जमिन कटान गरिरहेको छ । यही अवस्थाले कुनै बेला ठूलो पहिरो खसेर नदी थुनिने जोखिम रहेको प्राविधिकहरू बताउँछन्। यदि ठूलो परिमाणको पहिरोले नदी थुनियो भने केही समयका लागि कृत्रिम ताल बन्ने र पछि ताल फुटेमा विनाशकारी बाढी आउन सक्ने जोखिम छ ।
त्यस्तो अवस्था आए बाजुराका ताप्रीसेरा, सेराबगर, बार्जुगाड, बजेडी, ब्रहृमतोला, मुसी, नडाङ, खेतकोट, ताप्रालगायतका बस्ती प्रत्यक्ष प्रभावित हुन सक्ने प्राविधिक अध्ययनले देखाएको छ । अछामतर्फ बुढाबगर, ठाँटी बजार, साँफेबगर, वैद्यनाथ क्षेत्र, कालीमाटी, चौरपाटी र मंगलसेन आसपाससम्म ठूलो क्षति पुग्न सक्ने सम्भावना रहेको स्थानीय र प्राविधिकहरूको आकलन छ ।
यही जोखिमलाई मध्यनजर गर्दै सडक डिभिजन कार्यालयले चालु आर्थिक वर्षमा बल्दे क्षेत्रको पहिरो नियन्त्रणका लागि ५० करोड रुपैयाँ बजेट विनियोजन भएको कार्यालय प्रमुख मल्लले बताए । तर स्थायी संरक्षणको काम भने अझै सुरु हुन सकेको छैन । ‘तीन वर्षअघि करिब ५५ करोड रुपैयाँ लागतमा संरक्षण गर्न सकिने गरी डीपीआर तयार भएको थियो । अहिले त्यो डीपीआर पुरानो भइसकेकाले नयाँ डीपीआर बनाउने तयारीमा छौं,’ मल्लले भने ।
कार्यालयका अनुसार वर्षायाममा सडक लामो समयसम्म बन्द हुन नदिन डोजर र जनशक्ति जोखिमयुक्त क्षेत्रमा नै तयारी अवस्थामा राखिएको छ । ‘पहिरो गएलगत्तै सडक खुलाउन डोजर र कामदारलाई २४ सै घण्टा स्ट्यान्डबाइमा राखेका छौं । यस वर्षको वर्षामा तीन–चार घण्टाभन्दा बढी सडक अवरुद्ध हुन दिएका छैनौं,’ उनले भने ।
केही घण्टामै सडक खुल्नु मात्रै समाधान नभएको बूढीगंगा नगरपालिका—१ अम्कोटकी बिर्मा केसी बताउँछिन्। ‘वर्षेनि एउटै ठाउँमा पहिरो जाने, करोडौं रुपैयाँ खर्च गरेर मर्मत गर्ने र अर्को वर्ष फेरि उही समस्या दोहोरिने क्रम रोकिएको छैन,’ उनले भनिन् । अम्कोट–द्वारी क्षेत्रका बासिन्दाले वर्षौंदेखि पहिरोको त्रासमा बाँचिरहेको उनले बताइन् । ‘कतिपय परिवारले खेतीयोग्य जमिन, घर र जीविकोपार्जनका स्रोत गुमाइसकेका छन् । तटबन्ध निर्माणका योजना ढिलो सुरु हुने, बजेट ढिलो निकासा हुने र कार्यान्वयनमा राजनीतिक प्रभाव पर्ने गरेको स्थानीयको गुनासो छ,’ बिर्माले भनिन् ।
सडक निर्माण भएको क्षेत्रमा कमजोर भू–बनोट, नदीको निरन्तर कटान, कमजोर ढल निकास, पहिरो नियन्त्रणका दीर्घकालीन संरचनाको अभाव र समयमै संरक्षण योजना कार्यान्वयन हुन नसक्नु मुख्य चुनौतीका रूपमा देखिएको बुढीगंगा नगरपालिका–२ ताप्रीसेराका सर्कल थापा बताउँछन् । ‘वर्षेनि मन्त्री, सांसद र सरकारी टोलीले स्थलगत अनुगमन गरे पनि संरचनात्मक समाधान अझै सुरु हुन सकेको छैन,’ उनले भने ।जोखिमयुक्त क्षेत्रमा विस्तृत अध्ययन गरेर पहिरो नियन्त्रणका उपाय अपनाउने र सुरक्षित वैकल्पिक मार्ग निर्माण गर्न आवश्यक देखिएको स्थानीय बताउँछन् ।