भदौ ९,अछाम
स्थानीय तह गठनपछि सरकारी कार्यालयको सुविधा गाउँमै पुगे पनि बसाइसराईं गर्ने क्रम रोकिएको छैन । यहाँका अधिकासं पुरुषहरु कामको खोजीमा भारत जाने र उनीहरुको लगानी पनि तराइका जिल्लामा नै केन्द्रीत हुन थालेको हो । अहिले अछामका अधिकांश बस्तीहरु रित्तिन थालेका छन् । गाउँघरमा पहिले–पहिले जस्तो खेती गर्ने युवाहरु भेटिन छाडेका छन् । पहिले–पहिले उब्जनी हुने फाँटसमेत अहिले बाँझै हुन थालेका छन् । काम गर्ने जनशक्तिको ठाउँठाउँमा अभाव छ । बस्तुभाउ पाल्ने र घाँस काट्ने पहिले जस्तो काम पनि अत्यन्तै कम हुने गरेको छ ।
बसाइसराईंका कारण पहाडी क्षेत्रमा वनजंगलको भाग बढिरहेको छ । गाउँगाउँमा जंगली जनावर भित्रिन थालेका छन् । चितुवा लगायतका जनावर अहिले बस्तीमै पुगेर आक्रमण गरेका घटना सार्वजनिक भइरहेका छन् । सुख र अवसरको खोजीमा बसाइसराईं हुँदा गाउँघर रित्तिएका हुन् । भएका युवाहरु कामको खोजीमा विभिन्न देशमा जाने र घरमा भएकाहरुले सुखको खोजीमा शहरबजारतिर झर्ने क्रम बढेसँगै गाउँ रित्तिएका हुन् । युवाहरुले पठाएको रकमले तराईतिर बसाईं सर्नाका कारण गाउँघर रित्तिएका छन् । स्तरीय जीवनशैलीको खोजीले जिल्लाका पहाडी बस्तीबाट बसाइ सर्ने क्रम रोकिएको छैन । सबैलाई टोलबस्तीमा मोटरबाटो, खानेपानी, शिक्षा, स्वास्थ्य, बिजुली र सञ्चार सुविधा चाहिएको छ ।
सदरमुकाममा रहेको मंगलसेन नगपालिकाको तथ्यांक अनुसार ०७४ बैसाख देखि चैतसम्म ७८ घरपरीवारका ३१० जना बसाईं सरेका छन् भने नगरपालिकामा आउनेको संख्या १ थियो । ०७५ बैसाख देखि असाढसम्म २५ घरपरीवारका ८४ जना बसाईं सरेर गएका छन् भने नगरपालिकामा बसाईं सरेर आउनेको संख्या १ रहेको छ । पछिल्लो वर्षमा पनि बसाइसराईं गरेर जानेको दर घट्न सकेको छैन ।
गाउँमा बिजुली, सञ्चार, यातायात, शिक्षा, स्वास्थ्य र पूर्वाधार विकास सोचेजस्तो नभएकाले धेरैले गाउ छोड्न थालेको तुर्माखाँदका नैनबहादुर बुढाले बताए ‘मोटरबाटो, खानेपानी, स्वास्थ्य, शिक्षा, बिजुली, सञ्चार र पूर्वाधार विकास राम्ररी पुगेको छैन । बसाईंसराइ रोक्न गाउँ बस्तीमा विकास पुर्याउनु चुनौती छ ।’ उनले भने ।
मंगलसेन नगरपालिकाका प्रमुख पदम बोहराले शिक्षा , स्वास्थ्यमा लगानि लगाएर बसाईंसराई व्यवस्थित गर्नतर्फ लागेको बताए । शिक्षित व्यक्तिलाई उत्पादनमूलक व्यवसायमा भुलाउन सके बसाईंसराइ रोकिने उनले दाबी गरे । ‘उत्पादनमूलक वस्तु, कृषि र पशुपालनमा सेयर लगानीको वातावरण बनाउन योजना बनाउँदै छांै । ’ उनले भने , ‘ समृद्ध, सहकारीमार्फत आर्यआर्जन आत्मनिर्भर बनाउने र गाउँमै बस्न मन पराउने वातावरण मिलाउछौं ’। माटो परीक्षण गर्ने त्यसपछि फलफूल, तरकारी, जडीबुटी, अन्न उत्पादन, पशुपालनमा बिमा गरी आम्दानीको स्रोत बनाएपछि बसाईंसराइ घटाउने उनले बताए । सबै स्कुलमा अंग्रेजी माध्यमको पढाइलाई जोड दिए बसाईंसराइ रोकिन सक्ने शिक्षक कासिराम सुबेदी बताउँछन् । ‘ विकासको लागि सबैभन्दा बलियो शिक्षा हुनुपर्छ । अहिले अंग्रेजी प्रतिको आकर्षण बढ्दो क्रममा छ । त्यसैले अंग्रेजी शिक्षामा जोड दिनुपर्छ ।’ उनले भने ।
‘पंैसा कमाएर सहरमा घरघडेरी जोडेपछि कोही पनि गाउँ फर्कंदैन,’ पूर्वजनप्रतिनिधि पारु नगार्जीले भनिन् ‘आर्यआर्जनका कार्यक्रम, युवालाई गाउँमा स्वरोजगार र दुर्गम बस्तीसम्म राज्यको उपस्थिति जनप्रतिनिधिले देखाउनुपर्छ । बसाईंसराइ रोक्ने उपाय यही नै हो ।’ सर्वसाधारण गाउँको बस्ती चटक्कै छाडेर किन सहर झर्छन् , अनुसन्धान गरी सुविधाको व्यवस्थापन र सेवा उपलब्ध गराउनमा जोड दिनुपर्छ । ’ उनले भनिन् । १० वटै स्थानीय तहमा सम्पन्न भएका नगर र गाउँसभाले पूर्वाधारका योजना आफ्ना नीति तथा कार्यक्रममा पारेका पनि छन् । अब कसरी बसाईंसराइ रोक्न सकिन्छ भन्ने चुनौती जनप्रतिनिधिलाई छ ।