१० भदौ , काठमाडौं
नेकपा माओवादी केन्द्रको सबैभन्दा बढी सदस्य बागमती प्रदेशमा देखिएका छन्। देशभर ७ लाख ५२ हजार ९ सय ५६ सदस्य दाबी गरेको माओवादीले नौ प्रदेश संरचनाको अभ्यास गरिरहेको छ।
अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले साउन १७–२१ सम्म काठमाडौंमा बसेको केन्द्रीय समिति बैठकमा पेश गरेको सदस्यता अनुसार सबैभन्दा बढी बागमती प्रदेशमा देखिएका छन्।
अध्यक्ष प्रचण्डले पेश गरेको राजनीतिक– संगठनात्मक प्रतिवेदन अनुसार काठमाडौं उपत्यकासहित १३ जिल्ला रहेको बागमतीमा १४७३५३ सदस्य छन्।
सदस्य संख्याका हिसाबले मधेस प्रदेश दोस्रोमा छन्। ८ जिल्ला रहेको मधेसमा माओवादीको सदस्य संख्या ११६९७५ छ। रोल्पा, दाङ लगायतका जिल्ला समेटिएको लुम्बिनीमा ११२९१० सदस्य संख्या रहेको प्रचण्डको प्रतिवेदनमा उल्लेख छ।
संगठनात्मक स्थिति र गतिविधिहरूबारे माओवादी सबैभन्दा कमजोर कोशीमा देखिन्छ। १४ जिल्ला रहेको कोशीमा माओवादी सदस्य ९६०१ मात्र छ। जबकि प्रवास समन्वय प्रदेश भन्दा केही बढी मात्र कोशीमा सदस्य छन्। गण्डकी प्रदेशमा ६६ हजार ६ सय ८७, सुदूरपश्चिम प्रदेश ८०४८२ हुँदा कर्णाली प्रदेशमा ८५ हजार ७ सय ७४ सदस्य छन।
यसैगरी सम्पर्क समन्वय प्रदेश १९३१२, उपत्यका विशेषप्रदेश १८३२५, र प्रवास समन्वय प्रदेशमा ५५३७ सदस्य छन्। प्रचण्डका अनुसार यो संख्यालाई अद्यावधिक गर्नुपर्नेछ । माओवादीले भदौ १६ गतेदेखि रुपान्तरण अभियान गर्दैछ। संगठन सुदृढीकरण र सदस्यता अद्यावधिकका लागि माओवादीले तीन महिने अभियान सुरु गर्न लागेको जनाएको छ।
माओवादीको तीन आयोगका साथै ३४ विभागहरू क्रियाशील रहेका छन्। विशेष प्रदेशहरूसहित दश प्रदेश समितिहरू क्रियाशील रहेका छन् । भौगोलिक र गैरभौगोलिक गरी ११०जिल्ला समन्वय समितिहरू रहेका छन् ।
नगर र गाउँपालिका समितिहरू र वडाहरूमा पार्टी समितिहरू विस्तार भएका छन्। जबस, मोर्चा र पेशागत संगठन गरी जम्मा २९ वटा संगठन क्रियाशील रहेका छन्।