काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र (बालेन) शाहले आफ्नी पत्नी सबिना काफ्लेलाई चेकजाँचका नाममा प्रहरीले अनावश्यक दु:ख दिएको आरोप लगाएका छन् ।
उनको निजी सचिवालयका भुपदेव शाहले विज्ञप्ति जारी गर्दै मेयर पत्नी सवार गाडी रोकेर ट्राफिक प्रहरीले अनावश्यक केरकार गरि दु:ख दिएको दावी गरेका हुन् ।
शनिबार राति मेयर शाहले फेसबुकबाट सिंहदरबार जलाइदिने धम्की दिएका थिए । ‘आजको लागि केही भएन, भोलिबाट हाम्रो महानगरपालिकाको कुनै पनि गाडी सरकारबाट रोकियो भने सिंहदरबारमा आगो लगाइदिन्छु । याद राख चोर सरकार’, फेसबुकमा उनले लेखेका थिए ।
उक्त भनाइको चौतर्फी आलोचना भएपछि उनले सचिवालयका तर्फबाट विज्ञप्ति निकालेर यस्तो प्रतिक्रिया दिएका हुन् ।
विज्ञप्तिमा शनिबार बेलका ७ बजे मेयर पत्नी काफ्ले सरकारी गाडीमै चढेर मेडिसिटी अस्पतालको एनआईसीयुमा रहेकी नवजात छोरीलाई स्तनपान गराएर फर्किँदा ट्राफिकले कोटेश्वर चोकमा रोकेर केरकार गरेको थियो ।
'प्रहरीले सामान्य मानवीय संवेदनशीलताको समेत कत्ति पनि ख्याल नराखी करिब ७ मिनेट गाडीलाई सडक किनारामा राख्न लगाई असान्दर्भिक र मनोमानी प्रश्न गरे', विज्ञप्तिमा भनिएको छ, 'सवारी जाँच गर्ने विधि र प्रक्रिया अवलम्बन नगरी प्रहरीले ‘ढोका खोल’, के हो ? कहाँ हो ? यस्तो त्यस्तो गर्ने भन्दै पछिल्लो सीटमा सवार सुत्केरी सविना काफ्लेलाई अनावश्यक केरकार गरेको थियो ।’
कोटेश्वरमा गाडी रोकेपछि सवारी चालकले परिचयपत्र देखाएर विशेष परिस्थितिमा उक्त गाडी प्रयोग गर्नु परेको ब्यहोरा जानकारी गराए पनि प्रश्रव पीडा र शारीरिक समस्यामा रहेकी काफ्लेमाथि प्रहरीबाट असभ्य र निन्दनीय व्यवहार भएको बालेन्द्रको स्वकीय सचिवालयले दावी गरेको छ ।उनले प्रहरीको आचरणमाथि पनि प्रश्न उठाएका छन् ।
'सार्वजनिक यातायात सुव्यवस्थाका लागि कर्तव्यमा रहँदा ट्राफिक प्रहरीका आचरणप्रति आमनागरिक विश्वस्त हुन सक्नुपर्छ । प्रहरीबाट सबै सधैं सुरक्षित हुन्छन् भन्ने विश्वास जगाउनु पर्छ । कर्तव्य पालनाका क्रममा मादकपदार्थ, गुट्खालगायत सुर्तीजन्य पदार्थ सेवन गर्ने, सवारीसाधन जाँच गर्दा रुखो बोलेर हप्काई दप्काइ गर्ने व्यवहार भयो', बालेन्द्रको आरोप छ ।