2026/06/06

वर्षाले अवरुद्ध भारत र पाकिस्तानबीचको खेल आज पुनः हुँदै

Admin

२०८०-०५-२५

501
Shares

काठमाडौं  । एसिया कप क्रिकेटअन्तर्गत गएराति वर्षाले अवरुद्ध भारत र पाकिस्तानबीचको खेल सोमबार(आज) पुनः हुँदैछ । आइतबार रोकिएकै ठाउँबाट आज पुनः खेल शुरू हुनेछ । 

भारतले पहिले ब्याटिङ गर्दै २४.१ ओभरमा दुई विकेट गुमाएर १४७ रन बनाएपछि वर्षा शुरू भएको थियो । तर, मौसम नखुलेपछि खेल रद्द गरेर आजका लागि सारिएको थियो ।

भारत र पाकिस्तानबीचको खेलमा रिजर्भ डे राखिएको थियो । त्यसैले खेल जहाँ रोकिएको थियो त्यहीँबाट सुरु हुनेछ । आज हुन नसकेको अवस्थामा भने खेल रद्द हुँदै दुवै टोलीले एक एक अंक बाँड्नेछन् ।

भारतलाई पहिलो विकेटका लागि रोहित शर्मा र शुभमन गिलले १६.४ ओभरमा १ सय २१ रनको सानदार शतकीय साझेदारी गरेका थिए । रोहित शादब खानको बलमा फहिम अशरफबाट क्याच आउट हुन पुगे ।

रोहित शर्मा ४९ बलमा ६ चौका र ४ छक्कासहित ५६ रनमा आउट भए । गिल ५२ बलमा १० चौकासहित ५८ रनमा क्याच आउट भए । शाहिन शाह अफ्रिदीको बलमा एक्स्ट्रा कभरमा अघा सलमानबाट क्याच आउट भए ।

भारतका विराट कोहली ८ र लोकेश राहुल १७ रनमा क्रिजमा छन् । समूह चरणमा भारत र पाकिस्तानबीचको खेल रद्द भएको थियो । भारत पाकिस्तानसँग उक्त खेलमा २ सय ६६ रनमा अल आउट भएको थियो । सुपर फोरमा भारतको पहिलो खेल हो । पाकिस्तानले भने सुपर फोरमा बंगलादेशलाई ७ विकेटले हराएको थियो ।

हालसम्म भारत र पाकिस्तानबीच एक सय ३३ वटा एकदिवसीय अन्तर्राष्ट्रिय खेल भएका छन् । त्यसमध्ये ७३ खेलमा पाकिस्तानले भारतलाई हराएको छ ।

५५ खेलमा भारत विजयी भएको छ । यी दुई राष्ट्रबीच खेलिएको बाँकी खेल भने अनिर्णीत भएका थिए । 

501
Shares

©News Kunja 2021-2026. All rights reserved.