चीनको हान्झाउमा आयोजना हुने १९औँ एसियाली खेलकुद प्रतियोगिता (एसियाड)मा नेपाली पुरुष क्रिकेट टोलीले समूह ‘ए’मा माल्दिभ्स र मंगोलियाविरुद्ध खेल्ने भएको छ । यसअघि आयोजक र एसिसीले निकालेको ड्रमा नेपाल समूह ‘बी’मा थियो । समूह बीको नेपालले जापान, कम्बोडिया र हङकङविरुद्ध खेल्नुपर्ने थियो । आयोजकले एक्कासि पुरुषतर्फको खेल र समूह परिवर्तन गरेको हो । एसियाडमा सन् २०१० देखि क्रिकेट समावेश गरेको थियो । नेपालले लगातार एसियाडमा सहभागिता जनाइरहेको छ । यसपटक रोहितकुमार पौडेलको कप्तानीमा नेपालले प्रतिस्पर्धा गर्नेछ ।
नेपालले मंगोलियाविरुद्ध २७ सेप्टेम्बर मंगोलियाविरुद्ध खेल्नेछ । १ अक्टोबरमा नेपालको सामना माल्दिभ्ससँग हुनेछ । समूह विजेता क्वार्टरफाइनलमा पुग्नेछ । ३–४ अक्टोबरमा क्वार्टरफाइनल खेल सुरु हुनेछ । प्रतियोगिताको सेमिफाइनल ६ अक्टोबरमा हुनेछ । स्वर्ण र कांस्य पदकको खेल एकै दिन ७ अक्टोबरमा हुने आयोजकले जनाएको छ । नेपाल क्रिकेट संघ (क्यान) ले टी–२० फम्र्याटका लागि केही खेलाडी परिवर्तन गरेको छ । लामो समयपछि विकेटकिपर ब्याट्सम्यान विनोद भण्डारी टोलीमा फर्किसकेका छन् । उनी अहिले भारतमा विशेष प्रशिक्षणमा छन् ।
नेपाल १७औँ स्थानमा
टी–२० विश्वकप छनोटअघि तयारी
आयोजक नेपालसँगै मलेसिया, युएई, हङकङ, ओमान, बहराइन, सिंगापुर र एसिया क्षेत्रीय छनोट ‘ए’बाट आउने एक टोलीले भाग लिनेछन् । एसिया क्षेत्रीय छनोट ‘ए’ सेप्टेम्बरमा कतारमा हुनेछ । छनोट ‘ए’मा कतार, कुवेत, माल्दिभ्स र साउदी अरेबिया छन् । विजेता टोलीले अन्तिम क्षेत्रीय छनोट खेल्नेछ । एसिया छनोटको शीर्ष दुई टोलीले विश्वकपमा स्थान बनाउनेछन् ।
नेपाली टोली
रोहितकुमार पौडेल (कप्तान), कुशल भुर्तेल, दीपेन्द्रसिंह ऐरी, आसिफ शेख (विकेटकिपर), कुशल मल्ल, गुलसन झा, करण केसी, अभिनाश बोहरा, सन्दीप लामिछाने, ललितनारायण राजवंशी, विवेककुमार यादव, प्रतिश जिसी, सोमपाल कामी, सन्दीप जोरा र विनोद भण्डारी (विकेटकिपर)
घिसिङ सेफ दी मिसन
१९औँ एसियाडमा नेपाली टोलीको नेतृत्व राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव टंकलाल घिसिङले गर्ने भएका छन् । नेपाल ओलम्पिक कमिटी (एनओसी)को १६औँ कार्यकारी बैठकले एसियाडमा नेपालको सेफ दी मिसनमा घिसिङलाई नियुक्त गरेको हो । एनओसीका अध्यक्ष जीवनराम श्रेष्ठको अध्यक्षतामा बसेको बैठकले नेपालको डेपुटी सेफ दी मिसनमा कमिटीका उपाध्यक्ष तथा कार्यकारी निर्देशक चतुरानन्दराज वैद्य र परिषद्को बोर्ड सदस्य अञ्जन धमलालाई नियुक्त गरेको छ । बैठकले ओलम्पिक बडापत्रको धारा २७ र २८ को उपधारा ४ र ५ अनुसार निर्णय गरेको हो । एसियाडजस्तो अन्तर्राष्ट्रिय प्रतियोगितामा नेपाली टोलीका सेफ दी मिसनको चयन एनओसीले गर्छ । प्रतियोगिताका क्रममा सेफ दी मिसन खेलाडी भिलेजमा बस्नुपर्नेछ । उनको पहुँच चिकित्सकीय, प्रशिक्षण तथा प्रतिस्पर्धा स्थल, मिडिया सेन्टर र एसियाली फेमिली होटेलमा पनि हुने गर्छ ।
खेलाडी संख्या निश्चित
एनओसीको बैठकले प्रतियोगितामा सहभागी हुने खेल तथा त्यसमा सहभागी हुने खेलाडी संख्याको निर्णय गरेको छ । नेपालले आधिकारिक रूपमा २९ खेलमा दुई सय ५३ खेलाडीले भाग लिनेछन् । गत १२ भदौमा अनलाइन डेलिगेसन रजिस्ट्रेसन बैठक (डिआरएम) अनुसार यो निर्णय भएको एनओसीले जनाएको छ । बैठकमा उपाध्यक्ष वैद्य, कार्यालय सचिव सुजनलाल श्रेष्ठसँगै परिषद्को बोर्ड सदस्य धमलाले भाग लिएका थिए । ३० भदौमा हाङझाउमै भौतिक उपस्थितिमा अन्तिम डिआरएम बस्नेछ ।
आर्चरीमा ४, एथलेटिक्समा ८, बास्केटबलमा ४, ब्याडमिन्टनमा ८, बक्सिङमा १३, ब्रेकिनमा १, क्यानोईमा १, क्रिकेटमा १५, साइक्लिङमा २, ई–स्पोर्टस्मा २३, फेन्सिङमा ६, फुटबलमा २२, गल्फमा ६, ह्यान्डबलमा १६, जुडोमा ८, कपर्दीमा १२, कराँतेमा ८, रग्बीमा १२, सुटिङमा २, स्क्वासमा ६, पौडीमा ४, टेबलटेनिसमा ६, तेक्वान्दोमा ११, टेनिसमा ६, ट्रायथलनमा ४, भलिबलमा २४, भारोत्तोलनमा ५, कुस्तीमा ४ तथा उसुमा १२ खेलाडीको सहभागिता रहनेछ ।