प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र चीनका राष्ट्रपति सी चिनफिङबीच हाङछावमा भेटवार्ता भएको छ ।
प्रचण्ड नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै अमेरिकाको न्युयोर्कबाट सिधै शनिबार बिहान चीन पुगेका हुन् ।
हाङछावमा भएको भेटवार्ताका क्रममा केही नयाँ सम्झौता हुने बताइएको छ। तर नेपाल सन् २०१७ मा आवद्ध भएको बेल्ट एन्ड रोड परियोजनामा कुनै प्रगति भएन ।
उक्त छलफलमा चिनियाँ महत्त्वकांक्षी परियोजना बेल्ट एण्ड रोड इनिसियटिभ (बीआरआई) कार्यान्वयनबारे छलफल भए पनि ठोस प्रगति भने हुन सकेन। नेपाली पक्षले कार्यान्वयनका लागि गृहकार्य नपुगेको जनाएको छ।
हाङछाव सहरमा दुई पक्षका प्रतिनिधिमण्डलसहित भएको भेटवार्तामा नेपाल–चीन रणनीतिक साझेदारीबारे छलफल भएको चीनका लागि नेपाली राजदूत विष्णुपुकार श्रेष्ठले बताएका छन् ।
हाङछावमा शनिबार राति ८ बजेदेखि शुरु हुने १९ औं एसियाली खेलकुदको उद्घाटन समारोहमा उपस्थित हुनुअघि दाहालले राष्ट्रपति सीसँग भेटवार्ता गरेका हुन् ।
भेटवार्तापछि खेलकुद उद्घाटन समारोहमा त्यहाँ पुगेका प्रधानमन्त्री दाहाललगायत विभिन्न मुलुकका राष्ट्र प्रमुख तथा सरकार प्रमुखको सम्मानमा राष्ट्रपति सिले रात्रीभोजको आयोजना गरेका छन् ।
यसअघि शनिबार नै हाङछावमा राष्ट्रपति सीले कम्बोडियाका राजा नरोद्दम सिहामोनीसँग पनि भेटवार्ता गरे ।
शनिबारै राति राष्ट्रपति सीसँग टिमोर लेस्टेका प्रधानमन्त्री सानाना गुस्माओको पनि भेटवार्ता गर्दै छन् ।
