नेपाली कांग्रेसले संसद्मा दर्ता भएको विद्यालय शिक्षा विधेयकमाथि सरोकारवालासँग छलफल गरेको छ । कांग्रेसले आफ्नो पार्टीबाट संसद्मा प्रतिनिधित्व गर्ने सबै सांसदसहित सरोकारवाला पक्षसँग मंगलबार छलफल गरेको हो ।
नयाँबानेश्वरस्थित अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा जारी छलफलमा पार्टी सभापति शेरबहादुर देउवा, उपसभापति पूर्णबहादुर खड्का, महामन्त्री गगन थापा, प्रमुख सचेतक रमेश लेखकलगायतका सांसद उपस्थित थिए ।
छलफलमा नेपाल शिक्षक महासंघ र घटक संस्था, निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन नेपाल (प्याब्सन), उच्च शिक्षालय तथा विद्यालय सङ्घ (हिसान), राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसिएसन (एन प्याब्सन), सामुदायिक विद्यालय व्यवस्थापन समिति महासंघ, नेपाललायतका संस्थाका प्रमुख र प्रतिनिधि पनि सहभागी थिए ।
उक्त छलफलमा सभापति देउवाले सामुदायिक विद्यालयका शिक्षक–कर्मचारी र सरोकारवालाका समस्या हल हुने गरी विद्यालय शिक्षासम्बन्धी विधेयक पारित गर्नुपर्ने बताएका छन् ।
प्रतिनिधिसभामा दर्ता भएको र शिक्षकसँगको सहमतिलगायतका विषयमा कांग्रेस संसदीय दलले राखेको सरोकार भएका पक्षसँगको छलफल कार्यक्रमको समापनमा सभापति देउवाले यसो भनेका हुन् ।
'सधैँभरि समस्या बल्झाएर राखेर हुन्न । विधेयकमा सम्बोधन गर्न सकिने विषय मिलाएर समेट्नुपर्छ । अहिले पनि यति धेरै कुरा आएका छन् । यसलाई सम्बोधन गराउन हामी पहल गर्नेछौँ', उनले भने ।
उक्त विधेयकमा असन्तुष्टि जनाउँदै नेपाल शिक्षक महासङ्घले यही असोज ३ गतेदेखि ५ गतेसम्म काठमाडौँ केन्द्रित सडक आन्दोलन गरेपछि शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयसँग छ बुँदे सहमति भएको थियो ।
कांग्रेले असोज ४ बाट सुरु भएको केन्द्रीय कार्यसमितिको बैठकमा असोज ९ गते संसदीय दलको बैठकमार्फत उक्त विधेयकबारे छलफल गर्ने निर्णय गरेको थियो ।
कांग्रेसले सरोकारवालाको सुझावका आधारमा विधेयकलाई परिमार्जन गराउन आफ्नो दलले भूमिका खेल्ने प्रतिबद्धता व्यक्त गरेको छ ।
संसद्मा दर्ता भएको विद्यालय शिक्षा विधेयकमा असन्तुष्टि जनाउँदै नेपाल शिक्षक महासंघले यही असोज ३ गतेदेखि ५ गतेसम्म काठमाडौं केन्द्रित सडकमा आन्दोलन गरेपछि शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयसँग छ बुँदे सहमति भएको थियो ।
उक्त विधेयक गत भदौ २७ गते प्रतिनिधिसभामा दर्ता भएको थियो भने अब बस्ने संसद्को बैठकमा प्रस्तुत हुनेछ ।