2026/08/25

मनसुन हटे पनि किन हुन्छ वर्षा?

Admin
Admin

२०८०-०६-३०

506
Shares
मनसुन हटे पनि किन हुन्छ वर्षा?

मनसुन– वर्षा गराउने एउटा त्यस्तो मौसम प्रणाली हो, जसले नेपालमा वर्षायाम सुरु गराउँछ। मौसमविद्का अनुसार गत जेठ ३१ गते नेपाल भित्रिएको मनसुन असोज २८ गते बिदा भइसकेको छ। 

मनसुन बिदा भएसँगै वर्षायाम अन्त्य भएको मानिन्छ। वर्षायाम सकिनु भनेको सामान्यतया अब वर्षा हुँदैन भन्ने बुझाइ छ। 

तर मनसुन बिदा भएको भोलिपल्ट अर्थात् सोमबार राति काठमाडौँलगायत देशका विभिन्न स्थानमा वर्षा भएको छ। 

मौसम पूर्वानुमान महाशाखाका मौसमविद् गोविन्द झाका अनुसार गएराति सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेश तथा बागमती र मधेश प्रदेशको पश्चिमी भूभागमा हल्कादेखि मध्यमसम्म वर्षा भएको छ। 

‘बागमती प्रदेशको दोलखादेखि पश्चिम तथा मधेशको रौतहटदेखि पश्चिमका जिल्लामा वर्षा भएको छ’, मौसमविद् झाले मंगलबार बिहान भने। 

मनसुन बिदा भइसक्दा पनि किन भयो त वर्षा?
मौसमविद् झाका अनुसार मनसुन बिदा हुँदैमा वर्षा नहुने होइन। अन्य विभिन्न मौसम प्रणालीका कारण पनि नेपालमा अन्य समयमा पनि वर्षा हुने गर्छ। 

‘नेपालमा चार सिजन हुन्छ, जसमा धेरथोर मात्रामा वर्षा हुन्छ’, मौसमविद् झाले भने, ‘तर मनसुनमा जति वर्षा अन्य सिजनमा हुँदैन।’

उनका अनुसार अहिले पोस्ट मनसुनको सिजन चलिरहेको छ। यो बेला विशेषगरी पश्चिमी वायुको प्रभाव बढी हुन्छ। यसले उच्च पहाडी तथा हिमाली भेगमा हिमपात गराउँछ भने बाँकी क्षेत्रमा वर्षा। 

‘पश्चिमबाट नेपाल प्रवेश गर्ने पश्चिमी वायु कति शक्तिशाली रूपमा आइपुग्छ, त्यही अनुपातमा वर्षा र हिमपात घटी वा बढी हुन्छ’, मौसमविद् झाले भने। 

मूलतः पोस्ट मनसुनका बेला मनसुनमा जस्तो भारी वर्षा हुने सम्भावना हुँदैन। मौसमविद् झाका अनुसार मनसुनका बेला ८० प्रतिशत वर्षाको सम्भावना हुन्छ भने अहिले जारी पोस्ट मनसुनमा १०–१२ प्रतिशतसम्म मात्र वर्षा हुने सम्भावना हुन्छ। 

‘तर कहिलेकाहीँ पश्चिमी वायुका साथै चक्रवातको प्रभाव एकसाथ पर्‍यो भने भारी वर्षा (तथा हिमपात) पनि हुनसक्छ’, उनले भने। 

उनका अनुसार अझै ३ दिनसम्मलाई हल्का वर्षाको सम्भावना देखिएको छ। ‘तर गएरातिजस्तो वर्षा हुँदैन, हल्का खालको मात्र वर्षा हुने सम्भावना छ।’

506
Shares

धेरै हेरिएका

© News Kunja 2021-2026. All rights reserved.

News Kunja