2026/08/26

बैंकहरूले दिएनन् नयाँ नोट, सर्वसाधारणलाई सास्ती

Admin
Admin

२०८०-०७-०२

504
Shares
बैंकहरूले दिएनन् नयाँ नोट, सर्वसाधारणलाई सास्ती

तीनकुनेका घनश्याम अधिकारी बुधबार पुतलीसडकस्थित नेपाल इन्भेस्टमेन्ट मेगा बैंकमा नयाँ नोट साट्न पुगे । घर जाँदा नयाँ नोट लिएर जाने योजना बनाएका उनले त्यहाँ नयाँ नोट साट्न पाएनन् । बैंकका कर्मचारीले पुरानै नोट दिने भनेपछि उनी रित्तो हात फर्किए । त्यसपछि उनी बालुवाटारस्थित नेपाल राष्ट्र बैंकको केन्द्रीय कार्यालय पुगे । त्यहाँ नयाँ नोट साट्नेको अत्यासलाग्दो भिडभाड थियो । तर, नयाँ नोट पाउने आशामा दिउँसो तीन घन्टा लाइन लागे । ‘नयाँ नोट पाउन निकै कठिन भयो, बैंकहरूले पुरानो नोट देखाउँदै नयाँ नोट दिन मानेनन्,’ उनले भने, ‘घरमा लैजानका लागि नयाँ नोट साट्न आएको दिनभरि लाग्यो ।’ 

दसैँका लागि नयाँ नोट साट्न पुगेका कवीन्द्र तिमल्सिनाले पनि उस्तै सास्ती खेप्नुपर्‍यो । बुधबार बिहान राष्ट्र बैंक पुगेका उनले नयाँ नोट साट्न दिनभर लाइन बस्नुपर्‍यो । ‘बिहान १० बजेदेखि लाइन बस्दा दिउँसो २ बजे टोकन हात पर्‍यो,’ उनले भने, ‘बेलुकीपख मात्रै नयाँ नोट हात पर्‍यो, राष्ट्र बैंकलाई धन्यवाद ।’

बैंकहरूले नयाँ नोट लुकाएपछि दसैँको वेला सर्वसाधारणलाई नोट साट्न सास्ती हुने गरेको छ । दसैँको वेला टीका लगाउँदा दक्षिणा आदान–प्रदान गर्न नयाँ नोट प्रयोग गर्ने चलन छ । तर, सबैजसो कमर्सियल बैंकहरूले नयाँ नोट साट्न पुगेका सेवाग्राहीलाई रित्तै हात फर्काउने गरेका छन् । कतिपयले नयाँ नोट साट्न गएकालाई पुरानै नोट थमाएरसमेत पठाउने गरेका छन् । 

 

तर, नेपाल राष्ट्र बैंकले यति छिटो नयाँ नोटको अभाव हुने अवस्था नभएको बताएको छ । राष्ट्र बैंकले गत वर्षझैँ बैंक तथा वित्तीय संस्थाहरूलाई नयाँ नोट दिएको छ । यस वर्ष दसैँका लागि १५ अर्ब नयाँ नोट खपत हुने अनुमान राष्ट्र बैंकले गरेको छ । सोहीअनुसार राष्ट्र बैंकले कमर्सियल, विकास बैंक र अन्य वित्तीय संस्थाहरूलाई उपलब्ध गराइरहेको छ । हालसम्म कमर्सियल बैंकहरूले कम्तीमा पनि ६–७ करोडका दरले नयाँ नोट लगिसकेका छन् । राष्ट्र बैंकले अन्य विकास बैंक र सहकारीहरूलाई पनि मागे जति नयाँ नोट उपलब्ध गराएको दाबी गरेको छ । तर, नयाँ नोट साट्न पुगेका सर्वसाधारण भने रित्तै फर्कने गरेका छन् ।

नेपाल राष्ट्र बैंकका सहप्रवक्ता डा. डिल्लीराम पोख्रेलले राष्ट्र बैंकले गत वर्षकै तुलनामा नयाँ नोट छापेको बताए । उनले बैंकहरूमा पनि गत वर्षकै परिमाणमा नयाँ नोट पठाएको बताउँदै यसमा बैंकहरूले इमानदारी नदेखाएको जानकारी दिए । ‘गत वर्षकै मात्रामा नयाँ नोट छापेको हो, अभाव भएको होइन, तर यसपटक नयाँ नोटको अभावझैं भयो, अन्य बैंक तथा वित्तीय संस्थाहरूले नदिएपछि राष्ट्र बैंकमै आउनेहरूको भिड छ,’ उनले भने, ‘लामो लाइन लागेर मानिसहरूले नयाँ नोट साट्नुभएको छ, बैंकहरूले मागे जति पैसा पनि राष्ट्र बैंकले दिएको छ, यसबारेमा थप निर्देशन हामी दिन्छौँ, आफ्ना क्लाइन्टहरूलाई उहाँहरूले सहजै नयाँ नोट दिनुपर्छ ।’ 

उनका अनुसार राष्ट्र बैंकले आवश्यकताअनुसार नयाँ नोट छाप्ने गर्छ । विगतका वर्षहरूमा छापेको नयाँ नोट स्टक रहेकोले यो वर्ष कम नयाँ नोट छापिएको थियो । तर, बजारको माग थेग्न कठिन भए पुनः नयाँ नोट छापिनेछ । राष्ट्र बैंकले दसैँको वेलामा मात्रै नभएर अन्य समयमा पनि नयाँ नोट छाप्ने गर्छ । तर, दसैँको वेलामा बढी खपत हुने भएकाले व्यवस्थापन गर्न कठिन हुन्छ । 

राष्ट्र बैंकले पर्याप्त नयाँ नोट उपलब्ध गराएको छ, बैंकहरूले आफ्ना क्लाइन्टलाई दिनुपर्छ
गत वर्षकै मात्रामा नयाँ नोट छापेको हो, अभाव भएको होइन, तर यसपटक नयाँ नोटको अभावझैं भयो, अन्य बैंक तथा वित्तीय संस्थाहरूले नदिएपछि राष्ट्र बैंकमै आउनेहरूको भिड छ ।

लामो लाइन लागेर मानिसहरूले नयाँ नोट साट्नुभएको छ, बैंकहरूले मागे जति पैसा पनि राष्ट्र बैंकले उपलब्ध गराएको छ, यसबारेमा थप निर्देशन हामी दिन्छौँ, आफ्ना क्लाइन्टहरूलाई उहाँहरूले सहज रूपमा नयाँ नोट दिनुपर्छ ।

504
Shares

धेरै हेरिएका

© News Kunja 2021-2026. All rights reserved.

News Kunja