नेपालमा मनाइने चाडपर्वमध्ये बडादसैँ प्रमुख चाड हो। शरद ऋतुमा मनाइने बडादसैँ एकता, प्रेम, सद्भाव र मिलनको पर्व हो। शारदीय उत्सव पनि भनिने महान् चाड बडादसैँका अनेक धार्मिक, सांस्कृतिक, सामाजिक र आर्थिक पाटा छन्।
विसं २०८० को बडादसैँको पावन अवसरमा केही रोचक पक्षहरुबारे यहाँ जानकारी प्रस्तुत गरिएको छ–
सोह्र श्राद्ध
घटस्थापना
सोह्र श्राद्ध औँसीमा सकिन्छ। त्यसपछिको परेवा घटस्थापनाको दिन हो। यसलाई जमरा राख्ने दिन पनि भनिन्छ। यस दिन घरघरमा पूजा कोठा सफा गरी शुद्ध माटो ल्याई जौ छरिन्छ र घाम र वायु नछिर्ने गरी छोपिन्छ। नौ रात पूरा भएपछि दशमीका दिन विधिपूर्वक पूजा गरी, दुर्गा भवानीलाई चढाएर, नवदुर्गाको प्रसादस्वरुप टीकासँगै जमरा शिरमा लगाइन्छ।
जमरा
जमरा पहेँलो हुन्छ। घटस्थापनाका दिन पूजा कक्षभित्र घामका किरण नछिर्ने पवित्र स्थानमा माटोको भाँडा वा सालका पातको टपरीमा माटो राखेर त्यस माटोमा जमराका लागि जौ छरिन्छ। त्यसलाई हावापानी नछिर्ने गरी छोपिन्छ र ८ वा ९ दिन र रातसम्म शुद्ध पानी छर्केर पहेँलो, झण्डै एक कुरेत लामो टुसा पलाएको जौको बिरुवा पलाउँछ। जमरा यसैलाई भनिन्छ र यही पहेँलो टुसालाई हामी शिरमा पहिरिन्छौँ।
त्यही जौ खेतबारीमा छर्दा हरियो टुसाउँछ तर कोठाभित्र छोपेर उमार्दा पहेँलो हुन्छ। किन ? किनकि, कोठाभित्र पर्याप्त सूर्य–किरण र हावा छिर्न पाउँदैन। जसका कारण टुसाएको जौका बिरुवामा हरितकण (क्लोरोफिल) सक्रिय हुन पाउँदैन। यही कारण जमरा पहेँलो हुन्छ। परापूर्वकालदेखि यही पहेँलो जमरालाई बडादसैँमा नवदुर्गाको प्रसादस्वरुप शिरमा पहिरिँदै आएका छौं र जमरा बडादसैँको प्रतीक बन्दै आएको छ।
नवदुर्गा
बडा दसैँको नवरात्र वा नौरथा अर्थात् घटस्थापनापछिका नौ दिन नवदुर्गाको पूजा–आराधना गरिन्छ।
शैलपुत्री, ब्रम्हचारिणी, चन्द्रघण्टा, कुश्माण्डा, स्कन्दमाता, कात्यायनी, कालरात्रि, महागौरी र शिद्धिदात्रीसमेतका दुर्गा भवानीका ९ स्वरुप हुन् र यिनीहरुको पूजा गरी शक्तिको आराधना गरिन्छ।
बडादसैँका अवसरमा पूजा–आराधना गरिने काठमाडौँ उपत्यका वरिपरिका मुख्य शक्तिपीठहरु नक्साल भगवती, भद्रकाली, मैतीदेवी, दक्षिणकाली, गुहेश्वरी, डिल्लीबजारस्थित कालीकादेवी, संकटा, महांकाल, नरदेवी, पचलीभैरव, शोभा भगवती, विजेश्वरी, इन्द्रायणी, भैरवी गोकर्ण आदि मुख्य हुन्।
फूलपाती
नवरात्रअन्तर्गतको सातौँ दिन फूलपाती पर्दछ। फूलपातीको दिन केरा, दारिम, धान, हलेदो, बेलपत्र, अशोक, जयन्ती, उखु र मानेलगायत नौ थरीका भिन्न लहरापात तथा विभिन्न जातका फूल र पात पूजाकोठामा भित्र्याइन्छ।
काठमाडौंको हनुमानढोका दरबारमा गोरखाबाट ल्याइएको फूलपाती भित्र्याउने परम्परा छ।
कालरात्रि
फूलपातीको भोलिपल्ट अर्थात् घटस्थापनापछिको आठौँ दिनलाई महाष्टमी भनिन्छ। महाष्टमीको रातलाई कालरात्रि पनि भनिन्छ।
हिन्दू जनजीवनमा वर्षका ३६५ दिनमा चार मुख्य रात्रिविशेष छन्–
शिवरात्रिः भगवान् शिवको जन्म भएको रात (महाशिवरात्रि)
मोहरात्रिः भगवान् श्रीकृष्णको जन्म भएको रात (श्रीकृष्णजन्माष्टमी)
सुखरात्रिः यमपञ्चकअन्तर्गत लक्ष्मीपूजाको रात (धनधान्यकी देवी श्रीमहालक्ष्मीको पूजाका लागि जाग्राम बस्ने रात),
कालरात्रिः बडादसैँ, नौरथा अन्तर्गत महाअष्टमीको रात (शक्तिस्वरुपा भगवती कालीको पूजा–आराधना गरिने रात)
यी चार रात्रिमध्ये कालरात्रिको विशेष महिमा छ। यस रात प्रकृतिको आद्यशक्ति देवी कालीको उपासना गर्ने र कुनैकुनै समुदायमा शक्तिकी देवी कालीलाई विधिपूर्वक बलि दिने गरिन्छ। शक्तिका उपासकहरु दिनभर निराहार व्रत बसेर, स्नान गरेर, मध्यरात कालरात्रि पूजा गर्छन् र परम्पराअनुसार पशु बलि दिन्छन्। होमादि गर्दछन्। यस रात मालश्री भजन गाउँछन्। कतिपयले रातभर भजनकीर्तन गर्छन्।
महानवमी
महाष्टमीको भोलिपल्ट र घटस्थापनापछिको नवौँ दिन महानवमी पर्व हो। महानवमीको दिन पनि देवी भगवतीको पूजा गरिन्छ। केही समुदायमा बोका, कुखुरा, हाँस, परेवा, राँगा, पाठी आदि बलि दिने चलन पनि छ।
तर, यो चलन बिस्तारै कम हुँदै छ। पशुबलि नदिई नवदुर्गाको प्रतीकस्वरुप नौ कन्यालाई पूजा गरी, वस्त्र भूषण पहिर्याउनुका अलावा मिष्ठान्न भोजन गराउने र दक्षिणा प्रदान गर्ने प्रचलन बढ्दै गएको छ।
पशुबलि नदिने र शाकाहार समुदायले कुभिण्डो, नरिवल, उखु वा अन्य कुनै फल र पीठोबाट तयार पारिएको खाद्यवस्तु चढाउने प्रचलन छ।
विजया दशमी
महानवमीको भोलिपल्ट र घटस्थापनाको दसौँ दिन विजया दशमी पर्दछ। दशमीका दिन मान्यजनबाट टीका र जमरा थापिनुका साथै आशिर्वाद ग्रहण गरिन्छ। त्रेता युगमा वनवासमा रहेको बेला पत्नि सीतालाई हरण गर्ने लंकाका राजा रावणलाई दशरथपुत्र रामले यही दशमीका दिन विजय गरी वध गरेको प्रसंग रामायणमा पाइन्छ।
रावण वधका लागि रामचन्द्रले नारद ऋषिको सल्लाह मुताविक ९ दिनसम्म दुर्गा देवीको पूजा र आराधना गरेका थिए। देवी कृपाबाट रामले रावणमाथि विजय पाउन सकेकाले यस दिनलाई विजया दशमी भनिएको र विजयको प्रतीक रातो टीका र जमरा पहिरिने प्रचलन बसेको बताइन्छ।
नवरात्रि वा नौरथामा महाकाली, महालक्ष्मी र महासरस्वतीको पूजा–आराधना गरी जन्म जन्मान्तरसम्म शक्ति र सम्पन्नता आर्जन गर्न सकिने विश्वास गरिन्छ। यही विश्वासलाई पूर्णता दिन घटस्थापनापछिका ९ दिन र रात विभिन्न देवदेवीका मन्दिर र आस्थाका केन्द्र तथा शक्तिपीठहरुमा पूजा अर्चना गरिन्छ।
आशिर्वचन
विजया दशमीका दिन मान्यजनले टीका लगाइदिँदा प्रदान गरिने आशिर्वाद यस्तो हुन्छ–
आयू द्रोण सुते श्रेयं दशरथे शत्रुक्षयं राघवे
ऐश्वर्यं नहुषे गतिश्च पवने मानं च दुर्याेधने
शौर्यं शान्तनवे बलं हलधरे सत्यं च कुन्तीसुते
विज्ञानं विदुरे भवतु भवतां कीर्तिश्च नारायणे
शब्दार्थः
द्रोणाचार्यका छोरा अस्वत्थामाको जस्तो लामो आयु होस्।
राजा दशरथको जस्तो सम्पत्ति होस्।
रामचन्द्रको जस्तो शत्रुनाश गर्ने क्षमता होस्।
नहुष राजाको जस्तो ऐश्वर्य होस्।
वायुको जस्तो गति होस्।
दुर्याेधनको जस्तो मान होस्।
भीष्मको जस्तो पराक्रम होस्।
बलरामको जस्तो बल होस्।
राजा युधिष्ठिरजस्तो सत्यवादी होस्।
विदुरको जस्तो ज्ञान र नारायणको जस्तो कीर्ति होस्।
हिन्दू समाजमा बडादसैँमा टीका थाप्नेहरुलाई मान्यजनहरुबाट दिइने आशिर्वाद यही हो।
कोजाग्रत पूर्णिमा
दशमीपछिका केही दिन घरमा आउने अतिथिहरुलाई टीका, जमरा र दक्षिणा प्रदान गरिन्छ। टीकापछिका केही दिनमा आउने पूर्णिमालाई कोजाग्रत पूर्णिमा भनिन्छ। कोजाग्रत पूर्णिमाका दिन दसैँ पूजा विसर्जन गरिन्छ। यस रात जागा रहेर देवीको आराधना गर्ने र भोलिपल्ट देवीको विसर्जन पूजा गर्ने प्रचलन छ।
दसैँका अन्य पक्ष
चंगा
दसैँमा बालबालिकाहरु चंगा उडाएर मनोरञ्जन गर्ने गर्दछन्। नेपाली समाजमा दसैँ र चंगा एकअर्काका परिपूरकजस्तै छन्।
पिङ
दसैँमा नेपालका गाउँ र सहरमा पिङ खेल लोकप्रिय छ। युवायुवती, वृद्धवृद्धा र बालबालिकाहरु दसैँका अवसरमा पिङमा झुमिरहेका हुन्छन्। पिङ दसैँको समय मनोरञ्जनको एक अभिन्न साधन हो।
नयाँ नोट
हरेक वर्षको बडादसैँको अवसरमा नेपाल राष्ट्र बैंकले नयाँ नोटहरु बजारमा पठाउने र देशभर प्रचलनमा आउने गर्दछ। घरघरमा दसैँमा टीका–जमरासँग मान्यजनहरुबाट नयाँ नोटहरु प्रदान गर्ने गरिन्छ।
भेटघाटको पर्व
दसैँ लामो समयदेखि परिवारजन र आफन्त तथा इष्टमित्रबाट टाढा रहेकाबीच भेट हुने पर्वका रुपमा पनि परिचित छ। वर्षभरि टाढा रहेका परिवारका सदस्य पनि दसैँ एकै स्थानमा रहेर मनाउने र आपसमा रमाइलो गरी खाने पिउने, टीका आशिर्वाद ग्रहण गर्ने उद्देश्यले देश विदेशमा रहेकाहरु दसैँमा मान्यजन तथा पुर्ख्यौँली घरमा आउने क्रम बढ्छ।
शक्तिको आराधना
दसैँलाई शक्ति समराधन पर्व पनि भनिन्छ। दसैँमा घरघरमा मालश्री भजन गाउने गरिन्छ। शक्तिकी देवी नवदुर्गा भवानीको आराधना गरिन्छ। वर्षभरि शक्ति प्राप्त हुन सकोस्, सम्पन्नता मिलोस् भनी कामना गरिन्छ। घरघरमा रहेका हातहतियार अस्त्र, सश्त्रहरुको पूजा गरिन्छ र घर–करेसा सरसफाइ गरी रंगीचंगी बनाइन्छ।
तुलजा भवानी
बडादसैँमा पुजिने नेपालको मुख्य देवता तुलजा भवानी हो। यसको भन्दिर काठमाडौंको हनुमानढोका राजदरबारनजिक छ। यो मन्दिर वर्षभरिमा महानवमीको दिन एक दिन मात्र खुल्ने गर्दछ।
दसैँका नकारात्मक पक्ष
दसैँको नकारात्मक पक्षमध्ये जुवा र तास खेलिनु हो। जुवा तासको खेलबाट कयौँको घरबार बिग्रिएको, आर्थिक अवस्था जीर्ण बनेका उदाहरण धेरै छन्। जुवा र तासलाई राज्यको कानुनले निषेध गरेको भए तापनि यसको पूर्ण नियन्त्रण हुन सकेको छैन। यसको खराब पक्षबाट आफू बच्नु र अरुलाई बचाउनु सचेत र असल नागरिकको कर्तव्य एवं दायित्व हो।
बलि र मासु
दसैँमा पूजा आराधनासँगै देवीलाई पशुबलि चढाइने र ती पशुको मासु प्रसाद मानेर खाने प्रचलन छ। घरका मानिसबाहेक दसैँमा घरमा आउने अतिथिलाई समेत मासुका परिकार खुवाउने चलन छ। खासमा दसैँ पर्व नेपाली समाजमा मासु खाने पर्वका रुपमा समेत परिचित छ।
यद्यपि, पशु बलिविरुद्धको आवाज बढ्दो छ।
पशु अधिकारकर्मीहरूले निरीह पशुलाई हत्या गर्न पाइन्न भनी आवाज उठाइरहेका छन्। यसका साथै, स्वास्थ्यप्रतिको सचेतताका कारण नेपाली समाजमा शाकाहार जीवनशैली पनि बढ्दै छ। वैज्ञानिक अल्बर्ट आइन्सटाइनका अनुसार, शाकाहार भविष्यका शिक्षित मानिसहरूको आहार हो। शिक्षित जनसमुदायको बढोत्तरीसँगै पशुबलि निषेध र मासुको बदला शाकाहार भोजन मन पराउनेहरू बढिरहेका छन्।
साझा संस्कृति
नेपालमा प्राचीनकालदेखि दसैँ मनाउने परम्परा रही आएको छ। आजका दिनमा दसैँ नेपाल राष्ट्रको संस्कृति बनिसकेको छ। देश वा जातिको कला, साहित्य, सङ्गीत, आचारव्यवहार, बौद्धिकता, रहनसहन, परम्परा, संस्कार नै अन्ततः संस्कृतिका आधार हुन्।
दसैँ खासमा नेपाल र नेपालीको सन्दर्भमा मौलिक पहिचान दिन सक्षम, फरक विशेषताले भरिपूर्ण संस्कृति हो। नेपालमा बसोवास गर्ने १२५ फरक जात, थरका मानिसबीच दसैँ लोकप्रिय रहेको छ, सबैको साझा पर्व बनिसकेको छ। दसैँमा सरकारले दिने बिदा, दसैँमा सरकारी र संस्थान लगायतका वैधानिक संघसंस्थाले आफ्ना कर्मचारीलाई एक महिनाको तलब दसैँ खर्चवापत् प्रदान गर्ने प्रचलन आदिका कारण दसैँ नेपालीहरुको साझा संस्कृति बनिसकेको छ।