2026/08/25

टिकापुरमा मिटरब्याजीको बिगबिगी, सर्वसाधारण मर्कामा

Admin
Admin

२०८०-०९-२१

482
Shares
टिकापुरमा मिटरब्याजीको बिगबिगी, सर्वसाधारण मर्कामा

धनगढीः टीकापुर नगरपालिका वडा नम्बर १ का ललित सावँद र देवसरा बोहरा सावँद श्रीमान÷श्रीमती हुन्। दुबै जना अहिले बैङ्किङ कसुरमा कैलाली प्रहरीको हिरासतमा छन्।

प्रहरीले टीकापुरकै शीतल केसीको उजुरीको आधारमा सावँद दम्पतीलाई पुस १७ गते पक्राउ गरेको हो। पेशाले टीकापुरमै शिक्षण पेशा गरिरहेका ललित अहिले प्रहरी हिरासतमा छन्। शीतल केसीले उजुरी दिएकाले पक्राउ परेका सावँद दम्पतीको तर्फबाट आफन्तहरूले पक्राउ पर्नुको ब्यहोरा यसरी बताएका छन्।

मिटर ब्याजी शीतलको फन्दामा सावँद परिवार
ललितकी श्रीमती देवसराले सितल केसीबाट पटकपटक गरेर ८ लाख ऋण लिएकी हुन्छिन्। शीतलले प्रति एक लाख रुपैयाँमा २० हजार अग्रिम ब्याज काटेर शीतललाई पैसा दिएकी हुन्छिन्। हरेक एक लाखमा २० हजार अग्रिम ब्याज खाए पनि ऋणको रकम भने एक लाख नै हुने भन्ने मान्यता शीतल र देवसराले लेनदेन कारोबारमा अङ्गिकार गरेका थिए।

देवसराले शीतलबाट लिएको ८ लाख ऋणको बदला २२ लाख फिर्ता गर्दा पनि अझै ११ लाख बाँकी रहेको भन्दै सितलले बैङ्किङ कसुरको मुद्दा हाल्दा सावँद दम्पती प्रहरीको हिरासतमा पुगेको सावँदका आफन्तहरूको भनाइ छ।देवसरालाई रकम उपलब्ध गराएपछि सितलले ललित र देवसराको संयुक्त खाता भएको चेक डर धम्की देखाएर लगी उक्त चेक बाउन्स गराएर प्रहरी मार्फत पक्राउ गर्न लगाएको आरोप पीडित पक्षको छ।

शीतलले देवसराबाट मात्रै नभएर उनका आफन्तहरूबाट पनि रकम उठाएको गुनासो छ। देवसराकी बहिनी नाता पर्ने सुजाता बोहराबाट शीतल आफै साक्षी बसेर लघु वित्तबाट ३ लाख निकालेर खाएको दाबी छ। यस्तै, देवसराकै आफन्त रुपा बोहराबाट २ लाख ५० हजार ब्याजको रुपमा असुल गरेको बताइएको छ। रुपाको नामबाट लघुवित्ताबाट ऋण निकाल्न शीतल आफैं साक्षी बसेको दाबी गरिएको छ।

शीतलकै कारण हाल पक्राउ परेर प्रहरी हिरासतमा रहेकी देवसरा मानसिक रोगी भएकी छिन्। उनले हाल औषधि सेवन गरिरहेको आफन्तले बताएका छन्। देवसराले बैशाखसम्म जग्गा बिक्री गरेर बाँकी रकम तिर्ने भन्दाभन्दै पनि शीतलले बैङ्किङ कसुरमा पक्राउ गर्न लगाएको आफन्तको दाबी छ।
को हुन् शीतल केसी?
टीकापुर नगरपालिका वडा नम्बर १ मै बस्ने शीतल केसी जानकी गाउँपालिकाको लायकपुरमा रहेको मेरो माइक्रो फाइनान्सको कर्मचारी (सहजकर्ता) हुन्। उनले टीकापुर र जानकी गाउँपालिकामा मिटर ब्याजमा लगानी गर्ने गरेको उनीबाट पीडित भएकाहरुको गुनासो छ। टीकापुर क्षेत्रमा अनुचित लेनदेन (मिटर ब्याज) गर्ने गरेको आरोप लागेकी शीतलबाट पीडितहरूको संख्या धेरै भए पनि १४ जनाले जिल्ला प्रशासन कार्यालयमा सितल विरुद्ध निवेदन दिएका थिए।

पैसा दिने खाली चेक लग्ने
शीतल केसीले जो व्यक्तिलाई पैसा दियो उसबाट खाली चेक माग्ने गरेको समेत खुलेको छ। केसीले खाली चेक मात्रै नभएर दृष्टि बन्धकमा घर र जग्गा राख्न लगाउने र अग्रिम २० प्रतिशत व्याज लिएर पैसा दिने गरेको पीडितहरूको गुनासो छ। केसीबाट लिएको पैसा जति तिर्दा पनि सावाँ घट्नुको सट्टा बढ्दै जाने र लगेको चेक बाउन्समा हालेर प्रहरीमा थुनेर असुल गर्छु भनेर धम्की दिँदै आएको केसीबाट पीडितहरूले बताएका छन्।
मिटर ब्याजमा लगानी गरेर जग्गा र सुन असुल्ने
शीतल केसीबाट २०७८ मा १ लाख ऋण लिएको बताउने जानकी गाउँपालिका वडा नम्बर १ की कोकिला सावँदले २ लाख २२ हजार तिर्नुपरेको बताइन्। शीतलले एक लाखको कागज बनाए ८० हजार मात्रै दिएर सावँदबाट प्रभु बैंकको एक लाखको चेक अग्रिम मागेकी थिइन्। ८० हजारको बदला १ लाख  ९२ हजार बुझाउँदा पनि जिल्ला प्रशासनमा उजुरी हाल्ने डर देखाएर थप ३० हजार लिएपछि मात्रै आफ्नो चेक फिर्ता गरेको कोकिलाले बताएकी छन्।

यस्तै, २०७८ मै  केसीबाट ८० हजार ऋण माग्दा कोकिलाको साढे चार तोला सुन धरौटी राख्न लगेकी थिइन। १ लाख ५० हजारमा सुन धरौटी राखेर ५० हजार कोकिला र १ लाख आफैले लगेको दाबी छ। त्यसपछि आफ्नो साढे चार तोला सुन केसीले गायब गरेको कोकिलाले बताइन्। शीतल केसीले टीकापुरकै कृष्टिना बमलाई पनि मिटर ब्याजमा फसाएको आरोप लागेको छ। बमलाई ३ लाख ऋणमा ३० हजार अग्रिम कट्टा गरेर दिइएको दाबी गरिएको छ।

बमलाई शीतलले पैसा दिँदा टीकापुरको एक घडेरी रोक्का गरेर दिएकी थिइन्। पछि २ कट्ठा १० धुर शीतलको नाममा नामसारी गरेर २ लाख ७० हजार ऋणबाट मुक्त भएको बमले बताइन्। शीतलले टीकापुरकै गोपी सार्कीको जग्गा पनि नामसारी गर्न लगाएको खुलेको छ भने टीकापुरकै कुश्मी शाही सितलको डरले बेपत्ता रहेको बताइएको छ।
शीतल विरुद्ध पीडितले दिएको निवेदन दर्ता भएन
टीकापुर क्षेत्रमा शीतल केसीबाट धेरै जना पीडित भए पनि अहिलेसम्म प्रशासनसम्म १४ जनाको निवेदन पुगेको छ। जिल्ला प्रशासन कार्यालय कैलालीमा ललित सावँद, देवसरा सावँद, कृष्टिना बम, कुश्मी शाही, कृष्ण बोहरा, जित बहादुर सावँद, धर्मा सावँद, जयन्ती सावँद, लक्ष्मी शाह, गोपी सार्की, रुपा बोहरा, सूचना बोहरा र ललिता सिंहले निवेदन दिएका थिए। तर, जिल्ला प्रशासन कार्यालयमा यी सबै १४ जनाको निवेदन दर्ता नगरिएको मिटर ब्याज तथा ठगी विरुद्ध किसान–मजदुर संघर्ष समितिका सह–इन्चार्ज दामोदर ढकालले बताए।

‘कैलाली जिल्लामा २४४ वटा मिटर ब्याजी पीडितका निवेदन दर्ता भएका तर १४ जना शीतल केसीबाट पीडितहरूका निवेदन मात्रै दर्ता भएनन्। प्रशासनले ठाडो निवेदन भन्दै दर्ता गरेन’, ढकालले भने। यो विषयमा जिल्ला प्रशासन कार्यालयबाट थप कुरा बुझ्न खोज्दा सहायक प्रमुख जिल्ला अधिकारी यज्ञराज जोशीले १४ जनाको निवेदन म्याद सकिएपछि आएकाले दर्ता हुन छुटेको बताए। उनले १४ जनाको तर्फबाट २० गते शुक्रवार अर्को निवेदन आएकाले २२ गते आइतवार छलफल हुने बताए।
मिटर ब्याजी होइन म आफैं पीडित छुः शीतल केसी
तर शीतल केसीले भने आफूले मिटर ब्याजको कारोबार नगरेको दाबी गरेकी छन्। उनले आफू विरुद्ध प्रशासनमा जानेहरूबाट पीडित रहेको बताइन्। बैंकको ऋण निकालेर ऋण दिएको बताउने केसीले पहिले विभिन्न बहानामा सहयोग माग्न आउनेहरुले अहिले ‘टर्चर’ दिन थालेको बताइन्। आफूले कसैबाट पनि जग्गा, सुन र पैसा असुल नगरेको दाबी गर्ने शीतल केसीले आफ्नो विरुद्ध लाग्नेहरू विरुद्ध मुद्दा हाल्ने चेतावनी दिएकी छन्।

482
Shares

धेरै हेरिएका

© News Kunja 2021-2026. All rights reserved.

News Kunja