अछाम –अछामको बयालपाटा अस्पताललाई सरकारले उपेक्षा गरेको भन्दै राजधानीमा आन्दोलनको तयारी थालिएको छ । नेवि संघका केन्द्रीय सदस्य आकाशजंग कुँवरले काठ्माडौंमा आन्दोलनको लागि तयारी गरिरहेको बताए ।
प्रदेश र केन्द्र सरकारले बनेटको व्यवस्था नगरि अस्पतालको सेवा प्रभावित हुँदा पनि वास्ता नगरेकाले आन्दोलन गरेर दबाब दिन आवश्यक रहेको उनले बताए । अछामको साँफेबगर नगरपालिका ३ घर भएका केन्द्रीय सदस्य कुवँरले सबै युवाहरुलाई एक ठाउँमा जम्मा गरेर पहिलो चरणमा स्वास्थ्य र अर्थ मन्त्रालयमा ज्ञापनपत्र बुझाउने र त्यति गर्दा पनि वास्ता नगरे सरकारविरुद्ध आन्दोलन गर्ने उनले बताए । ‘सबै राजनैतिक दलका नेताहरु पटकपटक जिल्लामा जाँदा बयालपाटा अस्पतालमा जाने , भाषण गर्ने र फर्किने गरेका छन् । कसैले पनि बोलेको बचन पुरा गरेको देखिएन’ कुँवरले भने ,‘ स्वास्थ्य जस्तो संवेदनशिल क्षेत्रलाई वेवास्ता गर्दा जनता मारमा परेका छन् । अछामको बयालपाटा अस्पतालको समस्या केन्द्रलाई सुनाउनको लागि मेरै नेतृत्वमा युवाहरु जम्मा गर्ने र आन्दोलनको कार्यक्रम छिट्टै घोषणा गर्छौं ।’