2026/08/26

रुसी सेनामा भर्ती भएकाका आफन्तहरूको आग्रह : स्वदेश फर्काउन पहल गरिदिनुस्

Admin
Admin

२०८०-१०-१९

501
Shares
रुसी सेनामा भर्ती भएकाका आफन्तहरूको आग्रह : स्वदेश फर्काउन पहल गरिदिनुस्

रुसी सेनामा भर्ती भएकाका आफन्तहरूले नेपालीहरुलाई स्वदेश फर्काउन पहल गरिदिन सरकारसँग आग्रह गरेका छन्।

शुक्रवार काठमाडौंमा पत्रकार सम्मेलन गरी उनीहरुले रुसी सेनामा भर्ती भएका नेपालीहरुलाई अहिले धेरै नै कठिन अवस्थामा रहेकाले उनीहरुलाई स्वदेश फिर्तीको व्यवस्था मिलाइदिन सरकारसँग आग्रह गरेका हुन्।

उनीहरुले सरकारले के गर्दा उनीहरुलाई नेपाल फर्काउन सकिन्छ सो व्यवस्था चाँडो गर्न उनीहरुको आग्रह छ। रुसी सेनाबाट भागेर नेपाल फर्किएका खोटाङका सुमन राईले नेपालीहरुलाई सेनामा भर्ती भइसकेपछि सिधै फिल्डमा लगेर युद्ध गर्न लगाएको बताए। सेनामा भर्ती भइसकेपछि युद्धमा लैजाने र नेपालीहरु बाँच्ने अवसर शून्य बराबर हुने बताए।

उनले रुसी सेनाले नेपालीहरुलाई सबैभन्दा अगाडि लगाइ युद्ध गराउने गरेको बताए। युक्रेनीहरु क्याम्पमा रुसी सैनिकमाथि आक्रमण गर्न नियालीरहेको हुने तर रुसबाट भने खुला ठाउँमा लगेर भिडाउने, रुसी भाषा नबुझ्ने समस्याका कारण पनि धेरै नेपाली मरिरहेको बताए।

उनले भने, ‘हामी नेपालीहरु सिधै फिल्डमा नै जाने हो। उनीहरु हामीलाई ताकेर नै बसेका हुन्छन्। हामी बाँच्ने चान्स त कम नै हुन्छ। बाँच्नै चान्स नै छैन। बाँच्नु भनेको जिरो प्रतिशत हो। हामी मैदानमा फिल्डमा जाने हो। युक्रेनीहरु सिधै क्याम्पतिर बसेको हुन्छ। उनीहरुले हामीलाई नापी नापी हानेको हुन्छ। हामी नेपालीहरु धेरै मरिरहेको हुन्छ। उनीहरुले सार्वजनिक गरेको छैन। ४ देखि ५ सय भन्दा बढी नेपालीहरु मरिसकेका छन्।’

उनकाअनुसार अहिलेसम्म सार्वजनिक नभएको भएपनि ५ सय भन्दा बढी नेपालाीहरूले ज्यान गुमाइसकेका छन्। त्यस्तै रुसी सेनामा भर्ती भएका नेपालीका परिवार र आफन्तहरुलै छिटो भन्दा छिटो उनीहरुलाई सरकारको तर्फबाट स्वदेश फिर्ता ल्याउने पहल गरिदिन आग्रह गरे।

रुसी सेनामा भर्ती भएका नेपालीहरु धेरै नै समस्यामा रहेको बताए। उनीहरुले पैसाकै लोभमा गएको भएपनि उनीहरुलाई सरकारले स्वदेश फिर्ता ल्याउने पहल गरिदिनुपर्ने बताए।

उनीहरुले सरकारले पहल गर्ने हो भने समस्या समाधान हुनसक्ने र त्यसका लागि चाँडो भन्दा चाँडो पहलकदमी लिन आवश्यक रहेको बताए।

501
Shares

धेरै हेरिएका

© News Kunja 2021-2026. All rights reserved.

News Kunja