2026/04/17

‘निकै’ मजबुत अवस्थामा अर्थतन्त्रको बाह्य क्षेत्र, यस्ता छन् मुख्य १० सूचक

Admin

२०८०-१०-२३

566
Shares

काठमाडौं । आन्तरिक अर्थतन्त्रमा शिथिलता कायमै रहे पनि बाह्य क्षेत्र भने निकै मजबुत अवस्थामा पुगेको छ । नेपाल राष्ट्र बैंकले मंगलबार सार्वजनिक गरेको चालु आर्थिक वर्षको ६ महिना (पुससम्म)को अध्ययन प्रतिवेदनले यस्तो देखाएको हो ।

गत वर्षदेखि लगातार सुधारोन्मुख भइरहेको बाह्य क्षेत्र अहिले बलियो अवस्थामा पुगेको हो । राष्ट्र बैंकका अनुसार अर्थतन्त्रका मुख्य सूचकहरू विदेशी मुद्रा संचिति, व्यापार घाटा, शोधान्तरस्थिति, चालुखाता, रेमिट्यान्स आप्रवाह लगायत सूचक १ वर्ष यताकै मजबुत अवस्थामा पुगेका छन् ।

विगत १ वर्षदेखि अर्थतन्त्रको बाह्य क्षेत्र सुधारोन्मुख भइरहँदा पनि आन्तरिक भने झन्झन् शिथिल हुँदै गएको थियो । तर, पछिल्ला केही महिना यता आन्तरिक अर्थतन्त्रमा पनि क्रमशः सुधार आइरहेको राष्ट्र बैंकको तथ्यांकले देखाएको छ ।

चालु वर्षको पहिलो त्रैमासदेखि आन्तरिक सूचकहरूमा पनि केही सुधारको संकेत देखाएको छ । मूल्यवृद्धि लामो सयमपछि नियन्त्रणमा आएको छ । यस्तै, सरकारको राजस्व संकलन, बैंक तथा वित्तीय संस्थाको कर्जा लगानी, पूँजीगत खर्च लगायतमा सुधार आएको देखिएको छ ।

यद्यपि, सरकारको आम्दानी र खर्च बीचको खाडल ठूलो रहेको छ । आम्दानीले खर्च धान्न सक्ने अवस्था छैन । दैनिक खर्च धान्न पनि ऋण लिनुपर्ने अवस्था छ ।

पछिल्लो समय अर्थतन्त्र चलायमान बनाउन भन्दै सरकार र नेपाल राष्ट्र बैंकले निकै मेहनत गरिरहेका छन् । सरकारले घरजग्गा सहित अन्य क्षत्रका नीतिगत लचकता अपनाइ रहेको छ । त्यस्तै, राष्ट्र बैंकले बैंकदर, नीतिगत दर घटाउँदा ब्याजदर घटाउने नीति लिँदै घरजग्गा, सेयर, हायरपर्चेज लगायत कर्जा लगानी खुकुलो बनाउँदै लगेको छ ।

अहिले बैंकिङ प्रणालीमा अधिक तरलता रहेको, ब्याजदर घट्दो क्रममा रहेको र पछिल्लो समय गरिएका नीतिगत लचकताले आगामी महिनाहरू अझै सुधार देखिँदै जाने राष्ट्र बैंकले जनाएको छ ।

यस्ता छन् अर्थतन्त्रका मुख्य सूचकहरू

१. विदेशी मुद्रा संचितिको रेकर्ड : विदेशी मुद्रा संचितिले महिनैपिच्छे रेकर्ड बनाउँदै गएको छ । बढ्दो रेमिट्यान्स, बढ्दो पर्यटक आवगमन र घट्दो आयातका कारण विदेशी मुद्रा संचितिले इतिहासकै धेरैको रेकर्ड बनाएको छ ।

गत असार मसान्तमा १५ खर्ब ३९ अर्ब ३६ करोड बराबर रहेको कुल विदेशी विनिमय सञ्चिति पुस मसान्तसम्म १८ प्रतिशतले बढेर १८ खर्ब १६ खर्ब ५७ करोड रुपैयाँ पुगेको छ ।

यस्तै, अमेरिकी डलर संचिति पनि इतिहासकै धेरै भएको छ । पुस मसान्तसम्म राष्ट्रिय ढुकुटीमा १३ अर्ब ६९ करोड डलर संचिति छ ।

२. वर्षको आयात धान्न सक्ने अवस्था : डेढ वर्ष अघि विदेशी मुद्रा संचिति घट्दै जाँदा मुलु श्रीलंका जस्तै हुन्छ भन्ने आतंक समेत फैलिएको थियो । सो बेला वैदेशिक मुद्राले ६ महिनाको मात्रै आयत धान्ने अवस्था थियो । तर, अहिले विदेशी मुद्रा संचिति पर्याप्त भएको छ । पुससम्म राष्ट्रिय ढुकुटीमा १ वर्ष बढीको आयात धान्न सक्ने विदेशी मुद्रा संचिति भएको छ । जुन पछिल्लो ३ वर्ष यताकै बलियो अवस्था हो ।

आव २०८०/८१ को ६ महिनाको आयातलाई आधार मान्दा बैकिङ्ग क्षेत्रसँग रहेको विदेशी विनिमय सञ्चिति १४.५ महिनाको वस्तु आयात र १२.१ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त रहने राष्ट्र बैंककले जनाएको छ ।

३. महिनैपिच्छे सवा खर्ब रेमिट्यान्स भित्रिँदै : चालु वर्षमा रेमिट्यान्स आप्रवाहमा उल्लेख्य वृद्धि भएको छ । राष्ट्र बैंकका अनुसार औसतमा मासिक सवा १ खर्ब रेमिट्यान्स भित्रिँदै आएको छ । पुस मसान्तसम्म विप्रेषण आप्रवाह २५.३ प्रतिशतले वृद्धि भएर ७ खर्ब ३३ अर्ब २२ करोड पुगेको छ । यो कुनै पनि आवको ६ महिनामा भिएको हालसम्मकै धेरै रेमिट्यान्स हो ।

४. चालु खाता र शोधनान्तर स्थिति बचतमा :यस अवधिमा चालु खाता र शोधनान्तर स्थितिमा सुधार आएको छ । राष्ट्र बैंकका अनुसार पुस मसान्तसम्म चालु खाता १ खर्ब ६१ अर्ब ६२ करोड रुपैयाँ बचतमा रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा चालु खाता ३५ अर्ब ५७ करोडले घाटामा रहेको थियो ।

राष्ट्र बैंकको तथ्यांक अनुसार शोधनान्तर स्थिति पनि निकै बलियो अवस्थामा पुगेको छ । पुससम्म शोधान्तर स्थिति २ खर्ब ७३ अर्ब ५२ करोड रुपैयाँले बचतमा रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा शोधनान्तर स्थिति ९२ अर्ब १५ करोडले बचतमा रहेको थियो ।

५. व्यापार घाटामा सुधार : चालु आवमा वैदेशिक व्यापार घाटमा सुधार आएको छ । अघिल्लो वर्षको तुलनामा चालु आवको सोही अवधिमा व्यापार घाटा २.६ प्रतिशतले घटेर ६ खर्ब ९३ अर्ब रुपैयाँमा सीमित भएको राष्ट्र बैंकले जनाएको छ ।

समीक्षा अवधिमा आयात निर्यात दुवै घटेको छ । कुल वस्तु आयात ३.१ प्रतिशतले कमी आई रु.७६८ अर्ब १७ करोड रुपैयाँमा सीमित भएको छ । त्यस्तै, वस्तु निर्यात ७.२ प्रतिशतले कमी आई रु. ७४ अर्ब ९७ करोड कायम भएको छ ।

६. सरकारको खातामा झन्डै साढे २ खर्ब नगद मौज्दात : चालु आवको पुस मसान्तमा सरकारका खातामा झन्डै साढे २ खर्ब रुपैयाँ नगद मौज्दात रहेको छ । यस अवधिमा सरकारका विभिन्न खातामा रु २३६ अर्ब ७१ करोड (प्रदेश सरकार तथा स्थानीय सरकारको खातामा रहेको रकम समेत) नगद मौज्दात रहेको छ । २०८० असार मसान्तमा यस्तो मौज्दात रु६५ अर्ब ३६ करोड रुपैयाँ मात्र थियो।

७. बढ्यो निक्षेप संकलन र कर्जा लगानी :समीक्षा अवधिमा बैंकिङ व्यवसायमा पनि सुधार आएको छ । यस अवधिमा निक्षेप संकलन ६.६ प्रतिशत अर्थात् ३ खर्ब ७७ अर्ब ७ करोड रुपैयाँले बढेको छ । त्यस्तै, निजी क्षेत्रमा प्रवाह हुने कर्जा लगानी पनि ४ प्रतिशतले बढेको छ । चालु वर्षको ६ महिनामा बैंक तथा वित्तीय संस्थाले १ खर्ब ९२ अर्ब ६४ करोड रुपैयाँ कर्जा लगानी गरेका छन् । जबकि, अघिल्लो वर्षको सोही अवधिमा १ खर्ब ३७ अर्ब मात्रै कर्जा लगानी भएको थियो ।

८. सस्तिँदै ब्याजदर : चालु वर्षमा बैंकको ब्याजदर सस्तिँदै गएको राष्ट्र बैंकको तथ्यांकले देखाएको छ । २०७९ पुसमा ९१–दिने ट्रेजरी बिलको भारित औसत ब्याजदर १०.८९ प्रतिशत रहेकोमा २०८० पुसमा ३.३७ प्रतिशत रहेको छ । बैंक तथा वित्तीय संस्थाहरूबीचको अन्तर बैंक कारोबारको भारित औसत ब्याजदर २०७९ पुसमा ७.५३ प्रतिशत रहेकोमा २०८० पुसमा २.८६ प्रतिशत रहेको छ ।

त्यस्तै, २०८० पुसमा वाणिज्य बैंकहरूको औसत आधारदर ९.३५ प्रतिशत, विकास बैंकहरूको ११.४९ प्रतिशत र वित्त कम्पनीहरूको १२.७७ प्रतिशत रहेको छ । अघिल्लो वर्षको पुसमा वाणिज्य बैंकहरूको औसत आधार दर १०.९१ प्रतिशत रहेको थियो।

२०८० पुसमा वाणिज्य बैंकहरूको निक्षेपको भारित औसत ब्याजदर ७.३२ प्रतिशत, विकास बैंकहरूको ८.५५ प्रतिशत र वित्त कम्पनीहरूको ९.६२ प्रतिशत रहेको छ । २०७९ पुसमा वाणिज्य बैंकहरूको निक्षेपको भारित औसत ब्याजदर ८.५१ प्रतिशत कायम भएको थियो।

त्यसैगरी, कर्जाको भारित औसत ब्याजदर २०८० पुसमा वाणिज्य बैंकहरूको ११.३८ प्रतिशत, विकास बैंकहरूको १३.१४ प्रतिशत र वित्त कम्पनीहरूको १४.०९ प्रतिशत रहेको छ । २०७९ पुसमा वाणिज्य बैंकहरूको कर्जाको भारित औसत ब्याजदर १२.७९ प्रतिशत कायम भएको थियो।

९. महँगी नियन्त्रणमा : चालु वर्षमा महँगी क्रमशः घट्दै गएको देखिएको छ । पुसमा महिनामा वार्षिक बिन्दुगत उपभोक्ता मुद्रास्फीति ५.२६ प्रतिशत रहेको छ । यो सरकारको सीमाभन्दा तल हो । सरकारले चालु आवमा मुद्रास्फीति ६.५ प्रतिशतमा सीमित राख्ने लक्ष्य राखेका छ । अघिल्लो वर्षको सोही महिनामा यस्तो मुद्रास्फीति ७.२६ प्रतिशत रहेको थियो ।

समीक्षा अवधिमा खाद्य तथा पेय पदार्थ समूहको मुद्रास्फीति ५.७७ प्रतिशत र गैर–खाद्य तथा सेवा समूहको मुद्रास्फीति ४.८५ प्रतिशत रहेको छ । समीक्षा अवधिमा घ्यू तथा तेल, तरकारी र मासु तथा माछा उप–समूहको वार्षिक बिन्दुगत मूल्य सूचकाङ्क क्रमशः १३.०७ प्रतिशत, १.०४ प्रतिशत र ०.०६ प्रतिशतले घटेको छ भने मरमसला उप–समूहको वार्षिक बिन्दुगत मूल्य सूचकाङ्क ३५.६० प्रतिशत, खाद्य तथा खाद्यजन्य पदार्थको ११.३८ प्रतिशत, दाल तथा गेडागुडीको ११.१४ प्रतिशत, दुग्ध पदार्थ तथा अण्डाको १०.२९ प्रतिशत र फलपूmलको १०.१५ प्रतिशतले बढेको छ ।

२०८० पुस महिनामा काठमाडौं उपत्यकाको वार्षिक बिन्दुगत उपभोक्ता मुद्रास्फीति ५.७६ प्रतिशत, तराईको ४.७८ प्रतिशत, पहाडको५.४० प्रतिशत र हिमालको६.५७ प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही महिनामा उक्त क्षेत्रहरूको यस्तो मुद्रास्फीति क्रमशः ६.९३ प्रतिशत, ७.४९ प्रतिशत, ७.३० प्रतिशत र ६.६९ प्रतिशत रहेको थियो ।

१०. सरकारको आम्दानी र खर्चमा भने ठूलो खाडल  :  यस अवधिमा अर्थतन्त्रका अधिकांश सूचकमा सुधार देखिए पनि सरकारको आम्दानी र खर्च बीच ७० अर्बको खाडल देखिएको छ ।

महालेखा नियन्त्रक कार्यालयका अनुसार पुससम्म सरकारको कुल खर्च ५ खर्ब ६६ अर्ब ६२ रुपैयाँ छ भने राजस्व संकलन (आम्दानी) ४ खर्ब ९६ अर्ब रुपैयाँ मात्र छ । यस अवधिमा सरकार ७० अर्ब रुपैयाँमा घाटामा छ ।

समीक्षा अवधिमा सरकारको खर्च १.७ प्रतिशतले घटेको छ भने राजस्व संकलन ८.२ प्रतिशतले बढेको छ ।

566
Shares

©News Kunja 2021-2026. All rights reserved.