2026/06/07

भारतका नागरिकले अब क्यूआर स्क्यानबाट सजिलै नेपालमा भुक्तानी गर्न सक्ने

Admin

२०८०-११-१६

459
Shares

भारतका नागरिकले अब क्यूआर स्क्यानबाट सजिलै नेपालमा भुक्तानी गर्न सक्ने भएका छन्।  यही फागुन ४ मा दुई देशका केन्द्रीय बैंकबीच क्रसबोर्डर पेमेन्ट अर्थात् अन्तर्सीमा भुक्तानीबारे शर्तनामापत्रमा हस्ताक्षर भएको थियो।

योसँगै भारतको एकीकृत भुक्तानी विन्दु (यूपीआई) र नेपालको राष्ट्रिय भुक्तानी विन्दु (एनपीआई)लाई एकीकृत गर्ने बाटो खुलेको थियो। 

त्योसँगै नेपालको भुक्तानी सञ्जाल फोनपेले भारतीय नागरिकले क्यूआर स्क्यानबाटै नेपालमा भुक्तानी गर्नसक्ने व्यवस्था गरेको हो। फोनपेले सेवा थालेलगत्तै नबिल बैंक, एभरेष्ट र माछापुच्छ्रे बैंकले क्यूआरबाट पैसा पाउनसक्ने व्यवस्था गरेका छन्।

नबिल बैंकका अनुसार बैंकमार्फत लिएको क्यूआर कोड सेवामा अब भारतीय नागरिकले भारतीय एप (फोनपे र भिम)को प्रयोग गरी रकम भुक्तानी गर्न सक्नेछन्। 

त्यसका लागि बैंकले उपलब्ध गराएको स्टेटिक वा डाइनामिक दुवै प्रकारका क्यूआर कोडमा भारतीय नागरिकले व्यवसायसम्बन्धी कारोबारको लागि भुक्तानी गर्न सक्नेछन्। 

‘हाललाई क्यूआर भुक्तानीमा कुनै शुल्क नलाग्ने व्यवस्था रहिआएकोमा भारतीय एपमार्फत गरिने भुक्तानीमा भने केही सेवा शुल्क लाग्ने र त्यसबाहेक भने अन्य कुनै शुल्क नलाग्ने जानकारी गराउँछौँ’, नबिल बैंकले आफ्नो सूचनामा भनेको छ। 

बैंकबाट यो सेवा यही फागुन २३ देखि सुरु हुने भएको छ। नबिल बैंकले यस सुविधा उपभोग गर्न नचाहने प्रयोगकर्तालाई उक्त मितिअगावै आफूले क्यूआर सुविधा लिएका बैंक शाखामा सम्पर्क गरी भारतीय एपमार्फत भुक्तानी गर्न सकिने सुविधा रद्द गर्न आग्रह गरेको छ। 

भारतीय एपबाट एभरेष्ट बैंकको मर्चेन्ट क्युआरमा भुक्तानी गर्न सकिने 
त्यसैगरी एभरेष्ट बैंकले पनि भारतीय एपहरु फोनपे र भिममार्फत मर्चेन्ट क्यूआरमा भुक्तानी सहजै प्राप्त गर्न सकिने एक सूचनामार्फत जानकारी दिएको छ। 

‘आजै नजिकको एभरेष्ट बैंकमा खाता खोली मर्चेन्ट क्यूआर लिई सुरक्षित भुक्तानीको सेवाको फाइदा उठाउनुहोस्’, बैंकले भनेको छ। एभरेष्ट बैंकले भारतीय भुक्तानी एपहरु स्वीकार गर्ने भएको हो। माछापुच्छ्रे बैंकले पनि भारतीय एपहरु फोनपे र भिममार्फत मर्चेन्ट क्यूआरमा भुक्तानी सहजै प्राप्त गर्न सकिने एक सूचनामार्फत जानकारी दिएको छ। 

इसेवा र खल्तीमार्फत पनि सकिने 
बैंकबाहेक भुक्तानी सेवा प्रदायक कम्पनीहरु इसेवा र खल्तीबाट पनि भारतीय वालेटबाट सजिलै भुक्तानी लिन सकिने भएको छ।

इसेवाले आफूबाट फोनपे क्यूआर मर्चेन्ट नेटवर्कमा जोडिएका व्यवसायीले अब आफ्ना भारतीय ग्राहकबाट नेशनल पेमेन्ट कर्पोरेसन अफ इन्डिया (एनपीसीआई)मार्फत सिधै इसेवाको फोनपे क्यूआरमै भुक्तानी पाउन सक्ने जनाएको छ।

यसमा सेवा शुल्क भने लाग्ने इसेवाले जनाएको छ। यता भारतीय पर्यटकबाट खल्तीमा सजिलै भुक्तानी पाउन सकिने भएको छ।

खल्तीको क्रसबोर्डर पेमेन्ट सुविधाअनुसार फोनपेअन्तर्गत सबै खल्ती क्यूआरमा भारतको फोनपे, भिम एपलगायत भारतीय वालेट एपबाट पनि सजिलै भुक्तानी लिन सकिने खल्तीले जनाएको छ। 

459
Shares

©News Kunja 2021-2026. All rights reserved.