2026/08/25

रुस–युक्रेन युद्धमा घाइते अछामका हिक्मत , भगवान भरोसामा परिवार

Admin
Admin

२०८०-११-२१

534
Shares
रुस–युक्रेन युद्धमा घाइते अछामका हिक्मत , भगवान भरोसामा परिवार

न्युजकुञ्ज –अछाम
अछामको बान्नीगढी जयगढ गाउँपालिका –६ दर्ना काँडाकोटका २९ वर्षीया हिक्मत धामी शसत्र प्रहरीका सिपाहीको रुपमा कार्यरत थिए । आवश्यकताहरु बढ्दै गए , जागीरको तलबले घरपरिवारको आर्थिक खर्च टर्ने नदेखिएपछि ३ वर्षअघि यूएइको दुबइ सहरमा अबुदाबी प्रहरीको रुपमा काम गर्न नेपालको जागिर छोडेर गए ।

दुबइमा कामको सम्झौता सकिएपछि नेपाल फर्किनेकी कतै अन्त जाने भन्ने दोधारमा परेका बेला रुसी सेनामा जान सकिने कुरा साथीहरुबाट थाहा पाए । नेपालमा पनि शसत्र प्रहरीको रुपमा काम गरिसकेका , दुबइमा पनि प्रहरीकै रुपमा काम गरेका हिक्मतलाई रुसी सेनामा जान कागजातको हिसाबले सजिलो भयो । 

दुबइमा रहेका केही नेपालीले उनलाई कन्सन्टेन्सीसम्म पुर्याए । मासिक २ लाख ५० हजार रसीयन रुबल पाउने सम्झौता भएपछि ५ लाख नेपाली रुपैंया लगानी गरेर रुसी सेनामा गएको उनी श्रीमती अमृता धामीले बताइन् । ‘मेरो श्रीमान अबुदाबी प्रहरीको रुपमा काम गर्नु हुन्थ्यो । उहाँ पनि दुबइमा भएपछि म पनि काम गर्नका लागि दुबइमा दुइ वर्ष बसेँ । उहाँको सम्झौता सकिएपछि नेपाल फर्किनेकी कुनै अरु देश जाने भन्नेबारे हामी अन्यौलमा थियौं’ । उनले भनिन् ,‘ नेपालमा भएको जागिर छोडेर आइयो , उता गएर पनि के गर्ने जस्तो भयो । त्यति बेला सुदूरपश्चिमा ६÷७ जना दुबइबाट रुस जानेबारे सल्लाह गर्दै थिए । त्यसो भए म पनि जान्छु भनेर मेरो श्रीमान पनि तयार हुनु भयो । भदौमा उहाँ रुस जानु भयो । म नेपाल फर्किएँ । ’

रुस पुगेको केही समयसम्म सम्पर्कमा रहेका उनका श्रीमान् लगभग एक महिनापछि सम्पर्कविहिन् भए । नोभेम्बर २६ मा रुसी सेनामा गएका कैलालीका भरत शाहको मृत्युको खबर पाएकै दिन श्रीमान गोली लागेर घाइते अवस्थामा भएको बेला सम्पर्कमा आएको अमृताले बताइन् । ‘रुसी सेनामा गएका नेपालीहरुको मृत्यु भएको खबर दिनदिनै सुनिन्थ्यो । भरत शाह हाम्रै छिमेकी दाइ हुन् । उनको मृत्युको खबर सुनिसकेपछि हामी सहनै नसक्ने पीडामा थियौं’ अमृताले भनिन् ,‘ जनवरी १४ मा युद्धमा गएका बेला युक्रेनमा मेरो श्रीमानको बायाँ खुट्टाको घुँडामुनी गोली लागेछ । त्यताबाट रुसी सेनाले उद्धार गरेर अस्पताल ल्याइसकेपछि उहाँ परिवारको सम्पर्कमा आउनु भएको हो ।’

हिक्मत रुसमा सम्पर्कविहिन् भएदेखि अहिले अस्पतालमा उपचाररत हँुदासम्म उनको परिवारले देवी , देवताकै भरोसा गरिरहेका छन् ।  ‘सम्पर्कविहिन भएको अवस्थामा खोजि गरिदिन भनेर नेपाल सरकारलाई अनुरोध गर्यौं । कहीँकतैबाट सहयोग भएन । अन्तमा देवी देउता पुकार्ने , धामीझाँक्रीमा हेराउन जान थाल्यौं’ उनले भनिन् ,‘धामी बस्दा जसरी पनि पत्ता लगाउँछु , घर फिर्ता ल्याउँछु भन्दा पनि धेरै आश लाग्थ्यो । हामी अहिले पनि देवी , देवता र भगवानको भरोसामा छौं ।’

दुबइबाट सम्झौता गरे अनुसारको तलब पनि नदिएको उनले बताइन् । अहिले अस्पतालमा लाग्ने उपचार खर्च रुसी सरकारले बेहोरेको उनले बताइन् । ‘अहिले उपचारमा भएकाले अस्पतालमा हुनुहुन्छ । परिवारको सम्पर्कमा पनि हुनुहुन्छ । सञ्चो भएपछि फेरि युद्धग्रस्त क्षेत्रमा लडाइका लागि पठाउँछ भन्ने सुनेका छौं’ उनले भनिन् ,‘ अब उनीहरुले दिने पैसा पनि चाहिएन , सञ्चो भएपछि जसरी पनि नेपाल पुगिदिए हुन्थ्यो । ८ वर्षको छोरा पनि यही कारणले मानसिक समस्यामा छ । घरपरिवारको विचल्ली भएको छ ।’


रुसी सेनामा गएका आफू जस्तै थुप्रैका आफन्तले पटकपटक सरकारलाई फिर्ता ल्याइदिन आग्रह गर्दा पनि सुनुवाइ नगरेको अमृताले बताइन् । ‘रुसी सेनामा गएका आफन्तहरुको म्यासेन्जर गु्रप बनाएका छौं । कतिका आफन्त सम्पर्कविहिन् छन् । कतिका घाइते भएका छन् । हाम्रो पीडालाई आफ्नो पीडा सम्झेर सरकारले नेपाल ल्याउने वातावरण मिलाइदेओस् ।’ उनले भनिन् ।
 

534
Shares

धेरै हेरिएका

© News Kunja 2021-2026. All rights reserved.

News Kunja