2026/08/25

परिवारिक रिसइवी साँध्न तीन वर्षीया बालिकाको हत्या

Admin
Admin

२०८१-०१-२०

552
Shares
परिवारिक रिसइवी साँध्न तीन वर्षीया बालिकाको हत्या

नाबालिका हत्यामा संलग्न रहेको आरोपमा प्रहरीले सिराहा नगरपालिका–१९ जरुवा लक्ष्मीनियाँ टोलका आमाछोरीलाई पक्राउ गरी कर्तव्य ज्यानसम्बन्धी मुद्दा चलाएको छ।

स्थानीय रमेशकुमार यादवको करिब तीन वर्षीया छोरी रियाकुमारी यादवको हत्यामा संलग्न रहेको आरोपमा प्रहरीले छिमेकी धनिकलाल यादवकी श्रीमती करिब ४७ वर्षीया सोनादेवी यादव र छोरी पूजाकुमारी यादवलाई वैशाख १४ मा घरबाट पक्राउ गरी कर्तव्य ज्यानसम्बन्धी मुद्दा चलाएको हो।

जिल्ला प्रहरी कार्यालय सिराहाका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक मुक्तिनाथ सापकोटाकाअनुसार दुवै आमाछोरीविरुद्ध ज्यानसम्बन्धी कसुर (कर्तव्य ज्यान) मुद्दामा सिराहा जिल्ला अदालतबाट वैशाख १५ गतेदेखि लागू हुने गरी पहिलोपटक सात दिनको म्याद लिइ जिल्ला प्रहरी कार्यालयबाट थप अनुसन्धान भइरहेको छ।

प्रहरीका अनुसार वैशाख १२ गते बिहानदेखि हराएकी नाबालिका खोजी गर्दासमेत फेला नपरेपछि प्रहरीमा उजुरी परेको थियो। त्यसपछि प्रहरीसहित स्थानीय गाउँलेले खोजतलास गर्ने क्रममा तीन दिनपछि वैशाख १४ गते राति करिब साढे ११ बजेतिर छिमेकी धनिकलाल यादवको घरको छतमा जाने मसुरोको झ्याङ्टाभित्र नाबालिकाको शव कालो बोरामा लुकाएको अवस्थामा भेटिएको थियो।
    

पछिल्लो एक वर्षदेखि परिवारिक झै–झगडाको रिसइवी साँध्न धनिकलाल यादवको घरआँगनमा खेल्दै पुगेकी नाबालिकालाई पसलबाट किनेर ल्याएको बिस्कुट खुवाएर फकाउँदै घरभित्र पुर्याएर आमा छोरीले घाँटी थिची हत्या गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ।

घटनाको तीन दिनपछि नाबालिका हत्या आरोपमा आमाछोरी पक्राउ परेपछि धनिकलाल फरार रहेकाले खोजी भइरहेको प्रहरीले बताएको छ। यसै घटनाको अघिल्लो दिन सखुवानन्कारकट्टी गाउँपालिका–५ की करिब ३४ वर्षीया सरिताकुमारी साहविरुद्ध प्रहरीले आफ्नै छोराको हत्या गरेको आरोपमा पक्राउ गरी कर्तव्य ज्यानसम्बन्धी मुद्दा चलाएको थियो। रासस

552
Shares

धेरै हेरिएका

© News Kunja 2021-2026. All rights reserved.

News Kunja