अछाम — ढकारी गाउँपालिका–३ की मीना (नाम परिवर्तन) १९ वर्षकी भइन् । कक्षा-९ मा पढ्ने बेला १५ वर्षको उमेरमा छिमेकी गाउँकै मान्छेसँग बिहे गरिन् । आफू ९ र श्रीमान् ११ कक्षामा पढ्ने बेला बिहे गरेका उनीहरुको सम्बन्ध केही समयसम्म राम्रै थियो । त्यहीबीचमा उनीहरुले एक सन्तान पनि जन्माए ।
बिहेपछि उनले थप पढाइ गर्न सकिनन् । उनका श्रीमान् १२ कक्षा उत्तीर्ण गरेर थप पढाइको लागि काठमाडौं गए । न पारिवारिक योजना, न त आर्थिक अवस्था राम्रो । न त पढाइ नै धेरै । मीना घरमै बसेर मेलापात, घाँस दाउरा र खेतीपातीमा व्यस्त हुन थालिन् । उनका श्रीमान स्नातक तह अध्ययन गर्ने र भाषा सिकेर विदेश जाने भन्दै काठमाडौं गए ।
‘काठमाडौं गएको केही समयसम्म फोन गर्ने, हालखबर सोध्ने गर्थे । विस्तारै मेरो र छोरीको वास्तै गर्न छोडे,’ उनले भनिन् ,‘फोन न उठाउने, कहिलेकाँही फोन गरे पनि झर्किने गर्न थाले । दसैंमा घर आउँदा त कुटपिटसमेत गरे ।’
सानै उमेरमा आफैंले रोजेर प्रेम विवाह गरेकी मीनालाई माइतीबाट पनि सहयोग छैन । २० वर्ष नपुग्दै श्रीमान् र पारिवारिक सम्बन्ध बिग्रेपछि उनी तनावमा छिन् । ‘श्रीमानले वास्ता गर्दैनन् । घरबाट पनि सहयोग छैन । के गर्ने भनेर दोधारमा छु,’ उनले भनिन्, ‘घरपरिवार, पढाई सबै त्यागेर बिहे गरेँ । अहिले दुःख पाइयो ।’
रामारोशन गाउँपालिका–५ की रत्ना (नाम परिवर्तन) १९ वर्षकी भइन् । १५ वर्षकै उमेरमा बिहे गरेकी उनले अहिले घरेलु हिंसा र मानसिक तनाव खेप्नु परेको छ । ‘तेरो जागिर, पढाइ केही छैन । तैंले के नै गर्न सक्छस् र भन्दै श्रीमान्ले हेला गर्छन् । मलाई छोडेर जा, तँभन्दा राम्री बिहे गर्छु भन्दै मानसिक यातना दिन्छन्,’ उनले भनिन् ,‘यस्तो अवस्थामा कहाँ जाने, के गर्ने ? केही पनि सोच्न सकेकी छैन ।’
श्रीमान्ले अति नै कुटपिट गनै थालेपछि २ पटक प्रहरी चौकीसम्म पुगेको उनले बताइन् । ‘आमाबुवाको कुरा नसुनेर आफ्नै इच्छाले बिहे गरेकी हुँ । अहिले मलाई एकदमै पछुतो छ । दिनकै कुटाइ र मानसिक यातना भोग्नु परेको छ ।’
मंगलसेन नगरपालिका–१३ की झुमा (नाम परिवर्तन) २० वर्षकी भइन् । उनको विवाह भएको ५ वर्ष भयो । ८ कक्षा पढ्दै गर्दा प्रेम विवाह गरेकी झुमा ३ सन्तानको आमा भइसकेकी छन् । जन्मिएका ३ सन्तानमा सबै छोरीहरु हुन् । लगातार छोरीको जन्म दिएपछि उनलाई छोरा पाउनै पर्ने दबाब छ । तर उनको स्वास्थ्य अवस्था कमजोर भइसकेको छ ।
‘छोरा नपाए अर्को बहे गर्छु भन्दै श्रीमान्ले जहिले तनाव दिन्छन् । सासु ससुरादेखि सबै समाजलाई छोरा चाहिएको छ । तर म शारिरिक रुपमा धेरै कमजोर भइसकेकी छु । मेरो पीडा कसैले बुझ्दैनन् ।’ छोरा नपाए श्रीमान्ले अर्को बिहे गर्छन् कि भन्ने तनावले दिन प्रतिदिन मानसिक अवस्था पनि कमजोर हुँदै गएको उनले बताइन् ।
मीना, रत्ना र झुमा कलिलै उमेरमा विवाह गरेर दुःख पाएका केही प्रतिनिधि पात्र मात्रै हुन् । कानूनले नै बन्देज गरेको बालविवाह सामाजिक रुपमा भने रोकिन सकेको छैन ।
बालविवाह सम्बन्धी बनेको कानून अनुसार विवाह गर्ने व्यक्तिको उमेर २० वर्ष पूरा भएको हुनुपर्ने, बालविवाह स्वतः बदर हुने र बालविववाह सम्बन्धी कसुर गर्ने व्यक्तिलाई तीन वर्षसम्म कैद र तीस हजारसम्म जरिवाना गराउने व्यवस्था रहेको छ । तर जिल्ला प्रहरी कार्यालय अछामका अनुसार बालविवाह सम्बन्धी कसुरमा पूर्णरुपमा यो कानून हालसम्म आकर्षित भएको छैन ।
यता स्वास्थ्य कार्यालयको तथ्यांक अनुसार भने २० वर्षभन्दा मुनिका थुप्रै विवाहित किशोरीले गर्भजाँच र प्रसुति सेवा लिएको देखिन्छ । अछामका स्वास्थ्य संस्थाबाट पहिलो पटक गर्च जाँच गराएका किशोरीहरु आर्थिक वर्ष ०७७ /७८ मा १३ प्रतिशत, ०७८ /७९ मा १० प्रतिशत र ०७९/ ८० मा ९ प्रतिशत रहेका छन् ।
त्यस्तै प्रोटोकल अनुसार ४ पटकसम्म गर्भजाँच गराउने २० वर्षमुनिका ०७७ /७८ मा ७ प्रतिशत, ०७८/ ७९ मा ७ प्रतिशत र ०७९ /८० मा ४ प्रतिशत रहेका छन् । त्यस्तै, सुरक्षित गर्भपतन गराउने २० वर्षमुनिका किशोरी आव ०७७ /७८ मा ४१ जना, ०७८ /७९ मा ३७ जना र ०७९/ ८० मा ३१ जना रहेका छन् ।
गर्भजाँच गर्न आउँदा वास्तविक उमेर नबताउने गर्भवती किशोरी पनि धेरै रहेको जिल्ला स्वास्थ्य कार्यालयकी सिनियर अनमी शुसिला ढुंगानाले बताइन् । ‘१६/१७ वर्षका कलिलो उमेरका किशोरीहरु वास्तविक उमेर बताउँदैनन् । २० वर्षभन्दा बढी नै भन्छन्,’ उनले भनिन्, ‘आफैं बच्चा उमेरका किशोरीहरु गर्भ जाँच गराउन आउँछन् तर वास्तविक उमरे बताउन चाहदैनन् ।’
वास्तविक उमेर नभन्नेहरु धेरै भएका कारण गर्भवती किशारीको संख्या बढ्न सक्ने उनले बताइन् । उनका अनुसार बाल विवाहको कारण बैवाहिक जीवन दिगो नहुने, परिपक्व नभई सन्तान जन्माउँदा स्वास्थ्य सम्बन्धी विभिन्न समस्याहरु देखिने, लैंगिक हिंसा, यौनजन्य हिंसा, बालश्रम, बेचविखन जस्ता थप हिंसाहरुले बालिका र महिलाहरु थप प्रताडित हुन पुगेका छन् ।
‘किशोरी आमाले जन्माएका बच्चाहरु कम तौलका जन्मिने, अस्वस्थ जन्मिने त हुन्छन् नै । आमा पनि शारीरिक र मानसिक रुपमा धेरै कमजोर भइसकेकी हुन्छिन्,’ उनले भनिन् ,‘उमेर नपुगेका अधिकांश किशोरीबाट मृत जन्म पनि धेरै भएको देखिन्छ ।’