प्रेम घोडासैनी अछाम –मंगलसेन नगरपालिका –७ का हरिपाल कामीको मुख्य पेशा केही समय अगाडी डोका नाम्लो बुनेर बेच्नु नै मुख्य पेशा थियो । समय फेरीएसंगै उनको पेशा पनि ओझेलमा परेको छ । पहिले मंगलसेनका धेरै गाउँमा डोका बुन्नकै लागि उनलाई धेरैले बोलाउने गर्थे । पहिले हरेक दिन व्यस्त हुने हरिपालले अहिले काम पाउनै छोडेका छन् ।
‘बिहानदेखि साझसम्म डोका बुन्नलाई मलाई भ्याइनभ्याइ हुन्थ्यो । मासिक ३५ हजारभन्दा बढी आम्दानी पनि हुन्थ्यो । अहिले मेलापातको काम गर्न छोडेका हुन् की के गरेका हुन् खै ’ उनले भने ,‘अघिल्लो पुस्ताकालाई डोको नाम्लो चाहिन्थो । अहिलेकाले वास्तै गर्दैनन् ।’
कमलबजार नगरपालिका –१ मुलीकी सरु विष्ट उमेर ६० वर्ष पुरा भइन् । गाउँमा बिजुली पुगेर मील स्थापना भएपछि कुटानी, पिसानी गर्न घरमा भएका ओखल र जातो बन्द भएका छन् । अहिले उनको घरमा बजारबाट किनेर ल्याएको चामल , पिठोको अन्न मात्रै पाक्छ । ओखल ,जातोमै कुटानी , पिसानी गरेर लामो समय बिताएकी उनी अहिले भारी बोकेर मीलमै जान्छीन् । ‘गाउँमा मील आएपछि आखेल, जातो बन्द भए ’ उनले भनिन् ,‘सुत्केरी आमा र बच्चाको लागि ओखलमा कुटेको धान र कोलमा पेलेको तेल औषधी जस्तै हो । यसमा न कुनै मिसावटको डर हुन्छ । न पैसा नै खर्च हुन्छ । तर अहिलेका पुस्ताले बिर्से ।’ उनका अनुसार आधुनिक प्रविधितर्फको बढ्दो आकर्षण र सुविधाभोगी प्रवृत्तिका साधन बढेपछि ग्रामीण क्षेत्रको रैथाने प्रविधि विस्थापित भएका छन् ।
‘उखु पेलेर खुदो निकाल्ने, अमिलो पेलेर चुक बनाउने र तोरीबाट तेल निकाल्न प्रयोग गरिने कोल , धान , मकै कुट्ने ओखल हामीले नै जोगाएर राखेका थियौं । हाम्रो बुढेसकाल लाग्यो । अहिलेकाले प्रयोग गर्दैनन्’ मुलीकै गुमा विष्टले भनिन् ,‘जन्मने बित्तकै बच्चालाई कोलमा पेले तेलको प्रयोग गर्दा दिमाग तेजीलो हुने विश्वास गरिन्छ । बच्चाको लागि प्रयोग हुने तेल पनि बजारबाटै किन्छन् ।’ उनकाअनुार कोलबाट उत्पादित तेलमा मेसिनमा पेलेर निकालिएको तेलको तुलनामा बढी शुद्धता हुने विश्वास गरिन्छ्र ।
लोप हुँदै गएका पुराना पुर्खौली मौलिक संरचना प्रविधिहरु , नयाँ बिद्युतिय सामाग्रिहरुको बढ्दो बजारले गर्दा खोज्दा पनि नपाइने भएकोप्रति स्थानीय चिन्तित छन् । ‘अहिलेका नयाँ पुस्ताहरु नाम सुने पनि अचम्म मान्ने गर्छन् । खोजि खोजि पढ्न हेर्न त परको कुरा हो ।’ ढकारी स्थानीय रामबहादुर बुढाले भने , ‘यसरी नै भूलिदै गयो भने भोलि आउने नयाँ पुस्ताहरुले के सिक्ने कसरी थाहा पाउने हाम्रो पुर्खौली प्रविधिहरु ।’ उनका अनुसार केही वर्ष अघिसम्म गाउँघरमा चिउरी तथा तोरी पेल्नका लागि प्रयोग गरिँदै आएका काठेकोल यतिबेला विभिन्न प्रविधिको विकाससँगै लोप हुँदै गएका छन् । अहिले पनि जिल्लाका बस्ती ,बलाता, ढकारी, हिच्माका कृषकले काठेकोलको प्रयोग गर्ने गरेका छन् । यी क्षेत्र मै ओखल , ढिकि जाँतो पनि हटेका छैनन् ।
स्थानीयस्तरमा परम्परागत प्रविधिको प्रयोग कम हुँदै गएका मुलीका नन्द विष्ट बताउँछन् । ‘पुराना वस्तुको संरक्षण गर्नेभन्दा पनि छिटो छरितो कसरी हुन्छ भन्नेतिर लागेका कारण कोल हराउन थालेका हुन् ।’ उनले भने । उनका अनुसार एकदशक अगाडिसम्म कृषकले कोलको माध्यमबाट तोरी र चिउरी पेलेर घ्यु तेलको जोहो गर्दै आएका थिए । कोलको निर्माण गर्दा लगानी कम लाग्ने भए पनि उक्त कोलमा पेलेर तेल निकाल्ने काम भने त्यति सजिलो छैन । तोरी, चिउरीलगायत वस्तु आधुनिक मेसिनबाट पेल्ने गरिए पनि चिउरीको बिजुला पेल्न भने काठेको ल निकै उपयोगी भएको उनको भनाई छ । गाउ“का बुढापाकाले यस्ता वस्तुको संरक्षण हुन नसकेकामा चिन्ता व्यक्त गरेका छन् ।
चलनचल्तीमा रहेका यी घरेलु मेसिनको प्रयोग विस्तारै घट्दै गएको स्थानीय बताउँछन् । स्थानीय स्रोत, साधन एवम् स्थानीय सीपबाटै निर्माण गरिने घरेलु मेसिनबाट यस क्षेत्रको परम्परागत जनजीवन, कला र सामाजिक अवस्थाका विषयमा समेत अध्ययन गर्न सकिने स्थानीयको बुझाइ छ ।