2026/08/26

छाउगोठमा बलात्कृत किशोरीको भन्छिन् : ‘बलात्कारपछि म बेहोस् भएँ , मरिसकी भनेर छोडेर गयो’

Admin
Admin

२०८१-०३-०८

908
Shares
छाउगोठमा बलात्कृत किशोरीको भन्छिन् : ‘बलात्कारपछि म बेहोस् भएँ , मरिसकी भनेर छोडेर गयो’

मेनुका ढुंगाना (अछाम)  - मंगलबार साँझ करिब ८ बजेको समयमा मेरो म्यासेन्जरमा पंचदेवल विनायक नगरपालिकाका एक साथीको म्यासेज आयो  , म्यासेन्जरको म्यासेज थियो – अछाममा छाउगोठमा किशोरी बलात्कृत । त्यो म्यासेज देख्ने बित्तिकै मैले ती साथीलाई फोन गरँे । उनले घटनाको सामान्य जानकारी दिएँ , बाँकी आफ्नै तरिकाले बुझ्न र भेरिफाइ गर्न भने मैले जानकारी पाउने बित्तकै पंचदेवल विनायक नगरपालिकाकी नगर प्रमुख अम्बिका चलाउनेलाई फोन गरेँ । घटना सोमबार मध्यरातिको रहेछ । नगर प्रमुखबाट घटना एक लेभलबाट पुष्टि भयो ।

छाउगोठमा किशोरी बलात्कृत भएको घटना लगभग पुष्टि भइसकेपछि समाचारको सन्दर्भमा अफिसमा खबर गरे । समय लाग्ने भएपनि समाचार आज नै लेख्नु पर्छ भन्ने खबर पाएपछि मैले प्रहरी कार्यालय , जिल्ला अस्पताल , घटना घटेको गाउँकी स्वास्थ्य स्वयमसेविका लगायतका सरोकारवाला पक्षसँग कुरा गरँे ।  समाचारले मंगलबार राति १० बजे लगभग अन्तिम रुप लियो ।

बुधबार समाचार बाहिर आएपछि अन्य सरोकारवालाको ध्यानाकर्षण भयो । अहिले पनि घटना अनुसन्धानकै क्रममा छ । जिल्ला अस्पतालमा उपचाररत ती किशोरीलाई भेटेर  कुरा गर्ने  बुधबार नै प्रयास गरँे । उनको उपचारमा संलग्न स्वास्थ्यकर्मी र काउन्सिलरको टिमले मानसिक तनावमा भएकाले तत्काल उनी बोल्न नसक्ने बताए । पीडामा रहेकी एक बलात्कृत किशोरीलाई भेटेर तत्काल कुरा गर्दा थप मानसिक दबाब पर्न सक्नेभन्दै मैले नभेट्ने निधो गरेँ । 

आमा गुमाएकी ,परिवारको साथ नपाएकी र ११ वर्षे भाइलाई आफैसँग राखेर मामाघरमा आफैं काम गरेर पढिरहेकी ती किशोरीको आर्थिक , पारिवारिक र मानसिक अवस्था बुझ्न पाए हुन्थ्यो भन्ने मनमा लागि रह्यो ।
बिहिबार बिहानदेखि उनी बोल्न सक्छिन् की सक्दिनन् भन्ने अवस्था बाहिर बाटै बुझिरहेकी थिएँ । उनको उपचारमा रहेको टिमबाट अघिल्लो दिनभन्दा केही सुधार भएको छ भन्ने खबर पाएपछि बिहबार दिउँसो ४ बजे म उनलाई भेट्न जिल्ला अस्पतालमा रहेको ओसिएमसी (एकद्धार संकट व्यवस्थापन केन्द्र) मा पुगँे ।

त्यता श्रीमानबाट हिंसामा परेकी एक १८ वर्षीया बहिनी पनि थिइन् । ती किशोरी भने त्यतैको वार्डमा सुतिरहेकी थिइन् । मैले केही समय अर्की किशोरीसँग कुरा गरे । त्यत्तिकैमा ती किशोरीका लागि खाजा आयो । 
खाजा खान भनेर उनी उठिन् । निराश अनुहार , गलेको शरिर , साहारा खोजी रहेको उनको नजरले मलाई हेरिरह्यो । एउटा जटिल केसको रिर्पोटिङ , सहजै विषयवस्तुमा प्रवेश गर्न पनि सकिएन । एक पत्रकारभन्दा पहिले उनको दिदीबहिनी , साथी जस्तै हँु भन्ने विश्वास दिलाउन सकेमात्र उनी मसँग खुलेर कुरा गर्न सक्थिन् ।

उनको पीडालाई सान्तवना दिने , उनको मुद्यासँगसँगै आफू पनि साथमा रहेको बताउन मलाई करिब एक घण्टाको समय लाग्यो । सुरुमा उनी र म जहाँ थियौं त्यहाँ सेवाग्राही र अन्य मान्छे पनि थिए । त्यहाँ कार्यरत कर्मचारीको सहयोगमा उनी र म एक एकान्त कोठामा बसेर सहज तरिकाले कुरा गर्ने वातावरण बन्यो ।

आफन्त भनिएकाहरुबाट उनले साथ पाइरहेकी थिइनन् , उल्टै बलात्कार गरेको होइन भनेर बयान दिन उनलाई धेरै दबाब आइरहेको रहेछ । मैलै एकान्तमा भेट्न खोज्दा बयान बदल्न दबाब दिनका लागि पो भेट्न आएकी हुन् की भन्ने उनको मनमा डर रहेछ । मैले उनलाई कमजोर नबन्न र आफ्नो तर्फबाट साथ दिने वचन दिएपछि उनी कुरा गर्न तयार भइन् । र , उनले आफूले भोगेका दुःखका पहाड र घटना घटेको रातिको बारेमा  यसरी सुनाउन थालिन् :


 ‘ मेरो घर पंचदेवल विनायककै एक अर्को वडामा हो । करिब १० वर्ष अगाडी छैटौं सन्तानलाई घरमा जन्म दिने क्रममा अध्याधिक रक्तश्राव भएपछि मेरी आमाको मृत्यू भयो । म त्यतिबेला ६ वर्षकी थिएँ । मेरो भाइ एक वर्षको थियो । आमाको मृत्यू भयो । मेरो बुवाको मानसिक सन्तुलन गुम्यो । हाम्रो साहारा कोही भएन । त्योभन्दा अगाडी मेरो तीन जना दाजुभाइ र दिदीको मृत्यू भइसकेको थियो । सबैभन्दा जेठी दिदी एक वर्ष नपुग्दै बितिन् , त्यो घटना मलाई याद छैन । त्यसको एक वर्षपछि मेरो ९ वर्षको दाइ बिते ।

गाउँमा खेल्ने बेला लडेका थिए । आखामा चोट थियो । मलाई धेरै याद छैन । दाइ पनि बिते । त्यसको करिब एक वर्षपछि भाइ जन्मियो । जन्मेको एक महिना नपुग्दै भाइ पनि बित्यो । त्यसपछिको एक वर्षपछि अहिले मेरो साथमा भएको भाइ जन्मियो । भाइ जन्मेको एकवर्षपछि अर्को सन्तान जन्माउने बेला आमा नै बितिन् । वर्षेनी आफ्नो घरका चार सदस्य गुमाउँदा बुवा पागल जस्तै भइसक्नु भएको थियो ।

बुवाले बिहानैदेखि रक्सी खाना सुरु गर्ने , रुने कराउने गर्न थालेपछि मलाई पनि त्यही बेला देखि गाह्रो भइसकेको थियो । गाउँका मान्छेले बेला बेला , बेहोस् हुन्छ , यसलाई रोग हो भन्नुको पछाडीको मेरो पीडा कसैले महसुस गर्न खोजेनन् ।
 घरमा बुवा बाहेक हामीलाई हेर्ने मान्छे अरु कोही थिएन । आमाको मृत्युपछि मामाघरको बज्यै गएर नातीनातीनालाई म आफैंसँग राख्छु , ज्वाइँको हालत पनि ठिक छैन भनेर हामीलाई मामाघरमा ल्याउनुभयो । म र भाइ बज्यैको साहारमा मामाघरमा बस्न थाल्यौं । स्कुल जाने , आउने , घरमा सहयोग गर्ने गथ्र्यौं । उता बुवाले अर्को बिहे गरेर बम्बै गइसक्नु भएको रहेछ । मैले धेरै समयपछि थाहा पाएकी हँु । २ वर्षअघि हजुरआमाको मृत्यू भयो । त्यही बेला म र मेरो भाइ पुरै टुहुरा भयौं ।

घरमा माइजु हुनुहुन्थ्यो । मामा बम्बैमा धेरै बस्नु हुन्छ । ८ महिनाअघि बिरामी भएकाले जाच गर्न भन्दै माइजू पनि मामासँगै जानुभयो । घरमा भाइ र ममात्रै भयौं । माइजू पनि बम्बै गइसकेपछि मलाई आफ्नै मावली खलकका नाता पर्नेहरुले फरक व्यवहार गरेको महसुस पनि भइसकेको थियो । तर आफ्नैबाट यतिसम्मको अपराध ममाथि होला भन्ने सोचिन ।’ 
मलाई विश्वास गरेर आफ्नो पारिवारिक पृष्ठभूमी उनी सुनाइ रहिन् । उनी अब मसँग सहजै बोल्नसक्ने भइसकेकी थिइन् । मैले छाउगोठमा बलात्कारको पृष्ठभुमी सोधँे । उनले यसरी बताइन् :

‘सोमबार साँझतिर पल्लोघरमा जन्मदिन थियो । त्यता मलाई पनि बोलाइएको थियो । मावली खलकमा वर्ष दिनसम्म जुठो लाग्ने मामाबाट पहिलेबाट मैलै दुर्वव्यवहार भोगिरहेकी थिएँ । उनले मलाई हेर्ने दृष्टिकोण राम्रो छैन भन्ने मलाई पहिलेबाट थाहा थियो । जन्मदिन मनाउने घरमा उनी पनि गएका थिए । त्यतिबेला मलाई यतिसम्म गर्नसक्छ भन्ने शंका नै थिएन ।  सोमबार साढे नौ बजेतिर म आफ्नो घर फर्किएँ । घर पुग्ने बित्तिकै महिनावारी भएँ ।  मसँग भएकी १४ वर्षकी एक बहिनीलाई छाउगोठमा सँगै बसन भने । एक जनालाई पनि सहज तरिकाले त्यो गोठमा बस्न मिल्दैन थियो । २ जनालाई असहज भएपनि उनी मसँग गोठमा बस्न तयार भइन् । साढे १० बजेतिर हामी दुवै जना सुतिसकेका थियौं । अरुबेला पनि रातिको समयमा दिसा , पिसाब गर्न म एक्लै आउने गर्थँे ।

त्यो दिन रातिको २ बजेतिर म पिसाब फेर्न बाहिर आएँ । बाहिर आएको १ मिनेट नहँुदै मामा नाता पर्ने सँगै खेल्ने , स्कुलको पनि साथी मेरो नजिक आयो । सबैभन्दा पहिले मेरो मुख थुन्यो । मसँग भएको दोपट्टा घाँटीमा बेर्यो । मुख थुन्यो । र, मेरो शरिरमाथि आक्रमण गर्न थाल्यो त्यही बेला म बेहोस् भइसकेकी रहेछु ।  बलात्कारपछि उसको मार्ने नियत नै होकी भन्ने लाग्छ मलाई । म बेहोस् भएँ । उसले मारिसके भन्ने लागेर त्यता छोडेको हो जस्तो लाग्छ । म रातभर छाउगोठ अगाडीको मकैबारीमा रहेछु । बिहान ८ बजेतिर वरपरका केटाकेटीले देखेर छोउगोठमा लगेर सुताएको हुन् भन्ने होस आएपछि मात्रै थाहा पाएँ ।’

उनी अहिले जिल्ला अस्पतालको एकद्धार संकट व्यवस्थापन केन्द्र ( ओसिएमसी) मा भर्ना भएर बसेकी छन् । तर उनको साथमा कुरुवा कोही पनि छैन । मंगलबार अस्पताल ल्याएर आएकी माइजु पनि फर्किन् । बुधबार फुपू नाता पर्ने उनलाई कुर्नलाई आइन् । उनी पनि मंगलबार दिउसो उनलाई एक्लै छोडेर केही नभनी फर्किन् । अहिले उनको साथमा अस्पतालका कर्मचारी र स्वास्थ्यकर्मी मात्रै छन् । फुपू नाता पर्ने आएकी र उनलाई गाउँका मान्छेले फोन गरेर केटाले केही पनि गरेको होइन भनेर बयान बदल्न दबाब दिइरहिन् । तर उनले कुनै हालतमा बयान नबदल्ने सुईंको पाएपछि अस्पतालको बेडमा उनलाई एक्लै छोडेर गइन् ।

मामामाइजुले पनि भारतबाट फोन गरेर उनलाई बयान बदल्न दबाब दिन थालेका छन् । अब गाउँ गएर बस्नै नसक्ने अवस्थामा पुगेकी छन् । गाउँका मान्छे कोहीपनि उनको पक्षमा छैनन् । 
अछाममा छाउगोठ भत्काउने अभियान चलेपछि उनी लगभग एक वर्ष घरमा पनि बसेकी रहेछन् । छोरी मान्छे घरमा बस्दा कुलदेवता बिग्रेको भन्दै उनलाई छाउगोठमा फर्काइएको रहेछ । गाउँमा गएर बस्न नसक्ने अवस्थामा पुगेकी यी साहाराविहिन् किशोरी आफ्नो र भाइको बाँकी भविष्यको चिन्तामा छन् ।

यति ठूलो घटना हँुदा पनि कोही आफन्तको साथ नदेख्दा जिल्ला अस्पतालमा उनको उपचारमा रहेका नर्सहरु आँशु बगाउछन् । उनको अवस्था बुझ्न केही अधिकारकर्मीहरु पुगेपनि  अरु कसैले वास्ता गरेका छैनन् ।  उनको र मेरो कुराकानीको अन्तिममा हाम्रो छेउमा आएकी अस्पतालकी बरिष्ट नर्सिङ अधिकृत गंगा बुढामगरले उनको अनुहार सुम्सुम्याउदै आँखाबाट आँशु बगाउँदै भनिन् ,‘हामी नर्स भएपनि अहिले आफ्नै दिदी भेटाए भन्ने सम्झनु । तिम्रो हरेक अवस्थामा म साथमा हुने छु ।’

908
Shares

धेरै हेरिएका

© News Kunja 2021-2026. All rights reserved.

News Kunja