अछाम — चौरपाटी गाउँपालिका–६ सेल्पाखाकी तुली साउँद ४० वर्षकी भइन् । ४ छोरा, २ छोरीकी आमा उनका जेठा छोरा २० वर्षका छन् । १८ वर्षको कान्छो छोराले १६ वर्षकी बुहारी भित्र्याइसकेका छन् ।
तुलीका जेठो छोराका १७ वर्षीया बुहारीले नाति जन्म दिएकी छन् । दुवै छोराबुहारीले ७ कक्षामाथि पढेका छैनन् । १५ वर्षकी जेठी छोरीले ५ कक्षामै पढाइ छाडेकी छन् । कान्छी छोरी ४ वर्षकी भइन्, उनी बल्ल स्कुल जान थालेकी छन् ।
जिल्ला सदरमुकाम मंगलसेनबाट करिब दुई घण्टा गाडी र १ घण्टा पैदल यात्रामा पुगिने सेल्पाखामा स्वास्थ्य, शिक्षा, रोजगारी, सडकको पहुँच छैन । गाउँमा करिब एक सय घरधुरी छन् । बर्सेनि गाउँ छोडेर बसाइँ सर्नेको संख्या बढिरहेको छ । सुदूरपश्चिमका अधिकांश गाउँजस्तै पुरुषहरू कामको खोजीमा भारततिर जाने बाध्यता यो गाउँको पनि छ ।
‘हाम्रो गाउँमा ५ कक्षामाथि कमैले पढ्छन् । सबैका छोराछोरी यसैगरी पढाइ छाड्छन्,’ तुलीले भनिन्, ‘५ कक्षापछि पढाइ छाड्ने, १५ वर्ष पुगेपछि बिहे गर्ने त यो गाउँको चलनजस्तै हो । छोराले बिहे गरेर नाति देख्न पाइहालें । हामी त खुसी छौं ।’
दुवै छोरालाई अब कामका लागि भारत पठाउन लागिएको उनले बताइन् । ‘बिहे गरेर बम्बै गएपछि आफ्ना बालबच्चाका लागि भए पनि काम गर्छन् । गाडीभाडा बनाउन सकेको भए दुई छोरालाई सँगै बम्बै पठाइदिन हुन्थ्यो,’ उनले भनिन् । सेल्पाखाकै ४० वर्षका रामबहादुर भण्डारीका पनि ५ सन्तान छन् । जेठी छोरीले ३ वर्षअघि ७ कक्षा पढ्दै १५ वर्षको उमेरमा बिहे गरिन् । रामबहादुरले भने, ‘७ कक्षा पढेर अक्षर चिन्न सक्ने बनाइदिएँ । ज्वाइँ पनि १८ वर्षका भए । बम्बै आउजाउ गर्छन् । सबै राम्रै छ ।’ उनका अरू दुई छोराछोरीले पनि ५ कक्षा सकेर पढाइ छाडेका छन् । ‘कान्छो छोरा र छोरी नजिकैको स्कुलमा जान्छन्, मन लागेको दिन जान्छन् । त्यसपछि गाईबस्तु चराउने, मेलापात, घाँसदाउरामा व्यस्त हुन्छन्,’ उनले भने ।
कोराना महामारीअगाडि भारतका विभिन्न सहरमा काम गर्ने गरेका रामबहादुर अहिले भने घरमै छन् । ‘कोरोना नआउनुअघिसम्म म पनि बम्बैमा थिएँ । त्यो बेला घर आइयो,’ उनले भने, ‘एक वर्षअगाडि फेरि गएको हुँ । पहिले जस्तो काम नपाएपछि फर्केर आएँ । अहिले घरमै बसिरहेको छु ।’
सेल्पाखाकै १७ वर्षीया सीता साउँदको २ वर्षअगाडि बिहे भयो । १८ वर्षका श्रीमान् सहित दुवैले ७ कक्षा पास गरेर बिहेपछि पढाइ छाडे । अहिले सीता दम्पत्तीको साथमा ७ महिनाको छोरा छ । ‘२० वर्षपछि बिहे गर्ने त गाउँमा कोही छैन भने पनि हुन्छ । सबैले हाम्रै उमेरमा बिहे गरिरहेका छन् । हामीलाई त्यस्तो अचम्म लाग्दैन,’ उनले भनिन्, ‘बिहेबारी पनि वल्लोपल्लो गाउँबाटै हुन्छ ।’
बीचमै पढाइ छोड्ने, बालविवाह गर्ने जस्ता विषय यो गाउँका लागि सामान्य नै भएको यही टोलकी वडा सदस्य बसन्ती साउँद बताउँछिन् । उनका अनुसार सेल्पाखामा ५० जनाभन्दा बढी बालबालिकाले बीचमै पढाइ छाडेका छन् । ‘पढ्नु पर्छ, उमेर पुगेर विवाह गर्नुपर्छ भन्नेबारे अभिभावक पनि सचेत छैनन्,’ वडा सदस्य साउँदले भनिन्, ‘हामीले यस्तो गर्नु हुन्न, कानुनले समात्छ भन्यो भने हामीले भोट दिएर जिताएको हो, हामीसँग ठूला कुरा गर्ने भन्छन् । समाजबाट एक्लो हुने डरले चुप बस्न बाध्य छु ।’
कानुनी रूपमा बन्देज गरिएको बालविवाह सामाजिक रूपमा बन्द हुन सकेको छैन । बालविवाहसम्बन्धी बनेको कानुन अनुसार विवाह गर्ने व्यक्तिको उमेर २० वर्ष पूरा भएको हुनुपर्ने, बालविवाह स्वतः बदर हुने र बालविवाहसम्बन्धी कसुर गर्ने व्यक्तिलाई ३ वर्षसम्म कैद र ३० हजारसम्म जरिवाना गराउने व्यवस्था छ । तर जिल्ला प्रहरी अछामका अनुसार बालविवाहसम्बन्धी कसुरमा पूर्ण रूपमा यो कानुन हालसम्म आकर्षित भएको छैन । करिब ५ सय जनसंख्या रहेको सेल्पाखा गाउँमा रहेको आधारभूत विद्यालयका प्रधानाध्यापक नरेन्द्र साउँदबाहेक अन्य जागिरे छैनन् ।
३ कक्षासम्म पढाइ हुने सेल्पाखा आधारभूत विद्यालयमा अहिले ७५ जना विद्यार्थी रहेको वडा सदस्य भानसिंह साउँदले बताए । ‘अघिल्लो वर्ष गाउँको स्कुलमा ९० विद्यार्थी थिए । अहिले घटेर ७५ जना छन् । अशिक्षा, गरिबी, अन्धविश्वासजस्ता समस्याले हाम्रो गाउँ पछि नै परेको छ ।’ कक्षा ३ भन्दा माथिको पढाइका लागि करिब १ घण्टाको पैदल दूरीमा रहेको देवीमाण्डु माविमा जानुपर्ने अवस्था रहेको स्थानीय गन्छे साउँदले बताए । ‘चार कक्षा पढ्ने बालबालिकालाई एक घण्टामा अभिभावकले ढुक्कसँग पठाउन पनि सक्दैनन्,’ उनले भने, ‘नजिक भएको भए स्कुल जान पनि रहर गर्थें होला । धेरैले त तीन कक्षासम्म पढेर छाडेका छन् ।’
सेल्पाखा गाउँसम्म आउनका लागि साँफे–चौखुट्टे सडक खण्डको कालोपत्र भएको सडकबाट गाउँको विद्यालयसम्म शाखा रोड लगे पनि कहिल्यै गाडी नचल्ने गरेको उनले बताए । ‘हिउँदमा पनि यो गाउँमा गाडी चल्दैनन् । जिल्लाबाट कोही ठूलाबडाले गाडी ल्याएर आउँदा मात्रै हामीले देख्न पाउने हो ।’ गाउँमा सामान्य प्राथामिक उपचार गर्ने स्वास्थ्य इकाइ मात्रै भएको वडा सदस्य साउँदले बताए । ‘सुत्केरी हुनका लागि ३ घण्टा टाढा रहेको स्वास्थ्य चौकीमा हिँडेर जानुपर्छ,’ उनले भने, ‘गाउँमा स्टेचर नपाएका बेला, बोक्ने मान्छे नभएका बेला, रातिको समयमा स्वास्थ्य चौकी पुग्न सकिँदैन । यस्तो बेला धेरै जोखिम मोलेर घरमै सुत्केरी हुनुपर्ने बाध्यता छ ।’