अछाम — मंगलसेन बजारको माथिल्लो भागमा ढुंगामाटोले बनाएको एक पुरानो सरकारी घर छ । त्यही घरमा आश्रय लिएर मंगलसेनका जोगी वादी ७ छोराछोरीसहित एक वर्षदेखि बसिरहेका छन् । मंगलसेन नगरपालिका–७ पिपलगाउँमा लामो समयदेखि अरुको घरमा बसेको उनको परिवार उक्त घर भत्किएपछि चार वर्षदेखि जता खाली घर देखिन्छ, उतै गएर बसिरहेका छन् ।
गत वर्ष बास खोज्ने क्रममा कसैलाई नसोधी खाली घर देखेपछि उनी पुरानो सरकारी घरमा परिवारसहित बस्न थाले । आफ्नो घर जग्गा नभएको र बस्ने ठेगान नभएका जोगीले ओत लाग्ने ठाउँ पाएपछि दिनभर ज्यालादारी गरेर त्यतै आएर बस्ने गरेका थिए । तर तीन महिनाअघि उनी बसेको घरमा प्रहरी आएर खाली गर्न भनेपछि उनी नजिकैको एक घरमा मासिक ५ सय रुपैयाँ भाडा तिर्ने गरी बसे ।
‘अरुकै भारी बोकेर काम गरेर गुजारा चलाउनुपर्ने भएकाले त्यही ५ सय भाडा पनि तिर्न गाह्रो भयो,’ जोगीले भने, ‘सरकारी घर भए पनि हामीले छोडेपछि खाली नै थियो । फेरि यतै आएर बसेका छौं । फेरि प्रहरी आएर कुन दिन निकालीदिन्छ भन्ने चिन्ता छ ।’
तत्कालीन जिल्ला विकास समिति मातहतमा रहेको उक्त घर लामो समयसम्म भाडामा दिइएको थियो । मंगलसेनमा स्तरीय भवन बन्न थालेपछि हाल यो घर ओझेलमा परेको थियो । अल्पसंख्यक वादी समुदायका प्रायःको आफ्नो घर, जग्गा केही नभएकाले मागेरै गुजारा चलाउने गरेको जोगीकी श्रीमती सीता वादीले बताइन् ।
‘गाउँमा माग्न जाने, जता रात पर्यो उतै बस्ने गर्न थालेपछि छोराछोरीलाई पनि स्कुल पठाउन सकिएको छैन,’ सीताले भनिन्, ‘छोराछोरीलाई मंगलसेनको शोडषा माविमा भर्ना त गरिएको छ । गाउँगाउँ माग्न जानुपर्ने बाध्यता र कापीकलम, पोशाकको व्यवस्था गर्न नसक्दा नियमित स्कुल पठाउन सकिएको छैन ।’
मंगलसेन नगरपालिकाले अन्य वादी परिवारका लागि गत वर्ष नै घर बनाइ दिएपनि आफूले नपाएको उनले बताइन् ।
‘बस्ने घर नहुँदा छोराछोरीले हामीभन्दा बढी दुःख पाउने भए । घर बनाइदिन्छौं त भन्छन् । अहिलेसम्म बनेको छैन,’ उनले भनिन्, ‘पहिले मादल, सुल्पा बनाएर बेच्थ्यौं । अहिले मादल नेपालगन्जबाट तीन हजार हालेर ल्याउँछन् । हामीले बनाएका मादल ५ सयमा खोज्छन् ।’
७० वर्षीया भिडी वादी पनि मंगलसेनमा अरुको घरमा साहारा लिएर बस्छिन् । जोगीको जस्तै उनको पनि नबस्ने घर छ, न खेतीपाती गर्ने जग्गा । दिनभर गाउँमा डुलेर माग्ने गर्छिन् । उनी आफू बच्चै हुँदादेखि बुवाआमासँगै गाउँमा माग्न हिँड्न थालेको बताउँछिन् । वादी समुदायका महिलाले गाउँमा नाच्ने–गाउने काम गरेर त्यसवापत गाउँलेले स्वस्फुर्त रुपमा अन्न दिने गरेको उनी सम्झिन्छन् ।
‘पहिले गाउने र नाच्ने भनेकै वादीका महिला मात्रै हुन्थे । अरुले नाचेको गाएको राम्रो मानिदैन थियो । गाउँमा जाँदा नाच्ने, गाउने रमाइलो गर्ने र टन्न अन्न ल्याएर फर्किन्थ्यौं,’ उनले भनिन्, ‘अहिले त जो पनि नाचेका छन्, जता पनि नाचेका छन् । हामीले नाचेर खाने दिन सकिए । अब त गाउँमा माग्न जाँदा पनि आफै काम गरेर खानुस् भन्छन् ।’
उमेर र जोस छँदासम्म नाचेर गाएरै गुजारा चलाएका उनी जस्ता थुप्रै वादी समुदायका महिला अहिले पनि छन् । ‘अहिले न जोसजाँगर रह्यो न उमेर नै । पहिले श्रृंगार गरेर नाच्दै गाउँदै माग्ने ठाउँमा अहिले लठ्ठीको साहारामा जान्छौं । अचेल त गुजारा चलाउनै गाह्रो भइसक्यो,’ उनले भनिन् ।
वर्षौंदेखिको हारगुहार पछि मंगलसेन–५ की टंकी वादीले गत वर्ष नयाँ घर पाइन् । त्यसअघि बास बस्नकै लागि भौंतारिनुपर्ने उनको बाध्यता थियो । मंगलसेन नगरपालिकाले नयाँ घर बनाइ दिएपछि ४ छोराछोरी र श्रीमान् त्यतै बस्छन् । बिहानैदेखि गाउँमा माग्न जानुपर्ने भएपछि छोराछोरीको स्कुल छुट्दै गयो । १३ वर्षका छोराले ४ कक्षा पढेर छाडे, १२ र १५ वर्षका छोरी अक्षर नै चिन्दैनन् ।
‘एक जनाले मात्रै मागेर ल्याउँदा सबैलाई खान पुग्दैन । छोराछोरीलाईसँगै लगेर माग्न जाँदा समयमा स्कुल पठाउन सकिएन । गाउँमा माग्न जानु नपर्ने दिन स्कुल पठाउन खोज्दा अहिले जानै मान्दैनन्,’ टंकीले भनिन्, ‘हाम्रो उमेर त मागेरै सकियो । छोराछोरीले पनि पढ्न सकिरहेका छैनन् । अहिलेसम्म गाउँमा माग्न जाँदा थोरै भएपनि पाइन्छ । पछि छोराछोरी के गरी खालान् भन्ने पीर हुन्छ ।’
उनका अनुसार मंगलसेनमा मात्रै वादी समुदायका १५ भन्दा बढी बालबालिका विद्यालय जाने उमेरका छन् । विद्यालयमा भर्ना भए पनि कसैले छाडेको र कोही नियमित कक्षामा जान नसकेको उनले बताइन् । ‘पढेलेखेर जागिर खाएका त हाम्रो समुदायभित्र अहिलेसम्म कोही छैन । केटाकटीलाई पनि पढाउन सकिएको छैन,’ उनले भनिन् । मंगलसेनभित्र रहेका वादी परिवारका लागि वर्षेनी घर बनाइरहेको मंगलसेनका नगर प्रमुख पदम बोहराले बताए । उनकाअनुसार अघिल्ला दुई आर्थिक वर्षमा ४ र चालु आवमा २ घर बनाउने योजना रहेको छ । ‘वादी समुदायलाई एकै ठाउँमा स्थायी रुपमा बसाउनका लागि घर बनाइरहेका छौं । बिस्तारै उनीहरुको जीवनशैली सुधार्नतर्फ लाग्छौं,’ उनले भने ।
साँफेबगरको बूढीगंगा नदी किनारमा बसिरहेका रमेश वादी पनि आफ्नो बासस्थान सुरक्षित नभएकोमा चिन्तित छन् । वर्षेनी उर्लेर आउने बूढीगंगा आगनमै पुग्न थालेपछि स्थानीय तहसँग पटकपटक सुरक्षित स्थानमा बसाइँ मिलाइ दिन आग्रह गर्दा पनि वास्ता नगरिएको उनले बताए । ‘बाउबाजेका पालामा बनाइएको सानो घर छ । यो घरमा बूढीगंगा नदी कतिखेर पस्छ भन्ने डर छ,’ रमेशले भने,‘सुरक्षित स्थानमा बासको व्यवस्था नगरिदिए पनि पुर्खाले बनाउँदै आएका माटोका भाँडाकुँडा, सुल्पा बनाउनलाई मेसिन सहयोग माग्दा पनि पाइएन ।’ राज्यबाट आफ्नो समुदायका लागि कुनै खालको सहयोग नभएको उनले बताए ।
जिल्लाको मंगलसेनमा करिब ४५ र साफेबगरमा २० जना गरी अछाममा वादीको समुदायको जनसंख्या करिब ६५ रहेको मंगलसेनका समुदायका अगुवा प्रेम वादीले बताए । मंगलसेनभित्र रहेका वादी परिवारका लागि वर्षेनी घर बनाइरहेको मंगलसेन नगरपालिकाका प्रमुख पदम बोहराले बताए । उनका अनुसार अघिल्ला दुई आर्थिक वर्षमा ४ घर र चालु आवमा वादी परिवारका लागि २ घर बनाउने योजना रहेको छ । ‘वादी समुदायलाई एकै ठाउँमा स्थायी रुपमा बसाउनका लागि घर बनाइरहेका छौं । विस्तारै उनीहरुको जीवनशैली सुधार्नतर्फ लाग्छौं ।’