2026/04/17

१० हजार विद्यार्थीलाई लक्षित गर्दै रामारोशनमा शैक्षिक रुपान्तरण अभियान

Admin

२०८१-०८-१४

597
Shares

अछाम — रामारोशन गाउँपालिकाले सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधार गर्न शैक्षिक रुपान्तरण अभियान सुरु गरेको छ । 

सामुदायिक विद्यालयको गुणस्तर सुधार, सबै क्षेत्रमा भविष्यमा प्रतिस्पर्धा गर्न सक्ने विद्यार्थी उत्पादन र रामारोशन गाउँपालिकाभरिको शैक्षिक अवस्था सुधार गर्नका लागि नीति नै बनाएर अभियानको सुरुआत गरेको प्रमुख प्रशासकीय अधिकृत रामबहादुर भण्डारीले बताए । उनका अनुसार गाउँपालिकाभित्र रहेका करिब १० हजार विद्यार्थीको भविष्यलाई मध्यनजर गर्दै अभियान सुरु गरिएको हो ।

रामारोशन गाउँपालिकाभित्रका सबै विद्यालयका प्रधानाध्यापक, गाउँकार्यपालिकालगायतको उपस्थितिमा रामारोशनका ४६ विद्यालयलाई मध्यनजर गर्दै अभियानको सुरुआत गरिएको उनले बताए । गाउँपालिकाले बनाएको रामारोशन शैक्षिक रुपान्तरण अभियान सञ्चालन कार्यविधि २०८१ तयार पारेर गाउँपालिकाले सामुदायिक विद्यालयको गुणस्तर सुधार गर्न लागेको हो । सामुदायिक विद्यालयको सिकाइ उपलब्धि वृद्धि, सरोकारवालालाई थप जिम्मेवार र जवाफदेही बनाउन, बालबालिकाको शिक्षाको अधिकारलाई सुनिश्चित गर्न स्थानीय सरकार सञ्चालन ऐन २०७४ को दफा ११ को अधिकारको प्रयोग गरी गाउँपालिकाले कार्यविधि बनाएको छ । कार्यविधिअनुसार शैक्षिक गुणस्तर सुधारका लागि तीन तहको सम्झौता गरिएको छ ।

पहिलो सम्झौता गाउँ शिक्षा समितिका अध्यक्ष र प्रधानाध्यापकबीच, दोस्रो प्रधानाध्यापक र शिक्षकको कार्यसम्पादन सम्झौता, तेस्रो गाउँ शिक्षा समिति अध्यक्ष र बालविकास सजकर्ता बीचको कार्यसम्पादन सम्झौता रहेको छ । गाउँ शिक्षा समितिका अध्यक्ष र प्रधानाध्यापक बीचको सम्झौताअनुसार विद्यालयलाई आवश्यक पर्ने स्रोत साधनको व्यवस्थापन गाउँपालिकाले गर्ने सोको उचित प्रयोग विद्यालयले गर्ने, प्रत्येक विषय र कक्षाको सिकाइ ६० प्रतिशतभन्दा माथि हुनुपर्ने लगायतका बुँदा राखिएका छन् ।

दोस्रो प्रधानाध्यापक र शिक्षकको कार्यसम्पादन सम्झौतामा आफ्नो विषय र कक्षाको सिकाइ उपलब्धि ६० प्रतिशतभन्दा माथि भएको सुनिश्चितता शिक्षकले गर्नु पर्ने, हरेक दिन ३/३ अनुरुपको क्रियाकलाप र अभिलेख राख्नुपर्ने भनिएको छ । हरेक विषयमा विद्यार्थीले एक दिनमा सिकेका ३ कुरालाई स्मरण गराउनका लागि सो अवधारणा ल्याइएको उल्लेख गरिएको छ ।

तेस्रो गाउँ शिक्षा समितिका अध्यक्ष र बालविकास सहजकर्ता बीचको कार्यसम्पादन सम्झौतामा गाउँपालिकाले बालविकासका लागि आवश्यक पर्ने स्रोतसाधनको सुनिश्चतता गर्ने र बालविकास सहजकर्ताले अक्षराम्भको पहिलो अवस्था सबैले अनिवार्य सिक्नु पर्ने र सजकर्ताले सिकाउनु पर्ने बाध्यकारी अवस्था राखिएको छ ।

कार्यसम्पादन सम्झौताको सफल कार्यान्वयन र असफल कार्यान्वयनलाई आधार मानेर विद्यालय, प्रधानाध्यापक र शिक्षकलाई पुनर्बलको व्यवस्था गरिने प्रमुख प्रशासकीय अधिकृत भण्डारीले बताए । गाउँपालिकाले सञ्चालन गर्ने अभियानको बारेका प्रधानाध्यापक, शिक्षकलाई जानकारी भइसकेको र विद्यार्थी र अभिभावकलाई जानकारी दिनका लागि अहिले सबै विद्यार्थी र अभिभावकलाई बोलाएर जागरण अभियानको सुरुआत गरिएको उनले बताए ।

सामुदायिक विद्यालयमा विद्यार्थी नियमित नहुने प्रमुख समस्या रहेकाले अभिभावकलाई जिम्मेवार बनाउनु परेको उनले बताए । पहिलो चरणमा कार्यविधि बनाएर अभियान सुरु गरिएको र यसलाई सफल बनाउनका लागि राजनीतिक दलहरुसँग पनि सहकार्य गरिएको उनले बताए । ‘गाउँपालिकाभित्र एसईईको नतिजा पनि सन्तोषजनक छैन । विद्यार्थी नियमित विद्यालयमा पनि आइरहेका छैनन् । चुनावको बेला मत माग्न गाउँगाउँ गए जसरी राजनैतिक दलका नेता कार्यकर्तालाई सामुदायिक विद्यालयको सुधारका लागि अभिभावक भेट्ने गरी पठाउन सहकार्य गरिनेछ,’ उनले भने ।

 

597
Shares

©News Kunja 2021-2026. All rights reserved.