2026/08/25

बेरुजु न्यूनीकरणमा अग्रणी पञ्चदेवललाई महालेखा कार्यालयद्वारा सम्मान

Admin
Admin

२०८२-०३-१७

513
Shares
बेरुजु न्यूनीकरणमा अग्रणी पञ्चदेवललाई महालेखा कार्यालयद्वारा सम्मान

अछाम — अछामस्थित पञ्चदेवल विनायक नगरपालिका महालेखा परीक्षकको कार्यालय, काठमाडौँबाट सम्मानित भएको छ। आर्थिक सुशासन, पारदर्शिता र प्रभावकारी सेवा प्रवाहमा उत्कृष्ट अभ्यास प्रस्तुत गरेबापत महालेखा कार्यालयले नगरपालिकालाई प्रशंसा पत्र प्रदान गर्ने निर्णय गरेको हो।

महालेखा परीक्षक कार्यालयको ६७ औँ वार्षिकोत्सवको अवसरमा आयोजित कार्यक्रममा सो निर्णय गरिएको हो। कार्यक्रममा संघ, प्रदेश र स्थानीय तहका विभिन्न निकायहरूमध्ये उत्कृष्ट अभ्यास प्रस्तुत गर्ने संस्थाहरूलाई सम्मानित गरिएको थियो।

पञ्चदेवल विनायक नगरपालिका गत आर्थिक वर्षमा सुदूरपश्चिम प्रदेशमै सबैभन्दा कम बेरुजु देखिएको स्थानीय तहका रूपमा चिनिएको हो। महालेखा कार्यालयले आन्तरिक लेखापरीक्षण, सार्वजनिक लेखा प्रणाली, पारदर्शिता, जवाफदेहिता र सेवा प्रवाहका मापदण्डका आधारमा नगरपालिकालाई सम्मानित गरेको बताइएको छ।

नगरपालिकाले आर्थिक अनुशासन, लेखा परीक्षणमा पारदर्शिता, दक्ष सेवा प्रवाह र सूचना व्यवस्थापनका क्षेत्रमा उल्लेखनीय प्रगति गरेको जनाएको छ।

नगरप्रमुख अम्बिका चलाउनेका अनुसार नगरको प्रशासकीय अधिकृत, लेखा शाखा तथा जनप्रतिनिधिहरूको समन्वय र जिम्मेवार कार्यशैलीका कारण यो उपलब्धि सम्भव भएको हो। उनले यसले आगामी दिनमा अझ प्रभावकारी सेवा दिन प्रेरणा मिल्ने विश्वास व्यक्त गरिन्।

त्यस्तै, लेखा प्रमुख लोकबहादुर चलाउनेले समेत यो सम्मानले कार्यसम्पादनमा थप उत्साह र उत्तरदायित्व थपिएको बताएका छन्।

513
Shares

धेरै हेरिएका

© News Kunja 2021-2026. All rights reserved.

News Kunja