अछाम — अछामका दुर्गम गाउँमा केही वर्षअघिसम्म उत्पादन गर्न सकिए पनि बजारसम्म पुर्याउनु किसानका लागि ठूलो चुनौती थियो। गाउँमा उब्जिएको मकै, अदुवा, टिमुर होस् वा खसीबाख्रा, बिक्रीका लागि बजार खोज्दै हिँड्नुपर्ने अवस्था थियो।
सडक पुगेपछि भने गाउँमै कृषि उपज संकलन हुन थालेको छ। व्यापारी र खरिदकर्ता गाउँसम्मै पुग्न थालेपछि किसानले उत्पादन बढाउन थालेका छन्। त्यसको प्रत्यक्ष प्रभाव गाउँको आर्थिक गतिविधिमा देखिन थालेको छ।
पञ्चदेवल विनायक नगरपालिका–६ तोलीमा हरेक वर्ष अदुवा, टिमुर, अल्लो र मकै संकलन हुन्छ। गाउँमा संकलन भएको उत्पादन अछामबाहिर कैलाली, सुर्खेत, बाँकेलगायतका बजारसम्म पुग्छ। स्थानीय कमल रावल आफैं वडाध्यक्ष हुन्। उनले गाउँबाट कृषि उपज संकलन गरेर बाहिरी बजारसम्म पुर्याउने काम गर्दै आएका छन्।
रावलका अनुसार यो वर्ष मात्रै तोलीबाट करिब ५५ हजार किलो अदुवा संकलन भएको छ। प्रतिकिलो ५५ रुपैयाँका दरले किसानबाट अदुवा खरिद गरिएको उनले बताए। त्यस्तै, आठ क्विन्टल टिमुर प्रतिकिलो पाँच सय रुपैयाँका दरले संकलन भएको छ। गाउँमा तीनवटा अदुवा कृषक समूह गठन भएका छन्। प्रत्येक समूहमा २५ जना किसान आबद्ध छन्। समूहमा आबद्ध किसानले औसतमा प्रतिव्यक्ति एक क्विन्टलसम्म अदुवा उत्पादन गर्ने गरेको रावलले बताए।
‘मध्यपहाडी राजमार्ग बनेपछि गाउँका शाखा सडक पनि विस्तार भए। उत्पादन गाउँबाटै उठाउन सजिलो भएको छ,’ रावलले भने, ‘पहिले बजारसम्म पुर्याउनै समस्या थियो। अहिले गाउँमै व्यापारी र संकलनकर्ता आउँछन्। मैले पनि संकलन गरिरहेको छु। त्यसले किसानलाई उत्पादन बढाउन उत्साहित बनाएको छ।’
मध्यपहाडी राजमार्गले अछामका पहाडी बस्तीलाई सडक सञ्जालमा जोड्दै लगेपछि त्यससँग जोडिएका ग्रामीण सडकबाट उत्पादन ओसारपसार गर्न सहज भएको उनको भनाइ छ। सडकले गाउँलाई बजारसँग मात्रै जोडेको छैन, गाउँमा उत्पादन गर्ने र त्यसलाई बिक्री गरेर आम्दानी बढाउने अवसर पनि दिएको छ। ‘घरखर्च चलाउनेदेखि छोराछोरीको पढाइ र अन्य आवश्यकतामा कृषि आम्दानी प्रयोग हुन थालेको छ,’ रावलले भने।
सडक र बजारको सम्बन्धले कृषि मात्रै होइन, पशुपालनमा पनि परिवर्तन ल्याएको छ। ढकारी गाउँपालिका–४ बलाताकी सेतु कामीको दैनिकी पछिल्ला वर्षमा बाख्रापालनसँग जोडिएको छ। श्रीमान् रोजगारीका लागि भारतमा छन्। चार छोराछोरीको पालनपोषण र पढाइ खर्च जुटाउन घरमै आम्दानीको स्रोत आवश्यक भएपछि उनले बाख्रापालन सुरु गरिन्। ‘छोराछोरीको पालनपोषण गर्न, पढाउने खर्च जुटाउन श्रीमान् अहिले पनि भारतमै हुनुहुन्छ। एक्लैको आम्दानीले घरपरिवार चलाउन नसकेपछि मैले बाख्रा पाल्न सुरु गरेकी हुँ,’ उनले भनिन्, ‘अहिले मसँग २१ वटा बाख्रा छन्। चार छोराछोरीको हेरविचार गर्नै र दिउँसो बाख्रा चराएर समय बित्छ।’
बाख्रापालनले सेतुको घरमा आम्दानी थपेको छ। गाउँमा सडक पुगेपछि खसीबोका बिक्रीका लागि टाढाको बजार खोज्नुपर्ने बाध्यता पनि घटेको छ। ढकारीमा गाडी पुग्ने भएकाले व्यापारीले त्यहीँबाट खसीबोका उठाउने गरेका छन्। दसैंजस्ता चाडपर्वमा अछाम सदरमुकाम मंगलसेनदेखि सुर्खेत, दैलेख र नेपालगन्जसम्म यहाँका खसीबोका पुग्ने गरेका छन्।
सेतुले बाख्रापालनबाट वर्षमा एक लाख रुपैयाँभन्दा बढी आम्दानी हुने बताइन्। तीन–चार वर्षयता ढकारी क्षेत्रमा बाख्रापालनसँगै आर्थिक गतिविधि बढेको उनको भनाइ छ। गाउँका महिलाहरू बिहानदेखि साँझसम्म बाख्रा चराउन र स्याहार गर्न व्यस्त देखिन्छन्। उनीहरूका लागि बाख्रा पालन आवश्यक पर्दा तत्काल नगदमा परिणत गर्न सकिने आम्दानीको माध्यम बनेको छ। ‘पहिलेपहिले छ महिना पनि खाना नपुग्ने परिवारमा बाख्रापालन गरेर समाजमा आर्थिक हैसियत राम्रो बनाउन सकेकी छु,’ उनले भनिन्, ‘अहिले घरखर्च मात्रै होइन, छोराछोरी पढाउन पनि सजिलो भएको छ।’
कृषि उत्पादनतर्फ पनि सडक र बजारको सम्बन्ध देखिन थालेको छ। मंगलसेन नगरपालिका–६ मा गत वर्ष ५५ हजार किलोभन्दा बढी मकै संकलन भएको थियो। स्थानीय शिवशक्ति कृषि सहकारी संस्थाले प्रतिकिलो ६० रुपैयाँका दरले किसानबाट मकै खरिद गरिरहेको छ। सहकारीले वडा कार्यालय र गुठिना टोलमा संकलन केन्द्र तोकेको छ।
मकै पकेट क्षेत्रका रूपमा रहेको यो वडामा उत्पादित मकै धनगढीको पञ्चकोशी सिट कम्पनीले सहकारीमार्फत खरिद गर्ने सम्झौता गरेको छ। किसानले उत्पादन गरेपछि कहाँ बेच्ने भन्ने अन्योल नहोस् भनेर सहकारीले बिउसमेत उपलब्ध गराउँदै आएको छ।
सहकारीका व्यवस्थापक बेदराज भण्डारीका अनुसार चार वर्षयता किसानबाट नियमित रूपमा मकै संकलन भइरहेको छ। यसपटक दुई सयभन्दा बढी किसानले मकै बिक्री गरिसकेका छन्। कतिपय किसानले एक हजार पाँच सय किलोसम्म मकै बेचेका छन्। ‘बढ्दो बसाइँसराइले खेतीयोग्य जमिन पनि गाउँमा धेरै बाँझा थिए। सहकारीमार्फत बिउ दिएर तपाईंहरू जति सक्नुहुन्छ मकै उत्पादन गर्नुस्, उब्जाएको मकै खरिद गर्ने जिम्मा हाम्रो भयो भनेर किसानलाई प्रोत्साहन गर्न र सम्झाउन नै हामीलाई आठ वर्ष लाग्यो,’ भण्डारीले भने, ‘अहिले भने यो वडामा सोचेभन्दा धेरै मकै उत्पादन भएको छ।’
कृषक नन्दाराम भण्डारीले यसअघि घरका लागि मात्रै मकै उत्पादन गर्थे। उत्पादन बिक्री गर्ने बजार नहुँदा खेती विस्तार गर्ने उत्साह पनि थिएन। अहिले गाउँमै मकै बिक्री हुन थालेपछि बाँझो जमिनमा समेत खेती सुरु भएको उनले बताए। ‘मैले पनि १५ हजार रुपैयाँभन्दा बढीको मकै बेचेँ। यसअघि घरमा भएको मकै नबेचिने र घरका लागि मात्रै प्रयोग हुन्थ्यो। यसरी गाउँमै मकै बेच्न पाएपछि आम्दानी पनि भएको छ, जग्गा पनि बाँझो रहेन,’ उनले भने।
तर उत्पादन बढ्दै जाँदा किसानका समस्या पनि थपिएका छन्। मंगलसेन–६ को मकै पकेट क्षेत्रमा बाँदर र बँदेलको समस्या गम्भीर बनेको छ। वडाध्यक्ष देवेन्द्रप्रसाद भण्डारीका अनुसार यस वर्ष मात्रै वडाका १०७ जना किसानको मकै बँदेलले नष्ट गरेको छ। ‘गाउँमै मकै बेच्ने र पैसा पाउने भएपछि किसान खुसी भएका छन्। गाउँमा बाँझो जमिन कम देखिन थालेको छ, वन्यजन्तुको क्षति कम गर्न सकिए अझै उत्पादन बढाउन सकिन्छ,’ उनले भने, ‘कृषकलाई थप प्रोत्साहन दिन वडाले पनि सहयोग गर्नेछ।’ मंगलसेन–६ मकैसँगै भैंसी र आलु पकेट क्षेत्र पनि हो। खेतीयोग्य जमिनको ठूलो हिस्सा उपयोग गर्न सकिने भएकाले आगामी दिनमा उत्पादनमा आधारित कृषि कार्यक्रम सञ्चालन गर्ने वडा अध्यक्ष भण्डारीले बताए।