2026/06/06

नेपाली यू-१९ महिला क्रिकेट टोली पहिलो पटक विश्वकपमा

Admin

२०८१-०७-२८

727
Shares

२८ कात्तिक, काठमाडौं 

यूएईमा जारी एशिया छनोटको निर्णायक खेलमा बुधवार आयोजक यूएईलाई आठ विकेटले पराजित गर्दै युवा महिला टोलीले इतिहास रचेको हो। यूएईले दिएको ८४ रनको मध्यम लक्ष्य १६.२ ओभरभित्र जित्न सकेमात्र नेपाल रनरेटमा अगाडि रही विश्वकपमा पुग्थ्यो। नेपालले १४.४ ओभरमै लक्ष्य भेट्टायो।

टस हारेर पहिलो फिल्डिङ पाएको नेपालले आयोजक यूएईलाई उनीहरूको घरेलु मैदान अजमान क्रिकेट मैदानमा ८३ रनमा रोकेको थियो। पहिलो लिगमा यूएईसँग पराजित भइसकेकोले बुधवारको खेलमा नेपाललाई विजय मात्र नभई उत्कृष्ट रन रेटसहितको जित आवश्यक थियो। यस्तोमा युवा नेपाली क्रिकेटरहरूले बलिङ र ब्याटिङमा राम्रो प्रदर्शन गर्दै जित निकालेका हुन्। महिला टोलीले अब अर्को वर्ष मलेशियामा हुने विश्वकपमा सहभागिता जनाउने छ। सोह्र राष्ट्रले भाग लिने विश्वकपमा नेपालले एशिया क्षेत्रको प्रतिनिधित्व गर्ने छ। अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी)ले यो उमेरसमूहमा महिला विश्वकप सुरु गरेपछिको यो दोस्रो संस्करण मात्रै हो।

नेपालको प्रदर्शन

यूएईले पूरै २० ओभर खेलेर ९ विकेटको क्षतिमा ८३ रन मात्र बनाउन सक्यो। नेपालको तर्फबाट कृष्णा गुरुङले चार विकेट तथा रिया शर्मा र सिमाना केसीले समान दुई विकेट लिए। कप्तान पूजा महतोले चार ओभरमा ११ रन मात्र खर्चेर कसिकसाउ बलिङ गरेकी थिइन्। यूएईकी मुख्य खेलाडी लावण्या केनीलाई आउट गरेसँगै नेपालले विजयको आधार तयार गरेको थियो। नेपालकी रचनाकुमारी चौधरीले ६.१ ओभरमा १० रन बनाएर खेलिरहेकी लावण्यालाई बोल्ड गरेकी थिइन्। रचनाले आफ्नो पहिलो बलमा नै विकेट लिएकी हुन्। यसअघि दोस्रो ओभरको अन्तिम बलमा ओपनर इमिली थोमसलाई कृष्मा गुरुङले विकेटकीपर सावित्री धामीबाट क्याच आउट गराएकी थिइन्। यूएईले खेलमा पकड जमाउँदै गरेको बेला १४औँ ओभरमा रिया शर्माले दुई विकेट लिँदै नेपाललाई खेलमा फर्काउने काम गरिन्। चौध ओभरमा दुई विकेटको क्षतिमा ५७ रन बनाएर यूएई बलियो स्थतिमा रहेको बेला रियाले ओभरको चौथो बलमा तेस्रो विकेटको रूपमा रिनिथा रजिथलाई आउट गरिन्। बीस रन बनाएर खेलिरहेकी रिनिथालाई रियाले १३.४ ओभरमा बोल्ड गरेकी थिइन्। रिनिथाले यसअघिको खेलमा नेपालविरुद्ध सर्वाधिक ४८ रन बनाएकी थिइन्। त्यसपछि ओभरको अन्तिम बलमा रियाले मेहक ठाकुरलाई कृष्मा गुरुङबाट क्याच आउट गराइन्। यो ओभरपछि युएई ५९-४ को अवस्थामा आयो। यूएईकी कप्तान समाइरा धारनीधार्काले ४८ बलमा सर्वाधिक ३१ बनाएकी थिइन्। उनलाई कृष्मा गुरुङले १७.२ ओभरमा बोल्ड गरेकी थिइन्। यूएईले पछिल्लो सात विकेट गुमाउँदा २४ रन मात्र जोड्न सकेको थियो।

नेपालको ब्याटिङ

सत्र ओभरभित्र खेल जित्न आवश्यक भएकोले नेपालले आक्रामक शुरूआत गर्न जरुरी थियो। युवा खेलाडीहरूले त्यस्तै गरे। तेस्रो ओभरमा सावित्री धामी १२ रन बनाएर आउट हुँदा नेपालको स्कोर बोर्डमा १९ रन बनेको थियो। त्यसपछि कप्तान पूजा महतो र साना प्रवीनले मिलेर तीव्र गतिमा रन जोड्न थाले। सातौँ ओभरमा नेपाल ४७/१ को बलियो अवस्थामा पुगेको थियो। तर सातौँ ओभरको अन्तिम बलमा पूजा एलबीडब्ल्यूको शिकार हुन पुगिन्। चार चौका ठोकेर १८ रन बनाइसकेकी पूजालाई मेहक ठाकुरले एलबीडब्ल्यूको धरापमा पारेकी हुन्। नेपालकी मुख्य खेलाडी आउट हुँदा टोलीमा अलिकति चिन्ता थपिएको थियो। तर त्यसपछि साना प्रवीन र उपकप्तान सोनी पाख्रिनले धैर्यपूर्ण पारी खेल्दै नेपाललाई सहज जिततिर उन्मुख गराए। सानाले ३५ रनको अविजित पारी खेलिन् भने उनलाई साथ दिएकी सोनीले १३ रन बनाएर नेपाललाई जिताए।

लीग तालिकाको स्थिति

एशिया छनोटबाट सहभागी चार राष्ट्र यूएई, नेपाल, थाईल्यान्ड र कुवेतलाई डबल राउन्ड रोबिन लीग अर्थात् एक टोलीले हरेक विपक्षीसँग दुईदुई खेल खेल्नपुर्ने प्रावधान राखिएको थियो। प्रतियोगिताका दाबेदार टोलीमध्येको एक यूएईले लीगको सबै ५ खेल जितेर १० अङ्क बटुलेको छ। सो क्रममा उसले नेपाललाई १३ रनले पराजित गरेको थियो। नेपालले पनि यूएईसँगको पराजयबाहेक थाईल्यान्ड र कुवेतलाई दुवै खेलमा हराएर आठ अङ्क बटुलेको छ। यूएईले कुवेतलाई १०६ र १८४ रन तथा थाईल्यान्डलाई ७४ रन र नौ विकेटले हराएको थियो। त्यस्तै नेपालले कुवेतलाई १०८ र १६५ तथा थाईल्यान्डलाई ६७ र १०६ रनले पराजित गरेको थियो।

727
Shares

©News Kunja 2021-2026. All rights reserved.